‘एकीकृत ग्रामीण बस्ती विकास गर्न आवश्यकता’

काठमाडौं । राष्ट्रिय जनमोर्चाले पर्वतको कुश्मामा गएको पहिरोमा परी निधन भएका व्यक्तिहरुप्रति भावपूर्ण श्रद्धमञ्जली अर्पण गरेको छ । सोमबार राजमो उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले वक्तव्य प्रकाशित गरी घटनामा घाइते भएकाको सिघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ ।

पर्वत घटनाले आफ्नो पार्टीले भन्दै आएको ‘एकीकृत ग्रामीण बस्तीको विकास’ अपरिहार्य देखिएको पौडेलको वक्तव्यमा उल्लेख छ ।

‘छरिएका बस्तीहरु तथा बाढी, पहिरो, डुबान आदिको जोखिममा रहेका घर वा बस्तीहरु समेतमाथि विचार गरी एकीकृत ग्रामीण बस्तीको विकास गर्न हामीले जोड दिँदै आएका छौँ’ वक्तव्यमा भनिएको छ ।

यस्तो छ वक्तव्यः

‘गत शनिवार ठूलो वर्षाका कारणले पर्वत जिल्ला कुश्मा नगरपालिकाको दुर्लुङमा पहिरो जादा पहिरोमा परी ८ जनाको ज्यान गएको छ । १ जना अहिलेसम्म बेपत्ता छन् । केही मानिसहरु घाइते छन् । ४ वटा घर पहिरोले लगेको छ । १२–१४ घर त्यही पहिरोको जोखिममा छन् । लगाएको खेती सहित खेतीयोग्य जमिन र वनक्षेत्र पनि पहिरोले लगेको छ ।

यस घटनाप्रति राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण भएको छ । राष्ट्रिय जनमोर्चाले मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त जनहरुप्रति समवेदना प्रकट गर्दछ । घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछ । पीडितहरुलाई उद्धार तथा राहतको यथेष्ठ व्यवस्था गर्न सरकारसँग माग गर्दछ । लकडाउनको कारणले जनस्तरबाट सहयोग कम हुनसक्ने कुरालाई विचार गरी उद्धार र राहतमा ध्यान दिन जोड दिन्छ ।

दुर्गम तथा ग्रामीण क्षेत्रमा छरिएर रहेका घर तथा साना बस्तीहरुमा बिजुली, पानी, सडक आदि जस्ता आधारभूत सेवा–सुविधाको लागि ठूलो खर्च लाग्छ । त्यस्ता छरिएका बस्तीहरु तथा बाढी, पहिरो, डुबान आदिको जोखिममा रहेका घर वा बस्तीहरु समेतमाथि विचार गरी एकीकृत ग्रामीण बस्तीको विकास गर्न हामीले जोड दिँदै आएका छौँ ।

वर्षाकाल शुरु हुँदै छ । बाढी, पहिरो तथा डुबानका घटनाहरु अरु बढ्ने छन् । यसबारे सतर्कताका उपायहरु अपनाउन तथा एकीकृत ग्रामीण बस्तीको विकास गर्न विशेष जोड दिन्छौँ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार