अनशनस्थलमा बिरामी जांच्दै डा गोविन्द केसी

जुम्ला — डा. गोविन्द केसी चिकित्सा शिक्षामा सुधारको माग राख्दै सोमबारदेखि खलंगाको बाबिरामस्टो मन्दिरमा अनशन बसेका छन् । तर, अनशन बसिरहेका बेलासमेत बिरामीहरू उनीकहाँ जँचाउन पुग्ने गरेका छन् । मंगलबार अनशनस्थलमै डा. केसीले बिरामीको जाँच गरे ।

पातारासी गाउँपालिका, छुमचौरकी थिले आगमु लामा आफ्नो दुई वर्षीय छोरालाई लिएर मंगलबार दिउँसो अनशनस्थलमै पुगिन् । ‘खलंगामा ठूलो डाक्टर आएका छन् भन्ने सुनेर आएकी थिएँ, अस्पताल जाँदा त मन्दिरमा छन् भनेर पठाइदिए,’ उनले भनिन्, ‘त्यही भएर उहाँ (डा. केसी) लाई भेट्न आएकी हुँ ।’ थिलेका छोराको खुट्टाको हड्डी बाङ्गो छ । डा. केसीले शल्यक्रिया गरेर सोझो बनाउनुपर्ने सुझाव दिएका छन् । डा. केसीले अनशन बसेको भए पनि टाढाबाट आएका बिरामी भएकाले जाँच गरेको बताए । उनले सकुन्जेलसम्म बिरामीको सेवा गर्ने अठोट पनि व्यक्त गरे । ‘म यहाँ रहेको थाहा पाएर गाउँबाट पैदल हिँडेर आइपुग्नुभयो, यस्तो बेला पनि बिरामी जाँच्न पाउँदा सन्तोष लागेको छ,’ उनले भने, ‘अहिले मात्र होइन, मेरो सास रहुन्जेलसम्म बिरामीको सेवा गर्नेछु ।’ डा. केसीले सोमबारदेखि बाबिरोमस्टोको मन्दिरमा १९ औं सत्याग्रह सुरु गरेका हुन् । स्थानीय प्रशासनले सत्याग्रहमा बस्न नदिन कडा निगरानी गरेपछि उनले झुक्याएर मन्दिरमा सत्याग्रह थालेका हुन् । ‘मेरो सत्याग्रह रोक्न सादा पोसाकका प्रहरीको निगरानीदेखि प्रतिष्ठान (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा प्रवेश गर्नसमेत रोकियो,’ उनले भने, ‘त्यतिमात्र होइन, मेरै कारणले सदरमुकाममा अनावश्यक रूपमा निषेधाज्ञा पनि लगाइयो ।’ डा. केसीले ०७५ साउन १० गते भएको सम्झौता कार्यान्वयनको माग गरेका छन् । उक्त सम्झौतामा चिकित्सा शिक्षा ऐन संशोधनका साथै जुम्लामा एमबीबीएस अध्ययन हुनुपर्नेलगायत एजेन्डा समावेश छन् । ‘माग पूरा नहोउन्जेलसम्म म मेरो अभियानलाई छोड्दैन,’ उनले भने, ‘बरु मर्न तयार छु, पछि हट्दिनँ ।’

खुलाचौरमा बित्यो रात डा. केसीको १९ औं सत्याग्रहको पहिलो रात मन्दिर परिसरको खुला आकाशमा बित्यो । प्लास्टिकको गुन्द्री ओछ्याएका उनले सिरानी पनि हालेका छैनन् । उनलाई स्थानीय युवाले भने साथ दिइरहेका छन् । ‘उहाँका माग जायज छन्, त्यसैले हामीले ऐक्यबद्धता जनाउँदै अनशनस्थल नजिकै पाल राखेर साथ दिएका छौं,’ स्थानीयवासी प्रज्वल महतले भने, ‘उहाँ भने रातभर खुला आकाशमै चिसोमा बस्नुभयो ।’

 स्रोत कान्तिपुर

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार