अदुरदर्शी र योजना विहिन विकासे प्रवृतिले निम्ताएको मानविय संकट

जनकराज पौडेल (रेशम)

गाउँ घरमा बाटो घाटो जानु वा विकास हुनुलाई अन्यथा मानिदैन । सबैको चाँहाना विकास होस् भन्ने हुन्छ । आफ्नो तर्फबाट आवश्यकता वा हौसियत अनुसार भौतिक वा आर्थिक सहयोग पनि सबै गर्ने गर्दछन् । गर्नु पनि पर्दछ । विकट गाउँ बस्तीहरुका कुना कन्दरामा यातायात स्वास्थ्य चौकी विद्यालय स्थापित हुन् । कोहि पनि न्युनतम् सुविधाबाट बञ्चित हुन नपरोस् । आम जनताले ति सुविधाहरु निर्वाध रुपमा उपभोग गर्न पाउन् ।

सबै प्रकारका जनताहरु सुविधाबाट बञ्चित हुन नपरोस् त्यो नै राजनीतिक नेताहरुको चुनावी असल र लाभदायी मसला हुने गरेको छ । त्यस कारण र अन्य सामदामले नेताहरु सत्तामा वा र राज्यका संयन्त्रहरुमा पुग्न सफल भएका छन् । अघि पछि रिस आक्रोश प्रकट गरे पनि जनताहरु चुनावमा ईमान्दार र ज्ञानी छन् । विश्वास गर्दै आएका पनि छौं ।

गाउँ बस्तीमा सडकको पहुँचले गाउँघरका किसानहरुले उत्पादन गर्ने कृष्षीजन्य बस्तुहरु सहजरुपमा बजार पुगुन् । कृषकहरु आर्थिक रुपमा आत्मनिर्भर बन्न सकुन् । त्यसले क्रमस देश नै आत्मनिर्भर र स्वाभिलम्ब बन्दै जाओस् । यो हुटहुटी सबैमा छ, हुनु पनि पर्दछ । त्यसको अर्थ मानव बस्ती नै विस्थापित होस् भन्ने त निश्चय पनि होईन तर सरकारबाट विकास नीति र विकास प्रयोजनमा विनियोजन हुने बजेट र त्यो विकास शुरु गर्ने समय, विकास गर्ने अधिकार पाएका संयन्त्र र राजनीति पहुँचको आधारमा प्रभावित हुँदै आएको अदुरदर्शी फितलो योजना रहित, कार्यशैलीबाट निस्किने दुष्परिणामहरु मावनविय महादशा सावित हुँदै त छैनन् ? विकास गर्ने विकासे बजेट असार श्रावण महिना भित्र सकिसक्नु पर्ने नीतिका कारण ति महिना देशमा अत्यन्तै बर्षाको सिजन महिना हुन् ।

प्रायः त्यहि समय मा गाउँ वा पाँखामा डोर्जर देखिन्छन् । यो नै गलत छ जस्तो लाग्दछ । दिन भरी तासमा रल्लिने साँझ पख बल्ल दिउस एकबजेको काम संझने । अर्को तर्फ समाज हाम्रो चिन्तन कस्तो देखिन्छ भने बाटो अरुको जग्गा धोस्त पार्दै आफ्नो पायपर्ने वा घर नजिकबाट नै खन्नु पर्यो । त्यसको लागि गाँउमा केहि भलाद्मीहरु आफ्नो सबै सम्भव पँहुच प्रयोग गर्न कुनै कसुर छाड्दैनन् । यतिसम्म की माथीबाट बाटो लोकेशन तय र नापजाँच, जमिन निरक्षण गर्न आउने प्राविधिक वा इन्जिनियरहरुलाई गाउँका केहि पहुच वाला ब्यक्तिले सम्बन्धित ठाँउमा पुग्नै नदिई विच बाटोबाटै फर्काई दिन्छन् । वल्ला डाँडाबाट पल्ला डाँडाको सडक लोकेशन देखाई दिंदै चित्त बुझाई फर्काई दिन्छन् ।

यसको अर्थ कथित गाउँका वाटो खन्ने अधिकारी वा राजनिति पहुँच वलाले प्राविधिक हरुलाई आफ्नो प्रभावमा पार्न सफल हुन्छन् । त्यस पछि आफ्नो मनखुसी बाट विकासको नाउँमा डोजर गाउँमा भित्राउछन् । त्यो जमिनको अबस्था वा त्यसबाट पुग्ने दिर्घकालिन असर बारे पहिला कुरा त अनुभव नै हुन्न। केहि भए पनि त्यस तर्फ सोच विचार गर्नु पर्ने आवाश्यकता ठान्दैनन् ।

मात्र प्राप्त बजेटलाई कसरी खत्तम गर्ने विकासको नाउँमा आफ्नो घर नजिक कसरी बाटो पुराउने त्यता उद्दत हुन्छन् । यस्तो सामान्ती संकिण चिन्तनले, न सडक खन्दै गर्दा जमिनको आधार कस्तो छ, वा कति मजबुद छ । साथै सम्पुर्ण बस्तीलाई कसरी समेट्न सकिन्छ र दिर्घकालिन रुपमा कमक्षति कसरी हुन्छ भन्ने तर्फ ध्यान जाने कुरै भएन । मानविय बस्तीलाई संरक्षण कसरी गर्न सकिन्छ भन्ने कुनै दुरदर्शी सोंच आउन सम्भव छैन । त्यसैको परिणामस्वरुप विनासका संकेतहरु देखिंदै आईरहेका पनि छन् । प्रायः भएको यहि हो ।

कसैको घरमा बलियो बाङ्गो बोल्न सक्ने मान्छे छैन, विकल्प सयौ छन् । यद्यपि उसको घरै फाल्नसम्म तयार हुन्छन् । कसैको एउटा टुक्रा जमिन छ तर पँहुच वालाको घर नजिक पर्दछ भने उसको लागि एकटुक्रे जमिन वालाले त्यो जमिन मुटूमा भक्कानो पार्दै त्याग्नु पर्ने बाध्यता छ । तर पहुँच वालाको जमिन अथाह छ त्यसबाट सडक बिस्तार गर्दा सिङ्गो गाउँ पनि समेटिन्छ तर उसले एकटुक्रा पनि जमिन दिन तयार छैन तर विकास गर्न उ नै अग्रगतिमा देखिन पर्या छ । यहाँ विकासको क्रममा र आवश्यकता अनुसार क्षति ब्यहोर्न परे वापतको चिन्ता र कुण्ठा गर्न खोजिएको पटक्कै होईन । त्यस प्रकार नियत वा मान्छे प्रवृति र विकासका नाममा गर्दै आएको ब्यावाहारप्रति भने निश्चितरुपमा आपत्ती अवश्य हो ।

यतिसम्म कि कसै ब्यक्तिसँग पहुँच वालाको रिसईवी छ । वाटो खन्ने जिम्मा वा त्यहि पहुँच वालाको परेको छ भने बदलास्वरुप त्यहि जमिन कसरी धोस्त पार्ने ध्यउन्नाले काम गरेको हुन्छ । यस प्रकारका चिन्तन र प्रवृति समाजमा रहेसम्म कसरी गाउँ बस्तीहरुको संरक्षण हुन सक्दछ ? केहि अनुभवी ब्यक्तिहरु जो पहुँच विहिन छन् र स्वतन्त्र रुपमा बस्तिमा सडकको पहुँँच पुगुन तर कम क्षेति हुँदै दिर्घकालिन विकल्प राख्ने हो भने त्यसलाई सिधै विकास विरोधीमा नाम लेखिन्छ ।

त्यसको सार के हो भन्दा ति विकासका ठेक्का लिएका ब्यक्तिहरुका पहुँचबाट सडक केहि तल वा माथी पर्न सक्ने हुन्छ । आफ्नो तगाँलोमा सडक नपुग्न सक्दछ । केहि अपबाद छोडी गाउँमा सडक यसरी नै खनिएका छन् । परिपक्क सोंच सहित प्राविधिक र तत् सम्बन्धि इन्जिनियरहरु प्रत्यक्ष रुपमा गाउँमा गएर अनुगमन वा निरिक्षण गर्दै जमिन परिपक्कताको आधारमा विस्तार गरिएका सडकहरु हुन्थ्यो भने सायद प्रकृति वितण्डाबाट कम क्षति पुग्ने थियो । विकासको नाममा मानव बस्ती नै विस्थापित हुन पर्ने अबस्था आउने थिएन । तर प्रकृति प्रकोपसँग त कसैको पहुँचले काम गर्दैन । फेरी पनि हाम्रो जुन प्रकारको सोंच छ । गाउँमा सडक जानु पर्ने त्यसमा पनि अरुको जग्गा धोस्त पार्दै आफ्नै घर आँगन पुग्नु पर्ने, अपरिपक्कता निम्न चिन्तन, यस प्रकारको सोंचले पहँुच नभएकाहरुलाई त हामी आफ्नो बल दवावले पहिला नै उठिबास गराउँछौ । तर प्रकृति विपत्तीले कसैलाई पनि छोड्ने छैन ।

विकास जनताका लागि हुनु पर्दछ । विकासको क्रममा केहि क्षति पनि हुन्छ । योजना सहित विकास गर्नेहरुले त्यसमा पनि कम क्षति तर्फ ध्यान दिने गर्दछन् । जनताका लागि विकास हो । जनता नै जलतरास् र उठिबास पार्ने अदुरदर्शी विकास आखिर कस्को लागि ? अन्य दिनहरुमा चुपचाप बस्ने कुनै योजना छैन । जव बर्खा वा झरी शुरुवात हुन्छ । त्यहि बजेटमा राईदालो खेल्न र खर्च भएको देखाउन वा आएको बजेट फ्रिज हुन्छ भन्ने गलत र दुरुपयोग गर्न नपाईने चिन्तनले अनुभवहिन योजनाहरु मनपरी तरिकाले गाँउहरुमा डोर्जर लगाउदाँका परिणाम कति भयाभह हुन्छन् भन्ने अहिले देखिएका छन् । बस्तीहरुनै बिचल्लीमा परेका छन् । त्यसैले दिर्घकालिन सोंच सहित मानवहरुको सुविधाको लागि सडक विस्तार गर्नु पर्दछ । त्यो चिन्तनको विकास नहुदाँसम्म गाउँहरु नखेति योग्य जमिन रहने छन् वा सडक जनताले दिर्घकालिन रुपमा नै उपभोग गर्न सम्भव हुने छ । बरु विकासको नाम जथाभावी बस्ती भत्काउँदै जाँदा जनता सधै भय–त्रासमा बाच्न पर्ने बाध्य र विवश हुने छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार