‘अन्तर्राष्ट्रिय साहसी महिला’ घोषित मुस्कान खातुन भन्छिन् : मलालाले पाएको पुरस्कार पाउँदा खुसी लागेको छ

काठमाडौं । १५ वर्षको उमेरमा तेजाब हमलामा परेकी मुस्कान खातुन अमेरिकी सरकारको अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी अवार्डबाट सम्मानित हुने भएकी छन् । यो पुरस्कार पाउने उनी कान्छीमध्ये एक र नेपालकी पहिलो महिला भएकी नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले शुक्रवार बिहानै सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका हुन् ।

उक्त अवार्ड मार्च ८ मा भर्चुअल कार्यक्रममा अमेरिकी प्रथम महिला जील बाइडनले प्रदान गर्नेछिन् । उनी सहित यो वर्ष सो सम्मान विश्वभरिबाट छानिएका १४ महिलाले प्राप्त गर्नेछन् ।

तेजाब हमलामा परेकी मुस्कानले प्रतिष्ठित पुरस्कार पाउँदा आफूलाई थप जिम्मेवारी महसुस भएको र अबका दिनमा यो क्षेत्रमा काम गर्न थप हौसला मिलेको बताएकी बीबीसीले जनाएको छ ।
‘यो पुरस्कार मैले पाएँ भनेर मैले आज बिहानै दूतावासबाट फोन आएपछि थाहा पाएँ, एकदमै खुसी लागेको छ र यो क्षेत्रमा अझ धेरै संघर्ष गर्नेछु’ खातुनले भनिन्।

यसअघि यो पुरस्कार पाकिस्तानमा बालिका शिक्षाका लागि वकालत गर्दै आएकी नोबेल शान्ति पुरस्कार बिजेता मलाला युसाफजाइले पनि पाइसकेकी छन् । खातुनले मलालाले पनि यो पुरस्कार पहिला पाएकी थिइन् भन्ने कुराले आफूलाई थप खुसी तुल्याएको बताइन्।

‘मलालाले पाइसकेको पुरस्कार मैले पनि पाएँ भनेर मलाई खुसी लाग्यो। मैले जस्तै अन्य महिलाले पीडा भोग्नु नपरोस् भनेर अझ धेरै काम गर्छु।’

सन् २०१९ मा मुस्कान १५ वर्षकी छँदा एक किशोरका प्रेम–प्रस्ताव अस्वीकार गरेकोमा तेजाब हमलाको सिकार भएकी खातुन दुईपटक गरेर करिब सात महिना अस्पतालमा उपचाररत थिइन् ।

अनुहार र शरीरमा चोट लागेकी उनले आफू पीडित भएयता एसिड आक्रमण गर्नेलाई कडा कारबाही हुनुपर्ने विषयमा आवाज उठाउँदै आएकी थिइन् । सरकारले केही महिनाअघि त्यस्तो अपराध गर्नेलाई कडा सजाय हुनेगरी कानुनमा परिवर्तन गरेको थियो।

‘यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्त्वपूर्ण थियो । नेपालस्थित अमेरिकी दूतावासलाई उनको समर्थन र नेपालमा महिला तथा किशोरीहरूको अधिकारको प्रगतिलाई प्रोत्साहन गर्नमा गर्व छ’ दूतावासले आफ्नो वेबसाइटमा लेखेको छ ।

विगत १५ वर्षदेखि दिँदै आएको यो अवार्ड अहिलेसम्म अमेरिकी सरकारले विश्वभरका ७५ देशका १५५ जनालाई प्रदान गरिसकेको छ । शान्त, न्याय, मानवअधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने महिलालाई यो पुरस्कार दिने बताइन्छ ।

यो वर्ष विश्वभरिबाट १४ जनाले पाएकोमा दक्षिण एसियाबाट पाउनेमा खातुन र श्रीलङ्काकी एक वकिल छन् । यसअघि दक्षिण एसियामा अफगानिस्तान, बाङ्ग्लादेश, पाकिस्तानलगायत देशका महिलाले पाइसकेका छन् । (बीबीसी)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार