एमालेमा हस्ताक्षर फिर्ता गराउने दबाब र नगर्ने अडानबीच रस्साकस्सी

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा गरेको हस्ताक्षर फिर्ता नलिने अडान लिएको छ । नेपाललाई सोमबार ५ बजेभित्र हस्ताक्षर फिर्ता लिन एमाले अध्यक्ष ओली पक्षले अल्टिमेटम दिएको थियो ।

आइतबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले नेपाल पक्षका सांसदलाई सोमबारभित्र हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिनुका साथै सर्वोच्च अदालतको फैसलाअघि हस्ताक्षर फिर्ता नभए उनीहरू एमाले नेता नरहने चेतावनी दिनुभएको थियो ।

तर, नेपाल पक्षले ओलीको अल्टिमेटम अस्वीकार गर्दै हस्ताक्षर फिर्ता नलिने अडान लिएको छ । शनिबार नेपाल पक्षका सांसदहरुको छलफलमा हस्ताक्षर कुनै हालतमा फिर्ता नलिने निष्कर्ष निकालेका हुन् । अवैधानिक कमिटीले दिएको अल्टिमेटमको अर्थ नहुने र संविधान, लोकतन्त्र र संसद् बचाउन गरिएको हस्ताक्षर फिर्ता नलिने निर्णय गरिएको एक सांसदले बताए।

नेपाल पक्षका सांसदको हस्ताक्षर फिर्ता गराउन आइतबार पनि एमाले नेताहरु दौडधुपमै छन् । आइतबार बिहानै ओली पक्षका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङलगायतले नेता नेपाललाई भेटेरै पार्टी एकताका लागि हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए । तर नेपालले अदालती प्रक्रियामा गइसकेको हस्ताक्षर फिर्ता नहुने बताउनु भएको स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसका सभापति देउवाले एमालेको माधव नेपाल पक्षका समेत बहुमत १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदको दाबी पेस गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि १५३ सांसद आफ्ना पक्षमा रहेको भन्दै संसदीय दलको पत्र देखाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैको दाबी खारेज गरी प्रधानमन्त्रीको सिफारिसमा गत जेठ ७ गते मध्यराति संसदै विघटन गर्नभएको थियो ।

यसविरुद्ध देउवासमेत १४६ सांसदले सर्वोच्च अदालतमा रिट निवेदन हालेका छन् । जसमा संसद् पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न माग गरिएको छ । त्यस निवेदनमा माधव नेपाल पक्षका पनि २३ सांसदले हस्ताक्षर गरेका छन् । अहिले उक्त मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा जारी छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार