एउटै व्यक्ति एकै कार्यकालमा संविधानको सबै धारा अन्तर्गत प्रधानमन्त्री बन्न सक्दैन : भिमार्जुन

काठमाडौं ।  संविधानविद् समेत रहेका अधिवक्ता डा. भिमार्जुन आचार्यले एउटै व्यक्ति एक कार्यकालमा संविधानको सबै धारा अन्तर्गत प्रधानमन्त्री बन्न नसक्ने बताउनुभएको छ ।

संसद विघटनसम्बन्धी मुद्दाको बहसमा आइतबार भाग लिँदै आचार्यैले सरकार गठनको प्रक्रियामाथी नै प्रश्न उठाउनुभएको हो । अहिले प्रधानमन्त्री रिक्त रहेको अवस्था नभएकाले अर्को सरकार गठनको प्रक्रिया नै थाल्न नमिल्ने आचार्यको तर्क छ ।

‘एउटै व्यक्तिले संविधानका हरेक व्यवस्था अनुसार एउटै कार्यकालमा प्रधानमन्त्री बन्न मिल्दैन’ उहाँले भन्नुभयो । संसद विघटनको मुद्दामा शेरबहादुर देउवासहित १४६ सांसद रहेको रिट निवेदकका तर्फबाट ३४ जना कानुन व्यवसायीले बहस गरेका छन् । इजलासले रिट निवेदक पक्षलाई बहसका लागि १२ घण्टा समय दिएको थियो । उक्त समयभित्र ३४ जनाले बहस गरेका हुन् ।

पहिलो दिन बुधबार ५, बिहीबार ९ र शुक्रबार ६ जनाले बहस गरेका थिए। अन्तिम दिन आइतबार १४ जनाले बहस गरेका हुन् । अब रिटका विपक्षी अथवा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका कानुन व्यवसायीको बहसपछि ३ घण्टा जवाफी बहस गर्ने छन् । विपक्षीलाई १५ घण्टा समय दिइएको छ ।

पक्ष र विपक्षको बहसपछि इजलासका सहयोगी एमिकस क्युरीका चार वरिष्ठ अधिवक्ताले २ घण्टा बहस गरेसँगै मुद्दाको फैसला आउने छ ।
गत जेठ ८ गते संसद विघटन गरेपछि त्यसविरुद्ध ३० वटा रिट परेका भएपनि पहिले मूल निवेदक १४६ सांसदको रिटमा सुनुवाइ भएको हो । अन्य रिट बारे त्यसपछि मात्रै निर्णय हुनेछ।

मुद्दाको सुनवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलास गठन गरिएको थियो । आइतबार वरिष्ठ अधिवक्ता सविता भण्डारी, अर्का वरिष्ठ अधिवक्ता बाबुराम कुँवरले पनि बहस गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार