आयुर्वेदिक विधिबाट पनि हुन्छ प्राथमिक उपचार

आपतकालीन अवस्थाका लागि आवश्यक औषधि र उपचार नै प्राथमिक उपचार हो । प्राथमिक उपचार जीवन बचाउन, थप चोटपटकबाट जोगाउन र छिटो निको पार्नका लागि प्रयोग गरिन्छ ।

सामान्यतया दुर्घटनाका कारण हुने घाउ, चोट र अन्य समस्याले शरीरमा थप असर पार्नबाट बचाउन घटनास्थलमै प्राथमिक उपचार आवश्यक हुन्छ । धेरैजसोले प्राथमिक उपचार भन्नासाथै एलोप्याथिक उपचार विधिका सामग्री प्रयोग गर्छन् । तर, एलोप्याथिक उपचार विधि र सामग्री सधैँ र सबै स्थानमा उपलब्ध नहुन सक्छन् । यस्तो वेला स्थानीय स्तरमा उपलब्ध सामान्य जडीबुटीको प्रयोग गरी प्राथमिक उपचार गर्न सकिन्छ । घरमै पाइने सामान्य जडीबुटीबाट पनि सजिलै आयुर्वेदिक प्राथमिक उपचार गर्न सकिन्छ ।

बेसार
घरेलु औषधिहरूमा बेसार अग्रपंक्तिमा आउने नाम हो । बेसारमा पाइने एन्टिअक्सिडेन्ट र इन्फ्लेमेन्टी गुण स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छन् । बेसारमा प्रतिरोधी क्षमता बलियो बनाउने, कोषको क्षति कम गर्ने, दुखाइ र सुन्निने समस्या कम गर्ने क्षमता हुन्छ । बेसारमा कालो मरिचको मिश्रण स्वास्थ्यका लागि झनै प्रभावकारी मानिन्छ । यसमा पाइने बायोएक्टिभ यौगिकले उत्प्रेरकको काम गर्छ । जसले गर्दा बेसारको कार्यक्षमता दोब्बर बढेर जान्छ ।

अदुवा

पेटमा ग्यास भरिन नदिन र प्राचन प्रक्रियाका लागि अदुवा महत्वपूर्ण घरेलु औषधि हो । यस्तै मोसन सिकनेस (गाडी चढ्दा वा अन्य कारणले जिउ हल्लिँदा हुने शारीरिक समस्या) र वाकवाकीका लागि अदुवाको सेवन उपयुक्त मानिन्छ । यस्तै बाहिरी वातावरणका कारण शरीरमा जम्मा हुने विषाक्त कम गर्न, प्रतिरोधी क्षमता बढाउन र शरीरको संयन्त्रलाई बलियो बनाउन अदुवा उपयोगी हुन्छ ।

त्रिफला

केमिकल वा रासायनिक वस्तुको सम्पर्कमा आउँदा हुने एलर्जीका लागि त्रिफला औषधिको रूपमा प्रयोग गर्न सकिन्छ । सामान्यतया छालामा एलर्जी आउँदा त्रिफला पानीको प्रयोग गर्न सकिन्छ । यस्तै पालेको, एलर्जीका कारण घाउ भएको, फोका उठेको अवस्थामा छालामा त्रिफलापानीको प्रयोग गर्न सकिन्छ । यसबाहेक पाचनप्रक्रिया बलियो बनाउनसमेत त्रिफला निकै उपयोगी मानिन्छ ।

ल्वाङ

ल्वाङमा एनाजेल्सिक र एन्टिब्याक्टेरियल गुण प्रशस्त मात्रामा पाइने हुँदा चोटपटक वा संक्रमणका लागि औषधिको रूपमा प्रयोग गर्न सकिन्छ । सामान्यतया दाँत दुखाई वा जरा दुख्ने समस्याका लागी ल्वाङ उपयुक्त औषधि मानिन्छ ।

एलोभेरा

आगो वा बिजुलीले पोलेको घाउका लागि एलोभेरा उपयुक्त औषधि मानिन्छ । दुखाइ कम गर्न र छालामा थप क्षति हुन नदिनका लागि एलोभेराको स्लाइस प्रयोग गर्नुपर्छ । स्लाइसलाई केही समयसम्म पोलेको ठाउँमा राख्न सकिन्छ । यस्तै छालामा हुने एलर्जी, दाग र घाउका लागि एलोभेराको प्रयोग उपयुक्त मानिन्छ ।

आपतकालीन अवस्थामा उपचारका लागि भान्सामा सजिलै उपलब्ध हुने मसाला र अन्य जडीबुटी प्रयोगमा ल्याउन सकिन्छ । आयुर्वेदिक उपचार पद्धतिमा जिरा, धनियाँ, दालचिनी आदि मसाला पनि समावेश गर्न सकिन्छ । –एजेन्सी

हामीले यो सामाग्री नयाँ पत्रिकाबाट लिएका हौं।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार