अध्यक्ष केसीको उपचार खर्च सरकारले नै ब्यहोर्ने, राजमोले रोक्यो आर्थिक संकलन

काठमाडौं । बिरामी भएर मेडिसिटी अस्पतालमा उपचाररत राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले नै ब्यहोर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केसीको उपचारमा लाग्ने सबै खर्च ब्यहोर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ ।

मन्त्री ज्ञवालीले अध्यक्ष केसीको स्वास्थ्यलाभको कामनासहित मन्त्रिपरिषदको निर्णयबारे जानकारी गराउनुभएको राजमो उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेललाई युगदर्शनलाई बताउनुभयो । मन्त्रिपरिषदको निर्णयसहित राजमोले अध्यक्ष केसीको उपचारका लागि सुरु गरेको आर्थिक संकलन रोकेको छ ।

यसैबीच राष्ट्रिय जनमोर्चाले एक वक्तव्य प्रकाशित गरी उहाँको स्वास्थ्यलाभको कामना गर्ने तथा उपचारका लागि सहयोग गर्नेहरुप्रति आभार प्रकट गर्दै थप सहयोग नगर्न आग्रह गरेको छ ।

उपाध्यक्ष पौडेलद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ–

‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष क. चित्रबहादुर केसी कोरोना भाइरसको पोजेटिभ देखिएर ललितपुरको मेडीसीटी अस्पतालमा भर्ना भएको कुरा पहिले सार्वजनिक भइसकेको छ । कोरोना भाइरसको कारणले भन्दा निमोनियाका कारणले उहाँको स्वास्थ्यअवस्था गम्भीर हुँदै गइरहेको छ । पहिलेदेखि नै उहाँ दीर्घरोगी भएको र बृद्धावस्थासमेतको कारणले कमजोर हुँदै गइरहनुभएको थियो । हामीले आशा र कामना गर्दछौं, उहाँलाई छिटो स्वास्थ्यलाभ हुनेछ ।

उहाँको उपचारको लागि हामीले पहिले सहयोगको लागि सार्वजनिक अपील गरेका थियौं । अहिले उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने समाचार प्राप्त भएको छ । उहाँको स्वास्थ्यलाभको शुभकामना र सहयोग दिएका सबैप्रति आभार प्रकट गर्दै अहिले सरकारले उहाँको उपचारको खर्च व्यहोर्ने भनेको हुनाले थप सहयोग नगर्नुको लागि अनुरोध गर्दछौं ।’

अध्यक्ष केसीको उपचार खर्च सरकारले बेहोर्ने

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार