४० वर्ष अगाडि जलजलाले लेखेको त्यो पत्र

(यो पत्र विद्या ढकाल (का. जलजला)ले आज भन्दा करिब ४ दशक पहिले आफ्नो १ जना दाइ पर्ने नातेदारलाई लेखेकी थिइन् । उनको निधन पछि उनका कागज–पत्रहरुमा यो पत्र फेला परेको थियो । त्यसबाट थाहा हुन्छ, उनले त्यो पत्र लेखेर पठाउन पाएकी थिइनन् । त्यो बेला त्यो पत्रमा पत्र पाउने व्यक्तिको नाम पनि लेखिएको थियो । २०४३ को महिला ध्वनीमा त्यो पत्र प्रकाशित भएको थियो । त्यो बेला नेपालमा पञ्चायती व्यवस्था भएको हुनाले त्यो पत्रिकामा वास्कतविक नाम दिँदा सम्बन्धित व्यक्तिलाई अपठ्यारो पर्न सक्दथ्यो । पुलिसले उनलाई गिरफ्तार गर्न सक्दथे । त्यसैले त्यो नाम उल्लेख नगरिकन त्यो पत्र प्रकाशित गरिएको थियो ।

२०५८ को चैत्रमा अखिल नेपाल महिला संघद्वारा प्रकाशित “महिला मुक्ति आन्दोलन” पुस्तकमा पनि पुनः त्यो लेख प्रकाशित भएको थियो । तर त्यो बेला जलजलाले पत्र लेखेको वास्तविक व्यक्तिको नाम हामीलाई याद हुन सकेको थिएन । त्यसैले त्यो बेला पनि पत्र पर्ने व्यक्तिको नामलाई उल्लेख गर्न सकिएको थिएन । अहिले हामीले पुनः त्यो पत्र प्रकाशित गर्दै छौँ । उनले सम्बोधन गरेको व्यक्ति को हो ? हामीले पत्ता लगाउने प्रयत्न ग¥यौ तर पत्ता लाग्न सकेन । त्यसैले सम्बन्धित व्यक्तिको नामको उल्लेख नगरिकन नै हामीले त्यो पत्रलाई जस्ताको त्यस्तै प्रकाशित गर्दै छौँ । पत्र धेरै पुरानो भएपनि, प्रथम, त्यो पत्रबाट त्यो बेलाको स्थिति बुझ्न, द्धितीय, अहिले पनि त्यो पत्र सान्दर्भिक हुने देखेर हामीले अहिले पुनः त्यो पत्रलाई प्रकाशित गर्दैछौँ । – मोहनविक्रम सिंह)
………..,
तपाईंले पठाउनु भएको २५ जुलाईको पत्र पाएँ । पढेर कुनै आश्चार्य लागेन साथै नराम्रो पनि । कारण झापाली गुटले हाम्रो चौथो महाधिवेशनलाई कहिले पो गद्दार एमवी (मोहनविक्रम) गुट भनेर गाली नगरेको छ र तपाईंबाट पनि यही कुरा दोहोरियो । तपाईं झापाली गुटको समर्थक मान्छेले त्यो भन्नु स्वाभाविकै हो । किनकि चौथो महाधिवेशनलाई गाली गर्नु त तपाईंहरुको गुटको विशेषता नै हो ।

तपाईको पत्रको उत्तर जति लामो पनि हुन सक्छ । तपाईले भने झैँ एमवीले लेख्नु भएको मोटो ग्रन्थ भन्दा पनि लामो । तर आज लामो उत्तर लेख्ने पक्षमा छैन । परीक्षा नजिकै आएकाले त्यसैको तयारीमा लागेको छु । तपाईको पत्रको प्रतिक्रियासम्म जनाई दिउँ भनेर ।

तपाईंले एमवी गुट जन्मैदेखिको संशोधनवादी हो भनेर चौथो महाधिवेशनको क्रान्तिकारी चरित्रलाई धमिलो पार्ने कोशिश गर्नु भएको छ । कुनै पनि लाइन सही छ वा गलत, व्यवहारको कशीमा जाँचेर हेरेपछि मात्र थाहा लाग्ने छ कि, झापाली साथीहरुले अँगाल्नु भएको लाइन कहाँसम्म सही लाइन हो ? त्यो कशी होः माक्र्सवाद–लेनिनवाद र माओ विचारधाराको सैद्धान्तिक आधार, दार्शनिक मान्यता तथा तपाईहरुको व्यावहारिक सफलता । अनि मात्र थाहा हुनेछ झापाली साथीहरुले लिनु भएको बाटो माक्र्सवादी हो वा गैर माक्र्सवादी ?

तपाईंले मलाई पूर्वाग्रहरहित भएर को.के. (कोअडिनेशन केन्द्र) का प्रकाशनहरु पढ्ने सुझाव दिनुभएको रहेछ । तपाईको यो सुझाव संकुचित साथै स्वार्थयुक्त लाग्यो । कारण के भने को.के.का प्रकाशनहरुको अध्ययनले सैद्धान्तिक चेतना उठाउँदैन बरु उल्टो उग्र ‘वामपन्थी’, दलदलमा फसिन्छ मात्र । को.के.ले लिएको लाइन कहाँसम्म सही छ भन्ने पत्ता लगाउन को.के.का प्रकाशनहरुले मात्र मद्दत गर्दैन । त्यसको लागि यो जरुरी छ कि माक्र्सवाद–लेनिनवाद र माओ विचारधाराको कशीमा को.केका प्रकाशनहरुको अध्ययन गरेमा मात्र थाहा हुनेछ, को.केको लाइन कहाँसम्म सही र माक्र्सवादको नजिक छ ?

मैले आफूलाई माक्र्सवादको साधारण विद्यार्थी नै सम्झन्छु । यसो त मैले माक्र्सवादलाई एक छेउ मात्र पनि बुझिसकेको छैन हुँला । तर जति बुझ्न सफल भएको छु, त्यतिको आधारमा झापाली गुटलाई कशीमा लगाउँदा यो गुटको जन्म वाकुलिनवाद र ब्यांकुइवादबाट भएको भन्न सकिन्छ । त्यसले अल्पमतको शक्तिमाथि विश्वास राख्छ । जनताको शक्तिलाई कम आँक्छ । वाकुलिनको अराजकतावादले माक्र्स, एंगेल्स र लेनिनलाई गाली गर्दथ्यो । माक्र्सवादलाई अक्रान्तिकारी बताउँथ्यो । यसरी नांगो रुपमा आउँदा उसले नराम्ररी हार खाइ आएकाले आधुनिक जमानाका आतंकवादीहरु आफूलाई माक्र्सवाद–लेनिनवाद र माओ विचारधाराको आडमा लुकाउने दुष्प्रयास गर्दैछन् । त्यसैले त उनीहरु माक्र्स, लेनिनको गुणगान गाउन थालेका छन् । माक्र्स, ऐंगल्स, लेनिन र माओका उक्तिहरुलाई वस्तुगत स्थितिबाट खुरुक्क झिकेर आत्मगत रुपमा व्याख्या गर्दैछन् । माक्र्स, ऐंगेल्सको उक्तिहरुलाई नै माक्र्सवाद–लेनिनवादको विरुद्धमा हतियार बनाउँदै छन् ।

त्यसैले म तपाईंलाई यो सुझाव दिन्छु कि एक पटक पूर्वाग्रहरहित भएर माक्र्सवाद–लेनिनवाद तथा माओ विचारधाराको अध्ययन गर्नुस् । अनि मात्र त्यसको आधारमा झापाली गुटका प्रकाशन साथै चौथो महाधिवेशनका प्रकाशनहरुलाई पढ्नुस् । तब नै तपाईं क्रान्ति गर्ने पार्टीको नजिक पुग्नु हुनेछ । तपाईंले माक्र्सवादको साधारण शिक्षार्थीको रुपमा माक्र्सवादलाई अध्ययन गरेपछि मात्र तपाईं सही बाटो भेटाउनु हुनेछ । तपाईंले मलाई गद्दार गुटभित्र अल्मलिएकी एउटी इमान्दार कार्यकर्ता सम्झनु भएछ । हुन सक्छ त्यसको उल्टो सही लाइन लिएर अघि बढ्दै गरेको पार्टीभित्र एउटा ‘गद्दार व्यक्ति’ पनि म हुन सक्छु वा इमान्दार कार्यकर्ता । त्यो त भविष्यले बताउने छ । भविष्यमा म कतिसम्म क्रान्ति र पार्टीप्रति इमान्दार रहन सक्ने छु, त्यसले नै बताउने छ । आशा त राखेको छु, क्रान्ति र पार्टीको हितमा नै बाँच्ने र मर्ने पनि ।

तपाईंले वर्ग–संघर्ष ६ पढ्ने सुझाव दिनु भएको रहेछ । मैले अहिलेसम्म त पढेको छैन । तर अवश्य पढ्ने छु । आजसम्मका वर्गसंघर्षको अध्ययनबाट त मैले उल्टो झापाली गुटको लाइन गैर–माक्र्सवादी नै पाएको छु । मलाई आशा छ छैठौँ अंकले झन् तपाईंहरुको लाइनलाई गैर माक्र्सवादी प्रमाणित गरेको होला । किनकि तपाईहरु माक्र्स, लेनिन र माओलाई बुझ्नु नै भएको छैन । त्यसमा पनि उनीहरुका रणनीति र कार्यनीतिलाई त अलिकता पनि । त्यसैले तपाईंहरुको माक्र्सवाद लेनिनवादको व्याख्या माक्र्सवादको विरोधमा हुन्छ । अतः फेरि तपाईलाई भन्छु एक पटक माक्र्स, लेनिन, माओलाई बुझ्ने प्रयास गर्नु ।

क्रान्तिको बाटो लामो, कठिनाइपूर्ण साथै अप्ठेरो हुन्छ । त्यसैले यसमा न हतारिएर हुन्छ, न विश्राम गरेर । सही रुपमा दृढ भएर अघि बढ्नु पर्छ । क्रान्तिको बाटो लामो देखेर त्यसलाई अप्राकृतिक रुपमा छोट्याउने प्रयास गर्नु पनि इतिहासमा कलंकको टीका हुनु हो । अप्ठेरो र लामो बाटोमा लगनशील भएर अघि बढ्न नसक्नेहरु नै उग्र “वामपन्थी” भड्कावमा भड्किन पुग्छन् । त्यसैले त उनीहरु बस्तुगत परिस्थिति तयार हुँदासम्म या तयार गर्नेतिर न लागिकन आत्मगत परिस्थितिकै आधारमा अल्पमतबाट क्रान्ति गर्ने सपना देख्दछन् । उनीहरुमा लामो समय क्रान्तिको प्रतिक्षा गर्ने क्षमता हुँदैन । लेनिनको शब्दमा “उग्र वामपन्थी” कम्युनिष्ट केटौले खेल ।”

मैले पनि तपाईको क्रान्तिप्रतिको चाहनालाई राम्ररी चिनेको छु । त्यसैले तपाईलाई उग्रवादी दलदलमा रुमलिएर बसेको हेर्न चाहन्न । तपाईको क्रान्तिकारी स्पिरिटको आदर गर्छु । मलाई आशा छ, तपाई एकदिन सही बाटो पहिल्याउन सफल हुनु हुनेछ । नपहिल्याएको खण्डमा पनि त्यति पीर छैन । किनकि तपाई जस्ता कैयन इमान्दार क्रान्तिकारी युवक उग्रवादी दलदलमा फस्न पुगिरहेका छन् । तपाई मात्र हैन । दुःख लाग्छ यसरी युवा शक्ति बेकारमा खेर गएको देखेर ।

तपाईले भन्नु भएको कुरा सही हो, क्रान्ति, पार्टी र सिद्धान्तप्रति बलिदानको भावनामा आधारित आत्मीयता र स्नेह नै झन् झन् बलियो हँदै जान्छ । हाम्रो जीवनमा त्यसकै महत्व छ । त्यो हुनै पर्छ । हामी माक्र्सवादीहरु उदारतावादको विरोध गर्दछौँ । एकदिन त्यो थियो जुन दिन तपाईले मलाई विद्या बैनी भन्नु भएको थियो । म कत्ति खुशी भएको थिएँ । मेरो आमाले दाजु नजन्माउनु भए पनि तपाईजस्तो क्रान्ति र पार्टीप्रति बलिदानको भावना भएको दाजु पाएँ भने । तर आज त्यो खुशी छैन । किनकि, तपाईको दृष्टिमा म जुन बाटोमा हिँडिरहेकी छु, त्यो गलत छ । एकपटक मैले तपाईलाई भेट्न चाहन्थे । तपाईलाई प्रष्ट होस् म चौथो महाधिवेशनलाई मान्छु भनेर ! भेट भयो, राम्रै भयो ।

तपाईसँगको पत्र व्यवहारबाट मेरो सैद्धान्तिक चेतना उठ्ला भन्ने त्यति आश नभएकाले अब उप्रान्त पत्र नलेख्नु भए वेश हुने थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार