जतिबेला प्रधानमन्त्री केपी ओलीले भारतीय नाकाबन्दीका विरुद्धमा कडा मुकाविला गरेर चर्चाको शिखर चुम्दै थिए, त्यतिबेला ठूलो पार्टीका भए पनि प्रचण्ड, माधवकुमार नेपालहरुको हैसियत ओली मन्त्रिमण्डलका उपप्रधानमन्त्रीहरु चित्रबहादुर केसी, सीपी मैनाली र कमल थापा जतिको पनि थिएन । ओलीको त्यही उचाइलाई ढाल्न प्रचण्डले कांग्रेससँग मिलेर ओलीको सरकारलाई गिराइदिए र आफै प्रधानमन्त्री बने ।
चित्रबहादुर केसीले उपप्रधानमन्त्रीकै हैसियतमा एउटा आन्दोलनकारीले जस्तै गरी भारतीय नाकाबन्दीका विरुद्धमा कडा अभिव्यक्ति दिएपछि भारतीय दूतावास लैनचौरले वक्तव्यबाजीसमेत गर्नुपरेको थियो । ओलीको २०७२–७३ को मन्त्रिमण्डलले भारतीय नाकाबन्दीको प्रतिरोध सामान्य कुरा थिएन ।
ओलीको त्यो उचाइ प्रचण्ड–माधव नेपालहरुलाई मन परेको थिएन । तिनीहरु भित्रभित्रै जलिरहेका थिए । जे भए तापनि नाकाबन्दीको सम्पूर्ण परिस्थितिलाई ओलीले आफ्नो काबुमा राख्न सफल भएका थिए । जनताको सम्पूर्ण साथ ओली सरकारलाई थियो ।
समय सधै एकनास रहँदैन । ओलीले त्यो उचाइ कायम गर्न सकेनन् । ओलीकै अगुवाइमा झण्डै दुई तिहाई मत ल्याएको नेकपा स्वार्थहरुको झुण्डमा बदिलिएपछि आफै एकजुट हुन सकेन । पार्टीमा स्वार्थको किचलोका कारण २०७२ मा चर्चाको शिखरमा पुगेका ओली ५ वर्षपछि संसद विघटन गरेर विरोध र आलोचनाको तारो बनेका छन् । संसद विघटनपछि देश अस्थिरतामा धकेलिएको छ ।
जतिबेला ओली ठीक थिए
माओवादी ज्यादतीको कडा प्रतिरोध र भण्डाफोर कसैले गर्यो भने नेकपा (मसाल) र चित्रबहादुर केसीपछि केपी शर्मा ओलीले नै गरेका थिए । झलनाथ खनाल अध्यक्ष भएको समयमा अर्धमाओवादी बनेको एमालेलाई ओलीले नै एमाले बनाएका हुन् ।
झलनाथ खनाल, वामदेव गौतम, माधवकुमार नेपालहरु माओवादीले गरेका सम्पूर्ण अपराधहरुलाई सात खत माफी दिइरहेका थिए भने ओलीले ती अपराधहरुका विरुद्ध कडा संघर्ष गरेका थिए ।
वामदेवसहित ६० जना केन्द्रीय सदस्य त माओवादी एजेण्डा बोकेर हिंडिरहेका थिए । तिनीहरु अर्धमात्रै नभएर पौने माओवादीजस्ता थिए । एमालेका आधा नेताहरुको माओवादीप्रति बेग्लै लगाव थियो ।
यहाँ पहिलेका कुरा किन गरिएको हो भने अहिलेको परिस्थिति आउनुमा त्यतिबेलाका घटनाक्रमले पनि काम गरेका छन् । झलनाथ खनाल, वामदेव गौतम, माधवकुमार नेपालहरु माओवादीले गरेका सम्पूर्ण अपराधहरुलाई सात खत माफी दिइरहेका थिए भने ओलीले ती अपराधहरुका विरुद्ध कडा संघर्ष गरेका थिए ।
संसदमा चित्रबहादुर केसीले चुनाव नलडीकनै ८३ सिट पड्काएको देखि कालाीगण्डकीमा चिसो पानीले नुहाउन नसकेको त्यसै भनेका होइनन् ।
जतिबेला देश माओवादीको आतंक, अराजकता र फासीवादी शैलीको सिकार भएको थियो, त्यतिबेला तिनीहरुसँग लड्नु सामान्य कुरा थिएन । त्यसको अगुवाइ ओलीले गरिरहेका थिए । माधव नेपाल प्रधानमन्त्री थिए र सरकार निरीह थियो । माओवादीको काठमाडौंको ६ दिने घेराउको भौतिक प्रतिरोध ओलीको आदेशमा एमालेको युवा संघले गरेको थियो ।
माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायत आधा भन्दा धेरै एमालेहरु माओवादीका एजेण्डामा हिंडिरहेका बेलामा ओली एक्लैले एमालेलाई एमालेको ठाउँमा उभ्याएका थिए । माओवादीले गरेका अपराधहरुको जिम्मेवारी ओलीले कहिल्यै लिएनन् । तर झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतमहरुको माओवादीका गलत राजनीतिक एजेण्डालाई स्थापित गराउनुमा ठूलो योगदान छ । त्यतिबेला ओली नेतृत्वमा थिएनन् ।
माधव प्रचण्ड जब ओली बन्न सकेनन्
देशमा दुई थरी ओलीको प्रकट भएको छ । संसद विघटन भन्दा पहिलेका ओली र संसद् विघटनपछिका ओली । निश्चित रुपमा संसद विघटन भन्दा पहिलेका ओली धेरै हदसम्म सही थिए । संसद विघटनपछिका ओली गलत बाटोमा हिंडिरहेका छन् ।
माधव नेपाल संसद विघटनभन्दा पहिलेका ओली बन्न चाहन्थे भने प्रचण्ड संसद विघटन भन्दा पछिका ओली बन्न चाहन्थे । तिनीहरु दुवैको चाहना ओली बन्ने नै थियो । ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीको रुपमा जसरी प्रभाव जमाइरहेका थिए, माधव नेपाल र प्रचण्डलाई त्यो कुरा मन परेको थिएन ।
उनीहरु कुनै विधि वा पद्धतिबाट होइन, रुक्माङ्गद कटवाललाई जसरी बर्खास्त गरेका थिए, त्यसै गरी ओलीलाई बर्खास्त गर्ने योजनामा थिए, नेकपाको झगडामा केपी शर्मा ओली, प्रचण्ड र माधव नेपाललाई तुलोमा जोख्दा २० कि १९ मात्रै हुन् ।
ओलीलाई प्रधानमन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेताबाट बर्खास्त गर्ने योजना रहेको कुरा प्रचण्डले पुस २८ गते मात्रै खुलाएका छन् । ओलीलाई बर्खास्त गर्नुको अर्थ हुन्थ्यो, नेपाल कम्युनिष्ट पार्टी फुट्नु ।
किनभने ओली प्रचण्डको हातबाट बर्खास्त हुन चाहँदैन थिए । महाधिवेशन हुनुभन्दा अगाडि जुनसुकै नेतालाई कारवाही गरिएको भए पनि नेकपा फुट्थ्यो ।
नेपाल कम्युनिष्ट पार्टीको एकता कुनै लेनिनवादी संगठनात्मक पद्धतिअनुसार भएको थिएन । पार्टीमा दुई वटा समान हैसियतका अध्यक्ष र सहमतिमा मात्रै निर्णय हुन सक्ने प्रावधान राखेर गरिएको एकताले पार्टीको लेनिनवादी संगठनात्मक पद्धतिमा बाधा हालेको थियो ।
ओलीलाई बर्खास्त गर्ने योजना भएको सार्वजनिक गरिसकेपछि अहिलेको घटनाका सम्पूर्ण दोषी केपी ओली मात्रै हुन् भन्ने माधव प्रचण्डको आरोप कति धेरै नक्कली रहेछ भन्ने कुरा छर्लङ्ग छ । सकेका भए त तिनीहरुको बाटो पनि ओलीकै जस्तो रहेछ ।
प्रधानमन्त्रीबाट बर्खास्त गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाउने र माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने खेल थियो भन्ने कुरा प्रचण्डकै खुलासाबाट थाहा हुन्छ । उनीहरु कुनै विधि वा पद्धतिबाट होइन, रुक्माङ्गद कटवाललाई जसरी बर्खास्त गरेका थिए, त्यसै गरी ओलीलाई बर्खास्त गर्ने योजनामा थिए ।
ओली मात्रै होइन, पार्टीका सम्पूर्ण नेताहरु नै पार्टीलाई विधि र पद्धतिबाट अगाडि लैजाने कुरामा चुकेका देखिन्छन् । तिनीहरु विधि र पद्धति मिचेरै भए पनि आफ्नो स्वार्थ पूर्ति गर्ने खेलमा मात्रै केन्द्रित थिए भन्ने कुरा प्रष्ट छ । नेकपाको झगडामा केपी शर्मा ओली, प्रचण्ड र माधव नेपाललाई तुलोमा जोख्दा २० कि १९ मात्रै हुन् ।
प्रचण्डको त्यतिबेलाको चाहना र योजनाहरु सफल भएका भए यो देश अहिलेको अवस्था होइन, माओवादीको फासीवादी शासन व्यहोरिरहेको हुन्थ्यो । प्रचण्डका सबै योजनाहरुलाई परास्त गर्न सकेका कारण देश माओवादीको फासीवादी शासनबाट जोगिएको छ
राजनीति दुई दिनको खेल होइन । हामीले विगतदेखिका घटनाक्रम नै हेर्नुपर्दछ । राजनीतिमा जसले इतिहासका पाना पल्टाउन सक्दैन, त्यसले राजनीतिक विश्लेषण सही ढंगले गर्न सक्दैन । इतिहाससँग नजोडिएको राजनीति वर्तमान हुन सक्दैन । वर्तमानमा कुनै ठूला घटनाहरु घट्नको लागि वर्तमानलाई सघाउ पुराउने गरी विगतमा घटनाहरु घटिरहेको हुनुपर्दछ ।
रुक्माङ्गद कटुवाललाई कारवाही गरेर सिङ्गो नेपाली सेनालाई कब्जा गरेको भए अहिलेको राजनीतिक परिस्थिति कता मोडिने थियो ? यो कसैले पनि अनुमान गर्न सक्दैन । माओवादी समूहले नेपाली सेनामाथि दुनियाँथरी लाञ्छना लगाइरहेको समयमा प्रचण्डका कदमका विरुद्धमा दृढतापूर्वक उभिएर केपी ओली नेपाली सेनाको संरक्षक जस्तो बन्न पुगेका थिए ।
विद्या भण्डारी रक्षामन्त्री भएको समयमा पनि नेपाली सेनामाथि माओवादी पक्षबाट त्यत्तिकै आक्रमण भयो, विद्या भण्डारीले सेनाको पक्षमा दृढता प्रदर्शन गरिन् । नेपाली सेनालाई लथालिङ्ग बनाउनको लागि माओवादी लडाकूको सामूहिक प्रवेश, माओवादीले दिएका दज्र्यानीहरु दिइनुपर्नेलगायतका धेरै मागहरु उठाइएका थिए ।
प्रचण्डको त्यतिबेलाको चाहना र योजनाहरु सफल भएका भए यो देश अहिलेको अवस्था होइन, माओवादीको फासीवादी शासन व्यहोरिरहेको हुन्थ्यो । प्रचण्डका सबै योजनाहरुलाई परास्त गर्न सकेका कारण देश माओवादीको फासीवादी शासनबाट जोगिएको छ ।
लेनदेनको खेल सकिएपछिको तमासा
नेकपाको सरकार गठन गरिएपछि नेपाली जनताको चाहना विकास, समृद्धि, शिक्षा र स्वास्थ्यमा राज्यको दायित्वजस्ता आधारभूत कुराहरुको परिपूर्ति थियो । विगत तीन वर्षमा नेकपाको सचिवालयमा ती विषयमा कहिल्यै छलफल समेत भएन । मेडिकल शिक्षामा भएको माफियाकरण रोक्ने विषयमा सामान्य छलफल पनि गरिएन ।
कैयौं भ्रष्ट व्यक्तिहरु न्यायाधीश नियुक्ति गरिए । ती सबै नियुक्तिमा प्रचण्ड, माधव नेपाल र केपी ओलीको मिलेमतो रहेको कुरा घामजत्तिकै छर्लङ्ग छ । राजदूत र कार्यालयका हाकिमहरु पनि योग्यता र क्षमताको आधारमा होइन, तीन जनाको भागशान्ति पु¥याएर मात्रै नियुक्ति गरियो । आफ्ना मान्छे भागशान्ति नमिलेको कारण नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्ति हुन नसकेको हो ।
भागबण्डामा नियुक्ति गरिएका भ्रष्ट व्यक्तिहरुबाट कार्यसम्पादन हुन सक्दैनथियो र भएन पनि । त्यसैले सरकारले राम्रोसँग काम गर्न सकेन । एक जना सही व्यक्तिको छनौटले राम्रो काम हुन सक्ने रहेछ भन्ने कुरा कुलमान घिसिङको कार्यसम्पादनमा देखिएको छ ।
प्रचण्ड–माधव समूहले आफूले गरेका सम्पूर्ण लेनदेन, भ्रष्टाचारको दोष ओलीमाथि थोपरेर आफू चोखो देखिने प्रयास गरेका छन्, आफूले गरेका अपराध र भ्रष्टाचारहरु ओलीमाथि खन्याएर चोखो देखिने प्रयत्न गर्नु ओली भन्दा खतरनाक प्रवृत्ति हो
विगतका तीन वर्ष लेनदेनमै विताएका प्रचण्ड र माधवकुमार नेपालहरु केपी ओलीसँग लेनदेन मिल्न छोडेपछि टाढिंदै गएका हुन् । विकसित राजनीतिक घटनाक्रममा ओलीका विरुद्धमा संघर्ष गर्दा प्रचण्ड र माधव नेपालका असक्षमता, ढोंगी, भ्रष्ट र स्वार्थी लेनदेनलाई ढाकछोप गर्न थालियो भने त्यो नेपाली जनताप्रति गरिएको अर्काे अपराध हुनेछ ।
अहिलेको परिस्थिति ओली एक्लैले ल्याएका होइनन् । यो परिस्थिति विकसित हुनुमा माधव नेपाल र प्रचण्डहरु पनि धेरै हदसम्म जिम्मेवार छन् । ओलीले गरेको संसदको विघटन प्रचण्ड र माधव नेपालले गरेका अपराधहरु चोख्याउने अस्त्र बन्नु हुँदैन । संसद विघटनलाई देखाएर माधव नेपाल र प्रचण्डलाई चोख्याउन सकिंदैन ।
गिरिजाप्रसाद कोइरालाले २०६३ को आन्दोलनको समयमा विगतमा गरिएका गल्तीहरुप्रति माफी मागेर आगामी दिनमा संसदीय जोडघटाउको खेलमा नलाग्ने प्रतिबद्धता जनाएका थिए । प्रचण्ड माधव नेपाल समूहले आफ्नै पार्टीभित्र संसदीय जोडघटाउको खेलमा लागेकोमा माफी माग्नु त कता हो कता चोखिने दुष्प्रयास गरेका छन् ।
खतरनाक प्रवृत्तिलाई साधु बनाउने प्रयत्न
प्रचण्ड–माधव समूहले आफूले गरेका सम्पूर्ण लेनदेन, भ्रष्टाचारको दोष ओलीमाथि थोपरेर आफू चोखो देखिने प्रयास गरेका छन् । आफूले गरेका अपराध र भ्रष्टाचारहरु ओलीमाथि खन्याएर चोखो देखिने प्रयत्न गर्नु ओली भन्दा खतरनाक प्रवृत्ति हो । सम्पूर्ण दोषको भारी ओलीलाई बोकाएर माधव नेपाल र प्रचण्ड जसरी साधु पल्टिएका छन्, त्यो निकै खतरनाक छ ।
प्रधानमन्त्रीकै शब्दमा बालुवाटारमा १ सय ७५ वटा बैठकमा प्रचण्ड जाने प्रधानमन्त्री माग्ने, माधवकुमार नेपाल जाने पार्टी अध्यक्ष माग्ने, झलनाथ खनाल जाने राष्ट्रपति माग्ने, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ जाने सांसद माग्ने जुन गन्धा खेल खेलिएको थियो, अहिले त्यसले विष्फोटक रुप लिएको छ
ठेकेदारसँगका लेनदेन र ठेक्का प्रक्रियामा प्रचण्ड र माधव नेपाल जोडिएका छन् । यति, ओम्नी, रासायनिक मल, औषधि खरिदलगायत जति पनि भ्रष्टाचारहरु भएका छन्, ती सबै मिलेमतोमा भएका छन् । माधव नेपाल र प्रचण्डको साथ नभइकन ओली एक्लैले ठूलठूला भ्रष्टाचारका काण्डहरु थेग्न सक्दैनन् । भए जतिका भ्रष्टाचारकाण्डमा मुछिने, हरेक दिन बालुवाटार पुगेर पदको लेनदेनका मात्रै कुरा गर्ने कार्य निकै घातक प्रवृत्ति हो ।
प्रधानमन्त्रीकै शब्दमा बालुवाटारमा १ सय ७५ वटा बैठकमा प्रचण्ड जाने प्रधानमन्त्री माग्ने, माधवकुमार नेपाल जाने पार्टी अध्यक्ष माग्ने, झलनाथ खनाल जाने राष्ट्रपति माग्ने, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ जाने सांसद माग्ने जुन गन्धा खेल खेलिएको थियो, अहिले त्यसले विष्फोटक रुप लिएको छ ।
सचिवालय र स्थायी समितिको बैठकबाट केपी ओलीलाई ५ वर्ष प्रधानमन्त्री बनाउने निर्णय गरेको केही समयमै तिनलाई फाल्नुपर्ने के बाध्यता आइ लाग्यो ? त्यसको जवाफ माधव र प्रचण्डले दिएका छैनन् । फाल्नुपर्ने कारणहरु भविष्यमा खुल्दै जानेछन् ।
सचिवालयले पार्टीलाई विधि र पद्धतिमा लैजाँदा ओली अल्पमतमा परेको खण्डमा संसद् विघटन भन्दा राजीनामा दिनु नै उपयुक्त हुन्थ्यो । उनले नेपाली जनतालाई आफूले राजीनामा दिनुपर्ने कारण बताउन सक्थे । त्यो नै उनको बुद्धिमत्ता हुन्थ्यो ।
यदि प्रधानमन्त्री पदबाट राजीनामा दिएको भए उनलाई पार्टी अध्यक्षबाट हटाउन सक्ने तागत नेकपामा हुने थिएन । त्यो अवस्थामा देशलाई ठूलो क्षति हुने थिएन । ओलीले जनताबाट निर्वाचित संसदलाई विघटन गरेका कारण नराम्रोसँग चुकेका छन् ।
विधि र पद्धति नै पार्टी र सरकार सञ्चालनमा निर्णायक हुन्छन् भन्ने कुरा राजनीतिक दलका नेताहरुले कहिल्यै बुझ्न र मनन गर्न सकेको देखिएन । त्यसले देशलाई निरन्तर क्षति भइरहेको छ । आगामी दिनमा राजनीतिक र संवैधानिक क्षति हुन नदिन देशलाई विधि र पद्धतिमा लगेर सञ्चालन गर्नुपर्दछ ।
(पोखरेल नेकपा (मसाल) निकट अनेरास्ववियु (छैटौं)का अध्यक्ष हुन्)