अमेरिकी जातीवादविरुद्धको आन्दोलनप्रति मसालको ऐक्यवद्धता

काठमाडौं । नेकपा (मसाल) ले अमेरिकामा चलिरहेको जातीवादविरुद्धको आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरेको छ ।

अघिल्लो शुक्रबार ४६ वर्षका अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोएडको मिनिसोटास्थित मिनियापोलिसमा प्रहरीको नियन्त्रणमा रहेको क्रममा मृत्यु भएपछि अमेरिकामा रंगभेद अन्त्य गर्नुपर्ने माग सहित प्रदर्शन भइरहेको छ ।

स्थितीलाई नियन्त्रणमा लिन अमेरिकी सरकारले देशका मुख्य ३० शहरहरुमा कर्फ्यु जारी गरेको छ । त्यसक्रममा एक प्रहरी मारिएका छन् भने कैयौं आन्दोलनकारी घाइते भएका छन् । अमेरिकी प्रशासनले आन्दोलन दबाउन सेना परिचालन गर्ने चेतावनी दिएको छ ।

बुधबार मसाल महामन्त्री मोहनविक्रम सिंहले प्रेसित गर्नुभएको वक्तव्यमा ट्रम्प प्रशासनले आन्दोलन दबाउन गरिरहेको दमनप्रति निन्दा गर्नुभएको छ ।

महामन्त्री सिंहद्वारा जारी वक्तव्यमा भनिएको छः

‘अमेरिकामा एकजना अश्वेत जातिका व्यक्तिको हत्यापछि बढेको आन्दोलनप्रति नेकपा (मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ ।

अमेरिका लामो समयदेखि जातिवादद्वारा ग्रस्त छ र त्यहाँ अश्वेत जातिका विरुद्ध गोरा जातिद्वारा चरम प्रकारको भेदभाव गर्ने गरिन्छ । त्यही प्रकारको जातीय द्वेष वा भेदभावको एउटा ताजा उदाहरण एउटा पुलिसद्वारा एकजना अश्वेत जातिका व्यक्तिको हत्या हो ।

त्योभन्दा गम्भीर कुरा यो हो कि अमेरिकामा जातीय भेदभावका विरुद्ध उठेको आन्दोलनलाई ट्रम्प शासनले दमन गर्ने नीति अपनाएको छ । आन्दोलनले व्यापक रूप लिदै गएपछि अब राष्ट्रपति ट्रम्पले सेनाको प्रयोग गरेर जनताको आन्दोलनलाई दवाउने धम्की दिएका छन् । तर त्यसप्रकारको दमनद्वारा अमेरिकी जनताको न्यायपूर्ण आन्दोलन दब्ने छैन भन्ने कुरामा हामीलाई पूरा विश्वास छ ।

अन्तमा नेकपा (मसाल)ले अमेरिकाको जातिवाद र त्यसका विरुद्ध उठेको न्यायपूर्ण आन्दोलनमाथि ट्रम्प शासनको दमनको भत्र्सना गर्दै अमेरिकी जनताको जातिवादका विरुद्धको न्यायपूर्ण आन्दोलनसित ऐक्यवद्धता प्रकट गर्दछ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार