इमान्दार कम्युनिस्टका लागि वार्ताको ढोका खुलै छ

नेकपा (मसाल) ले २०७८ भदौ २९–३१ गतेको केन्द्रीय समिति बैठकद्वारा पार्टीबाट निष्काशित वा आफै अलग भएका साथीहरूसित वार्ता वा भेटघाट गर्ने निर्णय गरेको थियो । त्यसका पछाडि इमान्दार साथीहरूलाई पुनः पार्टीमा फर्काउने उद्देश्यले काम गरेको थियो । सो निर्णयानुसार केन्द्रीय समितिले कार्यदल पनि बनाएको थियो । कार्यदलले पार्टीबाट निष्काशित वा आफै अलग भएका साथीहरूसित वार्ता पनि गरेको थियो तर उक्त वार्ता वा भेटघाट फलदायी नभएपछि यही कात्तिक २८ र २९ गते सम्पन्न नेकपा (मसाल) को दोस्रो राष्ट्रिय परिषद्ले सो निर्णय फिर्ता लिएको छ । त्यसका साथै सामाजिक सन्जालमा वार्ता वा भेटघाट फिर्ता गरेकोमा विरोधको आवाज देखा परेको छ ।

एउटा कम्युनिस्ट पार्टीले आफ्ना पुराना पार्टीसदस्यलाई पुनः पार्टीमा फर्काउँदा त्यसका पछाडि पार्टीको घोषित नीति र अनुशासनलाई आधार बनाउँछ । सोही प्रस्थापनानुसार पार्टीले आठौँ महाधिवेशनको निर्णय स्वीकार गर्नुपर्ने, पार्टी अनुशासन मान्नुपर्ने, आफ्ना फरक मत सम्बन्धित समितिमा राख्नुपर्ने र समानान्तर गतिविधि बन्द गर्नुपर्ने सर्त राखेको थियो । यी कुनै नयाँ सर्त थिएनन्, सबै पार्टीसदस्यले सामान्य रूपमा पालना गरिरहने सर्त थिए तर पार्टीबाट निष्काशित वा आफै अलग भएका साथीहरूले यति सामान्य सर्तलाई समेत स्वीकार गर्न चाहेनन्, बरु सङ्गठित गुटबन्दीद्वारा वार्ता वा भेटघाटको निर्णयलाई तोडमोड गर्न थाले । उनीहरूले वार्तामा पहिला आफूहरूले महाधिवेशनमा राखेका मतभेद, उनीहरूले उठाएका अन्य विषय वा आक्षेपबारे छलफल हुनुपर्ने माग गरे । त्यसका साथै उनीहरूले सम्पूर्ण निष्काशनको कारबाही फिर्ता हुनुपर्ने, विशेष महाधिवेशन गर्नुपर्ने, त्यसका लागि अहिलेको केन्द्रीय समिति होइन, उनीहरूसमेत सामेल बेग्लै संयन्त्र बनाउनुपर्ने माग राखे । त्यति मात्रै होइन, उनीहरूले यो वार्तालाई “राष्ट्रिय जागरण अभियान” र नेकपा (मसाल) माझ अर्थात् दुई पृथक् संस्थाबिच हुने वार्ताको रूपमा विषयवस्तुलाई प्रस्तुत गरे । वार्ता वा भेटघाटको क्रममा उनीहरूले समानान्तर गतिविधि जारी नै राखे । उपर्युक्त परिस्थितिमा उनीहरूले नेकपा (मसाल) को भूमिकालाई सशक्त बनाउन आह्वान गरिएको वार्ता वा भेटघाटको प्रस्तावलाई गुटगत स्वार्थको पक्षमा तोडमोड गर्ने प्रयास गरे ।

२०७६ सालमा सम्पन्न नेकपा (मसाल) को आठौँ महाधिवेशनमा फरक मतबारे फोरम चलेको थियो । दुई चरणमा फोरम चलेर त्यसलाई महाधिवेशनमा बहुमत–अल्पमतको विधिद्वारा टुङ्ग्याइएको थियो । त्यसपछि अहिलेसम्म अढाइ वर्ष बितिसकेको छ तर पार्टीबाट निष्काशित वा अलग भएका साथीहरूले आठौँ महाधिवेशनद्वारा पारित नीतिलाई स्वीकार्न तयार छैनन्† पार्टीको अनुशासन मान्न तयार छैनन्, बरु त्यसका विपरीत उनीहरूले पार्टीप्रति खुल्लमखुल्ला दक्षिणपन्थी भएको आरोप लगाइरहेका छन्† समानान्तर गतिविधि सञ्चालन गरिरहेका छन् । यस खालको प्रतिकूल परिणाममाझ नेकपा (मसाल) ले पुराना र इमान्दार पार्टीसदस्यलाई पार्टीमा फर्काउनका लागि आह्वान गरिएको वार्तालाई फिर्ता लिएको छ ।

आठौँ महाधिवेशनद्वारा पारित नीतिलाई अस्वीकार गरेपछि वार्ताको औचित्य स्वतः समाप्त हुन्छ । जसले आठौँ महाधिवेशनको नीतिलाई स्वीकार्छ, उसले नै पार्टी अनुशासन मान्नु दोस्रो महत्वको विषय हुन जान्छ । त्यसपछि मात्रै आफ्ना भिन्नमतलाई सम्बन्धित समितिमार्फत् चलाउने र समानान्तर गतिविधि बन्द गर्ने कुरा हुन्छ तर पार्टीबाट निष्काशित वा अलग भएका साथीहरूले ती विषयलाई ठाडै अस्वीकार गरेका छन् । उनीहरूले आठौँ महाधिवेशनको सट्टामा विशेष महाधिवेशन र आठौँ महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय समितिको स्थानमा उनीहरूसमेत सम्मिलित अर्को संयन्त्र माग गरिरहेका छन् । त्यसका साथै उनीहरू समानान्तर गतिविधि सञ्चालन गर्ने छुट चाहन्छन् । यस्तो परिस्थितिमा नेकपा (मसाल) ले घोषणा गरेको वार्ता वा भेटघाटको कुनै अर्थ रहेन ।

जहाँसम्म विशेष महाधिवेशनको सन्दर्भ छ, त्यसका लागि जुनसुकै पार्टीको विधानमा पनि आवश्यक व्यवस्था रहेको हुन्छ र नेकपा (मसाल) को विधानमा पनि त्यस्तो व्यवस्था छ । विशेष महाधिवेशन सडकबाट माग्ने विषय होइन । विशेष महाधिवेशन पार्टीसदस्यले माग्न सक्छ, जसले पार्टीको अनुशासन मान्दछ । त्यसका विपरीत महाधिवेशनद्वारा पारित नीति र नेतृत्वलाई नै अस्वीकार गर्ने, अनुशासन नमान्ने, आÇना मतभेद खुल्लमखुल्ला राख्ने र पार्टीको विरुद्ध समानान्तर गतिविधि गर्नेहरूले नेकपा (मसाल) को विशेष महाधिवेशन माग गर्ने नैतिक अधिकार राख्दैनन् । त्यसकारण उनीहरूको विशेष महाधिवेशनको मागलाई यथास्थितिमा स्वीकार गर्न नसकिने प्रष्ट छ ।

नेकपा (मसाल) बाट विभिन्न कालखण्डमा निष्काशित भएका वा आफै अलग भएका साथीहरू पुनः पार्टीमा फर्केर उच्च तहमा बसेर काम गरेको अवस्था छ । यही वास्तविकतालाई स्वीकारेर नेकपा (मसाल) ले पार्टीमा पुनः फर्कन चाहनेहरूका लागि गत भदौमा वार्ता वा भेटघाटको घोषणा गरेको थियो तर वामपन्थी सङ्कीर्णतावादी नीतिका कारण उनीहरूले नेकपा (मसाल) ले घोषणा गरेको वार्ता वा भेटघाटप्रति सही नीति अपनाउन सकेनन् । जहाँसम्म नेकपा (मसाल) को राजनीतिलाई स्वीकार गर्ने इमान्दार साथीहरूको सवाल छ, उनीहरूको हकमा पार्टीले वार्ता वा भेटघाटको ढोका बन्द गरेको छैन । नेकपा (मसाल) को क्रान्तिकारी राजनीतिलाई स्वीकार गरेर पार्टी अनुशासनमा बस्ने चाहनेहरू कुनै पनि बेला पार्टीमा पुनः सामेल भएर काम गर्न सक्दछन् । इमान्दार कम्युनिस्टका लागि नेकपा (मसाल) को ढोका सधैँ खुला छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार