कथाः आज राम्रो पढ्ने छौं

“यस दुनियाँमा जुन दिन तपाईले आफ्नो सोंच ठूलो बनाउनु हुन्छ, त्यस दिनदेखि ठूला–ठूला मानिसहरुको कल्पनामा पनि तपाई आउन थाल्नु हुन्छ, त्यस पछि तपाई आफै एउटा ठूलो मानिस बन्नु हुन्छ ।”

एक पटकको कुरा हो, एउटा मगन्ते रेल स्टेशनमा रहने गर्दथ्यो । हरेक दिन उसको काम थियो माग्ने । रेलको वोगीमा एताउता जान्थ्यो, माग्दैमाग्दै एक स्टेशनदेखि अर्को स्टेशनसम्म पुग्ने गर्दथ्यो । पैसा पाए पनि नपाए पनि जेनतेन आफ्नो जिन्दगी चलाइरहेको थियो । एक दिन माग्दै माग्दै एक स्टेशनदेखि अर्को स्टेशनसम्म जाँदै थियो । उसले रेलको वोगीमा एउटा सुटेड–बुटेड व्यक्तिलाई देख्यो, उसलाई लाग्यो– ‘व्यापारी जस्तो देखिने त्यो व्यक्तिले मलाई पैसा पनि धेरै दिनेछ ।’ उसले त्यो व्यक्तिको नजिक पुगेर पैसा माग्न थाल्यो, निकै धरै वेरसम्म पैसा माग्यो ।

पहिला त त्यो सुटेड बुटेड व्यक्तिले मगन्तेलाई हेरिरह्यो, त्यस पछि ठूलठूलो स्वरमा रिसाउँदै र गालि गर्दै भन्न थाल्यो– ‘तेरो तमिज छैन, जब मैले तँलाई केहि दिन नचाहँदा पनि तँ हात धोएर पछि परेको छस्, अर्को कुरा तँ सँग के छ, मलाई दिनको लागि ? मैले तँलाई पैसा दिहाले भने पनि तैंले मलाई के दिन्छस् ?’

मगन्तेले भन्यो- ‘साहु जी मसँग त केही पनि छैन, म त केवल मगन्ते हुँ । मेरो क्षमता नै के छ र मैले तपाईलाई केही दिन सकुँ ?’

त्यो सुटेड बुटेड व्यक्तिले भन्यो– ‘जब दिन सक्दैनस् भने, माग्न पनि छोड्दे ।’ रेलबाट झर्यो र आफ्नो गन्तव्य स्थान तर्फ अगाडि बढ्यो ।

तर मगन्ते रेल स्टेशनबाट बाहिर आयो र सोंच्न थाल्यो– ‘मैले के दिन सक्छु ?’ जब उसले आफ्नो वरिपरि हेर्न थाल्यो, उसले स–साना विरुवाहरु देख्यो जसमा साना साना फूलहरु फुलेका थिए । उसले सोंच्यो– ‘फूल टिप्छु, जसले मलाई भिख दिन्छ, उसलाई फूल दिन्छु ।’ अर्को दिनदेखि उसले त्यो काम शुरु गर्यो । जसले उसलाई भिख दिन्थ्यो, भिख दिने व्यक्तिलाई उसले फूल दिन्थ्यो । मानिसहरुलाई पनि राम्रो लाग्न थालेको थियो । पहिलो पटक यस्तो मगन्ते भेटिएको थियो, जसलाई भिख दिंदा उसले बदलामा फूल दिन्थ्यो । यो प्रकृया उसको चलिनै रहेको थियो ।

केही दिन पछि त्यो मगन्तेले उही सुटेड बुटेड व्यक्तिलाई रेलमा भेटायो । मगन्ते छिटोछिटो त्यो व्यक्तिको नजिक पुग्यो र भन्यो– ‘साहु जी आज मलाई तपाईले भिख दिनुभयो भने मसँग हजुरलाई दिने केही छ, मलाई भिख दिनुहोस्’ भन्यो ।

विश्वास गरेर त्यो सुटेड बुटेड व्यक्तिले मगन्तेलाई केही पैसा दियो, बदलामा मगन्तेले त्यो व्यक्तिलाई फूल दियो । त्यस पछि त्यो सुटेड बुटेड व्यक्ति निकै हर्षित हुँदै भन्यो– ‘अब तिमले व्यापार गर्न सिक्यौ, मलाई लाग्छ, तिमले पक्कै पनि बुझ्यो होला लेनदेन के हुन्छ भन्ने । जीन्दगीमा जब केही दिन सकिंदैन, लिनु पनि हुँदैन ।’ यति भनेर त्यो व्यक्ति रेलबाट झर्यो र आफ्नो गन्तव्य स्थान तर्फ अगाडि बढ्यो ।

मगन्तेको मनमा त्यो वाक्यले छोयो । रेल स्टेशनबाट बाहिर आएर जोड जोडसँग चिच्याउँदै भन्न थाल्यो– ‘म भिखारी होइन, व्यापारी हुँ । म पनि त्यो व्यक्ति जस्तै बनेर देखाउने छु, सुट बुट लगाउने छु, पैसाले भरिएको ठूलो झोला मसँग पनि हुनेछ ।’ मगन्तेको त्यो भनाई सुनेर वरपरका मानिसहरुले उसलाई बहुला मान्छे भनेर ध्यान दिएनन् ।

६ महिनासम्म त्यो मगन्ते त्यस रेल स्टेशनमा देखिएन । ६ महिना पछि दुई जना सुटेड बुटेड व्यक्तिहरु भेट भए । जसमा एक जना उहि मगन्ते थियो, अर्को उही पुरानै सुटेड बुटेड व्यक्ति । एउटा सुटेड बुटेड व्यक्तिले सोध्यो– ‘मलाई चिन्नु भयो ? हामी तेश्रो पटक भेट भएका छौं ।’ अर्कोले भन्यो– ‘हैन हामी पहिलो पटक भेट भएका छौं ।’ फेरि अर्कोले भन्यो– होइन होइन दुई पटक पहिला पनि भेट भएका छौं, तपाईलाई संझना छैन म त्यही मगन्ते हुँ, जसलाई तपाइले पहिलो पटक लेनदेनको महत्व सिकाउनु भयो र दोश्रो पटक सोंच ठूलो बनाएमा ठूलो मान्छे भइन्छ भन्ने सिकाउनु भयो । हेर्नुहोस् आज म तपाई जस्तै बनेको छु । मैले पहिला फूल टिपेर माग्न सिकें, त्यसपछि फूल किन्न थालें र आज मसँग फूलको ठूलो व्यापार छ ।’

यो सानो कथाले हामीलाई निकै धेरै शिक्षा दिन्छ । जबसम्म हामीले आफूले आफ्नो जीन्दगीमा योजनावद्ध प्रकारले अगाडि बढ्ने कोशिस गर्दैनौं, तबसम्म अगाडि बढन सकिंदैन र तबसम्म सफलता पनि हात पर्दैन । अर्को कुरा हामीले जीन्दगी भरि सोंच्ने गर्दछौं कि मेरो जीवन यहाँसम्म मात्र हो, आफ्नो क्षेत्रफल ठूलो बनाउनु होस् आराम र शान्तिसँग विश्राम लिन सक्नु हुन्छ । यसैले ‘तपाईले देखाउनुस यस्तो, संसारले गर्न खोजोस् तपाइको जस्तो ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार