एमसीसी नेपालमा अखडा जमाउने अमेरिकी योजना हो : केसी

श्यामलाल पोखरेल,

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसीको माध्यमबाट अमेरिकाले चीनविरुद्व नेपालमा अखडा जमाउने योजनामा रहेको बताउनु भएको छ । उहाँले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्व सडक र सदनबाट संघर्ष गर्नुपर्ने बताउनु भयो ।

नेपालको हितबिपरित रहेको एमसीसी संसदबाट पास गराउन प्रधमन्त्री शेरबहादुर देउवा लागि परेपनि देउवाको केही नलाग्ने अध्यक्ष केसीको तर्क छ ।

एमसीसीविरुद्व मंगलबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष केसीले भन्नुभयो– ‘संसदबाट एमसीसी पास गराउन पहिला केपी ओलीले पनि प्रयत्न गरेका थिए, पनि सम्भव भएन अहिले देउवा पनि एमसीसी पास गराउने प्रयत्नमा लागि परेका छन् उनको पनि केही लाग्दैन तर सचेत हुन जरुरी छ ।’

नेपालको भूगोल प्रयोग गरेर चीनका विरुद्व अमेरिकाले नेपालमा अखडा जमाउन खोजेको उल्लेख गर्दै एमसीसीमा नेपालको कानुनले केही गर्न नसक्ने अध्यक्ष केसीको दाबी छ । एमसीसी परियोजना संसदबाट पास भए नेपालको कानुनले केही गर्न नसक्ने र अमेरिकन कानुन हावी हुने र नेपालको अस्तित्व संकटमा पर्ने अध्यक्ष केसीको तर्क छ ।

आर्थिक सहयोगको नाममा अमेरिकाले चीनलाई घेराबन्दी गर्ने अमेरिकाको योजना फेल गराउन आम नेपाली एकजुट हुनुको विकल्प नभएको अध्यक्ष केसीले बताए । अध्यष केसीको अमेरिका, जापान, अष्ट्रेलिया र भारत मिलेर चीनका बिरुद्व नेपालमा क्याम्प खडा गर्ने योजनासमेत रहेको चित्रबहादुर केसीको दावी छ ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले नेपालको भूगोल, जनसंख्या र सिमामाथि भारतले अतिक्रमण गरिरहेको बताउनुभयो । नेपालमाथि हर प्रकारले अतिक्रमण हुँदा सरकार बोल्न नसकेको बताउँदै भारतीय पक्षले तुइन काटेर नेपालीलाई मार्दापनि सरकार बोल्न नसकेको बताउनुभयो।

नेपाललाई हिन्दु राज्य बनाउन र हिन्दु सम्राट ल्याउन केपी शर्मा ओलीसमेत लागि परेको अध्यक्ष केसीको आरोप छ । नेकपा (माले)का पोलिटव्यूरो सदस्य गोपालमणि गौतमको अध्यक्षता र खोमा तरामुको सञ्चालनमा भएको कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का भुपेन्द्र न्यौपाने, वैज्ञानिक समाजवादीका शाशिराम विक, विवेकशील साझा पार्टीका किरण शर्मा, चित्रबहादुर थापा, पदम कार्की लगायतका वक्ताहरुले एमसीसीका विरुद्व आन्दोलनमा उत्रन आह्वान गर्नुभयो। एमसीसीविरुद्ध सभा हुनुअघि बुटवलमा एमसीसी विरुद्व संयुक्त र्‍याली निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार