इज्जतको ठेगाना

  • बाला राम तिमल्सिना
को हो त्यो ?
जसले भनिदियो
‘महिलाको इज्जत योनीमा हुन्छ’
र तिमी पत्याएर बस्यौ युग युग !
को हो त्यो ?
जसले भनिदियो-
‘रुप भएकी छोरी
र सिप भएको छोरो भोकै मर्दैनन्’
र तिमी रुपौली बन्न रोइरह्यौ !
तिमीले कहिलै सोध्यौ ?
‘महिलाको इज्जत योनीमा हुन्छ भने
पुरुषहरूको इज्जत कहाँ हुन्छ ?
कि पुरुषहरू इज्जतहीन प्राणी हुन ?’
के महिलाहरू सिपहीन हुन्छन् ?
के सिपै नभई चलेको हो भान्सा ?
के सिपै नभई हुर्केका हुन नानीहरू ?
के पुरुषको मात्रै सिपले चलेको हो संसार ?
के तिमीलाई पुरुष सुन्दर लाग्दैन ?
के पुरुषसँग तिम्रो
कुरुप देखी देखी प्रेम बसेको हो ?
के कुरुप चिजसँग प्रेम बस्छ ?
मानव शरीरको भूगोलमा
कहाँ हो इज्जतको ठेगाना ?
के लुटेर लुटिन्छ इज्जत ?
अनि को हो अनैतिक
लुटिने कि लुटेरा ?
तिमीले सोध्यौ यी प्रश्न पुरुषसँग ?
उसले तिमीलाई धरती भन्यो
तिमी मख्ख परेर बसिरह्यौ
उसले तिमीलाई भन्यो
जन्मजात सुन्दर प्रजाति
तिमी भ्रम बोकेर वाँचिरह्यौ
उसले तिमीलाई भोग्या भन्यो
तिमी चुपचाप सुनेर बसिरह्यौ !
कसैले पापकुण्ड भन्यो
कसैले पुण्यकुण्ड भन्यो
कसैले विषकुण्ड भन्यो
कसैले अमृतकुण्ड भन्यो
इज्जत भन्यो र गिजोलीरह्यो
तिमी इज्जत गएको सोचेर
रोइरह्यौ , कराइरह्यौ
तिम्रो लुटिएको भनेको इज्जत
वार वार लुटियो/ हजार वार लुटियो
पहिलै लुटेर खाली बनेको इज्जत
खै कसरी लुट्यो कसरी लुटियो ?
यसरी हजारौं वर्ष तिम्रो दिमाग भुटियो ।
इज्जत जोगाउने पिरलोमा
आतङ्क पिएर बसेकी तिमी
बोल्न छोडेर – गोपीकृष्ण कहू
निस्क भ्रम को पिंजडाबाट
उसले जहाँ छ भन्यो तिम्रो इज्जत
त्यो इज्जतको सही ठेगाना होइन
र जहाँ हो सही ठेगाना
तिमी जान्न चाहन्छ्यौ भने
म बताइदिन तयार छु ।
एति कुरा याद गर
इज्जत भन्ने कुरा
कहिलै लुकाएर राखिदैन !
२०७७|०३|११
भक्तपुर

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार