अखिल (छैठौं) को बाइसौँ राष्ट्रिय सम्मेलन असोज २२, २३ र २४ गते पाल्पामा

काठमाडौँ । अखिल (छैठौं) को बाइसौँ राष्ट्रिय सम्मेलन आगामी असोज २२, २३ र २४ गते पाल्पाको सदरमुकाम तानसेनमा हुने भएको छ । अखिल (छैठौं) को २०७८ साउन १९ गते जारी भर्चुअल बैठकले सो निर्णय गरेको हो ।

बैठकको निर्णय जानकारी गराउन अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलको हस्ताक्षरमा साउन २१ गते जारी प्रेसविज्ञप्तिमा सम्मेलनको तयारीस्वरूप जिल्ला सम्मेलन वा भेला असोज दोस्रो हप्तासम्म सम्पन्न गरिसक्ने र सम्मेलनका लागि प्रतिनिधि र पर्यवेक्षक तोकेर केन्द्रमा पठाउने निर्णय भएको उल्लेख छ ।

त्यसैगरी प्रेसविज्ञप्तिमा दार्चुला तुइन प्रकरणमा भारतसित स्पष्टीकरण माग्न, हत्यामा संलग्नलाई कारबाही गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन र सीमाक्षेत्रको भारतीय दादागिरी रोक्न माग गरिएको छ ।

त्यस्तै, प्रेसविज्ञप्तिमा धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको अनियमितता, भ्रष्टाचार र गुण्डागर्दी रोक्नुका साथै तत्कालै उपकुलपतिलाई बर्खास्त गर्न माग गरिएको छ ।

यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :
“अखिल (छैठौं) केन्द्रीय समितिको आठौँ पूर्ण बैठक २०७८ साउन १९ गते अनलाइनको माध्यमबाट बसी तपसिलबमोजिमका निर्णयहरू गरेको छ । बैठकका निर्णय सार्वजनिक गर्न प्रेसवक्तव्य जारी गरिएको छ ।

१. दार्चुलाको व्यास गाउँपालिका वडा नं. २ का जयसिंह धामी विदेश जानका लागि तुइनमार्फत् महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी) ले तुइन काटेर हत्या गरेको छ । धामी हत्याकाण्डको कडा शब्दमा निन्दा र भत्र्सना गर्दै भारतसँग तत्काल स्पष्टीकरण मागी हत्यामा संलग्न व्यक्तिलाई कारबाहीको प्रक्रिया अगाडि बढाउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, सीमाक्षेत्रमा भारतीय दादागिरी रोक्न माग गर्दछौं ।

२. धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपकुलपति र पदाधिकारीले धराशायी बनाएका छन् । स्वास्थ्य सामग्री खरिदमा २८ गुना बढी पैसा तिरेर करोडौँ रुपियाँ भ्रष्टाचार गरिएको छ । एमआरआई, सिटिस्क्यान र महत्त्वपूर्ण ल्याब परीक्षणका लागि बाहिर पठाउने, बिरामीलाई निजी अस्पतालमा पठाउने गरिएको छ । पदाधिकारीको गुण्डागर्दीले विद्यार्थीको पढ्ने वातावरण बिथोलिएको छ भने बिरामीले उचित उपचार गर्न पाएका छैनन् । भ्रष्ट उपकुलपतिलाई बर्खास्त गरी समस्या समाधान गर्न माग गर्दछौँ ।

३. अखिल (छैठौं) को गत जेठ १४, १५ र १६ गते कञ्चनपुरमा गर्ने भनिएको २२औँ राष्ट्रिय सम्मेलन लकडाउनको कारण स्वतः स्थगित भएको थियो । युनियनको २२औं राष्ट्रिय सम्मेलन २०७८ असोज २२, २३ र २४ गते पाल्पाको तानसेनमा आयोजना गर्ने निर्णय भएको छ । जेठको पहिलो हप्तासम्म सम्पन्न गर्ने भनिएका जिल्ला सम्मेलन र भेला असोज दोस्रो हप्तासम्म सम्पन्न गरिसक्ने र प्रतिनिधि÷पर्यवेक्षक तोकेर केन्द्रमा पठाउने निर्णय भएको छ ।

४. अखिल (छैठौं) को २२औं राष्ट्रिय सम्मेलनको तयारीमा जुट्न सम्पूर्ण प्रदेश समिति, जिल्ला समिति तथा स्थानीय समितिहरू तत्काल क्रियाशील हुने निर्णय भएको छ । राष्ट्रिय सम्मेलन सफल पार्नको लागि अखिल (छैठौं) का नेता–कार्यकर्ता, आम विद्यार्थी तथा जनसमुदायमा हार्दिक अनुरोध गर्दछौं ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार