आमा रोईरहेको बेला

जनक विसी, कोचिन

आमा तिमी त पटक पटक घाइते भइरहन्छेउ
तिमिलाई निष्ठुर छिमेकीले
लुछिरहन्छ, तिम्रो अस्मिता माथि
खेल्दै अप्ठ्यारो पारिरहँदा
मलाई “बचाउ भनेर” चित्कार गरि
ठुलै स्वरमा आवाज निकाली रहेकि छौ ।
आमा;
हामी गरिब भए कै कारण होला नि,
हेर ऊ पारिको छिमेकिले बर्सौदेखि हेपेरहे छ,
हामी पैत्रिक सम्पत्तिको सुरक्षा गर्ने
बिबेक बुद्धिको कमारो भएकै कारण होला
सम्पती हरण गर्न खोजिरहेको छ ।
आमा;
हामीलाई थाहा छ
ऊ त्यही पारिको हो,
हामी सुतिरहेको अबस्थामा
सटुक्कै साँध सारेको
किल्लाहरु ढालेको,
बिहान उठेर मेरो सम्पत्ति भनेर हक खोज्दा
खुटटा सुर्किने र लडाई गर्न तम्सेको ।
आमा त्यही पारिको छिमेकि हो,
तिमिलाई छलकपट गरि
तिम्रो ईज्जतमाथि धावा वोल्ने कोशिस गरेको
तिमिले मलाई तिम्रो गर्वमा बोकेको बेला
तिमिले खाने खुराक चिन्तन
तिमिले देखने सपनामा
‘खुकुरी–खुकुरी’ भनेको
त्यही मेरो दिमागी इन्द्रीय शक्तिमा
त्यही हतियार खुकुरीले
ऊ पारिकोलाई हानेर लखेट भनेकी थियौ ।
आमा;
मैले तिम्रो गर्वबाट यो भुगोलमा पाइला टेकें
सिंगो सम्पत्ति तलमाथि वारिपारिकोलाई
अल्लि पारिकोलाई छिट्टै चिने,
तिम्रो गर्वमा मलाई तिमिले
सिंगो सम्पत्ति रक्षा गर्ने दिएको खुकुरी,
मलाई संसारसँग लड्ने दिएको खुराक
कम्मरमा भिरेको छु आमा,
प्राण रहुन्जेल ऊ पारिकोलाई छोडदिन आमा ।
आमा;
ऊ पारिको त्यही छिमेकी हो,
तिम्रो इज्जतमा हमला गर्ने
हाम्रो पैत्रिक सम्पती लुटपाट गर्ने आँट गर्ने
मलाई तिमिले प्राण दिएर
पुर्खाले आर्जेको सम्पत्ती बचाउने निर्देशन दिएकि छौ
अब म त्यो छिमेकीलाई छोडदिन आमा ।
आमा;
तिमीले मलाई जीवन दिएर ठुलै गुन लगायौ
यो युगान्तकारी गुन हो,
आमा, त्यीही दुःख परेको बेला
संसारभरि छरिएका तिम्रा
सबै सन्ततीहरुलाई तिम्रो जीवन रक्षाको लागि
मुक्तिमोर्चा तैयारी गरिरहेको छु आमा ।
तिम्रो जीवन रक्षाको लागि
म पुर्बको बिहानीको
सुर्यको लाल किरण झैं उज्यालो
लिएर यही धर्तिमा चम्किरहने छु आमा ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार