अयोध्या र रामबारे प्रधानमन्त्रीको अभिव्यक्ति गलतः मसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या र रामबारे हलुका टिप्पणी गरेको भन्दै विरोध गरेको छ । अध्ययन अनुसन्धान र प्रमाण बिना प्रधानमन्त्रीको हैसियतमा त्यसखालको अभिव्यक्ति दिन नहुनेमा मसालले जोड दिएको छ ।

मसाल प्रवक्ता रामप्रकाश पुरीले मंगलबार एक वक्तव्य प्रकाशित गरी कार्यकारी अधिकार सम्पन्न र सरकार प्रमुख पदबाट घोषणा हुने वा बोलिने विषय आधिकारिक हुने भन्दै प्रमाण विनाका अभिव्यक्ति नदिन प्रधानमन्त्री ओलीलाई सचेत गराउनुभएको छ ।

अध्ययन–अनुसन्धानले पुष्टि गरेका र राज्यले पनि स्वीकृत गरेका तथ्यहरूलाई आधार बनाएर मात्रै देशको आधिकारिक निकाय वा व्यक्तिले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने मसालले जनाएको छ ।

यस्तो छ, वक्तव्यः

‘प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबाट पौराणिक विषय अयोध्या र रामसम्बन्धी विषयवस्तुलाई दिग्भ्रमित बनाउने कार्य भएको छ । कुनै अध्ययन वा अनुसन्धानकर्ताले कुनै विषयमा आफ्नो विचार, धारणा वा कुनै तथ्य प्रस्तुत गर्नुलाई अन्यथा लिइँदैन । विषयवस्तु प्रमाणयुक्त छ वा छैन रु अनुसन्धानकर्ताले कसरी अध्ययन र अनुसन्धान गर्‍यो, के–कस्ता पुष्टि र प्रमाणहरू प्रस्तुत गर्‍यो रु आदि पक्षलाई ध्यानमा राखिन्छ र तिनै पक्षले अनुसन्धान भएको विषयवस्तुबारे विश्वसनीयताको आधार निर्माण गर्दछन् । त्यसरी नै अध्ययन र अनुसन्धानकर्ताको हैसियतबाट ओलीले पनि आफ्नो धारणा वा विचार राख्न सक्दछन् । तर ओलीले जुन अभिव्यक्ति दिए त्यो अध्ययन र अनुसन्धानकर्ताको हैसियतबाट नभएर प्रधानमन्त्रीको हैसियतबाट दिएको कुरा प्रष्ट छ । त्यसरी प्रधानमन्त्रीको पदमा बहाल रहेको व्यक्तिले त्यसप्रकारको धारणा व्यक्त गर्न वा अभिव्यक्ति दिनुलाई हामीले गलत मान्दछौँ । हाम्रो देशको प्रधानमन्त्री पद आधिकारिक धारणा प्रस्तुत गर्ने प्रमुख र पहिलो पद हो । किनभने यो कार्यकारी अधिकार सम्पन्न र सरकार प्रमुख पद भएकोले यसको आसनबाट घोषणा हुने वा बोलिने विषय आधिकारिक हुन्छ ।

पौराणिक, प्राचीन र ऐतिहासिक विषय सँधै अध्ययन र अनुसन्धानका विषय भइरहन्छन् । एक समयमा स्थापित भएको तथ्यलाई आधार मानेर पौराणिक, प्राचीन र ऐतिहासिक विषयबारे जनधारणा बनेको हुन्छ भने अर्को समयमा तिनै विषयबारे नयाँ मान्यता निर्माण हुन सक्दछ । तर कुनै विषयबारे स्थापित मान्यतालाई विस्थापित गर्नका लागि नयाँ अध्ययन र अनुसन्धानले बढी वैज्ञानिक, तथ्यपूर्ण र प्रमाणिक विषय पेश गर्नुपर्दछ । राम र सीता सम्बन्धीका विषयहरू पौराणिक कुरा हुन् । यी विषयमा कुनै नयाँ अनुसन्धानले नयाँ तथ्य स्थापना नगर्दासम्म अहिलेसम्म स्थापित हुँदै आएको मान्यता नै स्वीकृत मान्यता हुन्छन् । त्यो अवस्थामा राम, सीता, अयोध्या आदि विषयसम्बन्धीका पूर्व मान्यतालाई विस्थापित गर्न कुनै खोजमूलक तथ्यले स्थान लिनुपर्ने आवश्यकता हुन्छ । गौतम बुद्धको जन्मस्थानबारे पनि कैयौँ अफवाह र भ्रम उत्पन्न गरिएका थिए । तर अनुसन्धानहरूले बुद्धभूमि नेपाल नै भएको कुरा पुष्टि गरेकोले त्यो नै विश्वको लागि स्थापित मान्यता बनेको छ ।

त्यस्तै श्रीलङ्काका विषयमा पनि कैयौँ पौराणिक कुरा छन् । लङ्का, सिलोन, श्रीलङ्का आदि नामले चिनिएको श्रीलङ्काको स्थापना र निर्माणसम्बन्धी कैयौँ पौराणिक, प्राचीन र ऐतिहासिक विवरण पाइन्छन् । त्यस्तै संसारका कैयौँ विषय, स्थान, व्यक्ति वा भूगोल आदिबारे पनि त्यस्ता विवरणहरू रहेका पाइन्छन् । जसबारे अझै अध्ययन र अनुसन्धानको आवश्यकता रहेको हुन्छ र आधिकारिक तथा प्रमाणिक तथ्यलाई स्थापना गर्ने कार्य गर्नुपर्ने हुन्छ । अध्ययन–अनुसन्धानले विषयलाई जति तथ्यपरक बनाउँदै लैजान्छन्, त्यति नै स्पष्ट मान्यताको स्थापना हुने भएकोले अध्ययन–अनुसन्धानले तथ्यलाई बढी प्रमाणिक बनाउने कार्य गर्नै पर्दछ । त्यसरी अध्ययन–अनुसन्धानले पुष्टि गरेका र राज्यले पनि स्वीकृत गरेका तथ्यहरूलाई आधार बनाएर देशको आधिकारिक निकाय वा व्यक्तिले आफ्नो धारणा सार्वजनिक गर्नुपर्दछ । यसरी विचार गर्दा प्रधानमन्त्री ओलीको अभिव्यक्ति जिम्मेवारीपूर्ण देखिँदैन ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार