कथा : आगो

सुरेशकुमार पाण्डे

“बनमा लागेको आगो सबैले देख्छन् तर मनमा लागेको आगो भने कसैले देख्दैनन् ।” शन्तेले आफ्नो आरनमा खलाती धुँदै नजिकै बसेका दिनु तिर हेर्दै भन्छ । शन्तेका आँखा राता–राता थिए, मानौं रातैभरिको अनिंदो जस्तै देखिन्थ्यो । उसले आगोमा रातो भएको हँसियालाई बिस्तारै घनले ठाकठाक पार्दै त्योबाट धार निकाल्ने प्रयात्न गर्दै, “म स्यानो पिरले यो आफ्नो पेसामा फर्किएको होईन !” भन्दै बंगारा किट्दै थ्यो । यस्तो लाग्थ्यो उसँग धेरै ज्याद्ती भएको थियो ।

शन्ते र दिनुले सँगै एउटै कक्षामा अध्ययन गरेका हुन् । शन्ते पढाईमा अब्बल फुर्तिलो, हँसमुख मिलनसार थियो । केही बर्ष पहिले दुबै जनाले मास्टर डिग्री प्राप्त गरेर नोकरी पनि लागेका थिए तर पछिल्लै बर्ष शन्तेले नोकरीमा राजिनामा दिएर आफ्नै पेशा गर्न थालेको दिनुलाई जानकारी भएको थियो । यो सुनेर आश्चार्य लाग्यो । आखिर किन यस्तो कदम उठायो शन्तेले भनेर मनमा कतुहल मचिएको थियो, तर टाडा भएकोले भेट बिस्तार हुन सकेको थिएन । केहि दिन पहिले दिनुको नजिकैको एउटा स्कुलमा दबादला भएपछि आज फुर्शत निकालेर दिनु शन्तेलाई भेट्न आएका हुन् ।

यति होनहार मास्टरले आफुले बल्लबल्ल पाएको स्थायी जागिर छाडेर आरन लगाउँनु भनेको मामुली कुरा पनि थिएन । आखिर के कारणले शन्तेले नोकरी छाड्यो भन्ने कौतुहल दिनुको मनमा घर जमाएको थियो । सँगै पढेको सँगै जागिर लागेको साथीलाई दिनुले धेरै नजिकबाट चिनेका पनि त थिए ।

आज शन्तेको आँखामा उनले कहिले नदेखेको ज्वाला देखेका थिए र मनभित्र आक्रोशको त्यो लावा पढ्दै थिए । दिनु धेरै बोलेका पनि थिएनन् । नजिकैको एउटा कुर्चिमा बसेर शन्तेको गनगन सुनिरहेका थिए । शन्तेले बस्नलाई कुर्चि दिएपनि कुनै चिया पानी सोधेको पनि छैन । उनीहरुको केहि बर्षदेखि भेटघाट थिएन । आज जनतन भेट्न गएको पनि उसको ब्यबहार देख्दा अलि बेग्लै अनुभव भयो । दिनु चुपचाप बसेका थिए । शन्तेले भने घरी खलाति धुने, घरी हाँसीया खुर्पा पिट्ने गर्दै थियो । एक्लै शन्तेलाई देखेपछि– “हजुर एक्लै हुनुहुन्छ ? बरु एउटा सहयोगी राख्दा ठिक होला नी हजूर एक्लैले त अलि धौ हुँदैन र ?” भनेर सोध्छन् ।

“होईन म एक्लै त छैन छोराले सहयोग गरि हाल्छ, अहिले उ घरमा खाना खान गएको छ ।” पर आफ्नो घरतीर देखाउँदै भन्छ । “मलाई आज धेरैका औजारहरु पिटाएर दिनुछ, त्यसैले म खाना खान पनि गएको छैन ।” भनेर उसले दिनुलाई सफाई दिन्छ ।

“यह हो, छोराले पनि यहिँ काम गर्छन् ? दिनुले सोध्छन् ।

“हजूर गर्नु पर्यो नि, नगरेर के खाने ? पहिले त आनाकानी गरेकै हो तर मैले सर्बिसबाट राजिनामा दिए पछि भने उसले स्कुल नगएर भए पनि आरनको काममा हात बटाई दिन्छ । मन पराएर काम गरिराखेको हुन्छ ।” शन्तेले दिनु तिर हेर्दै भन्छ ।

उसको अनुहारमा कालो बादल छाएको प्रतिबिम्ब देख्न मिल्थ्यो । आँखाहरुले धेरै कुरा भन्न खोजे जस्तै लाग्छ, तर कसरी भन्ने । “शन्त जी हजुरले लागेको त्यति राम्रो जाब छाडेर यो आरनमा काम गर्नै पर्ने के होला भन्न मिल्छ भने भन्नु होस् न ।” भन्दै दिनुले शन्तेबाट बुझ्न खोज्छन् ।

“यह, लौ छोरा पनि आयो ।” भन्दै दिनुको ध्यानलाई उतै मोड्ने प्रयत्न गर्छ । छोराले आफुले खाना खाएर आफ्नो बाबालाई खाना र एक लोटा मुही ल्याई दिएको हुन्छ । उसले समान राख्दै नमस्ते अंकल भन्छ र आफ्नो काम तिर जान खोज्छ ।

उ मुस्किलले १४÷१५ बर्षको केटा हो, उसले आरनमा हँसिया, कोदाली, बञ्चरो, गाग्री ताउला जस्ता आबश्यक समानहरु बनाउँन सिकिसकेको छ । अत्यान्तै हँसमुख मिलन सार मिजासी जस्तै पहिले शन्तेमा थियो गुण ठिक त्यस्तै अहिले यो केटामा गुण भएको लाग्यो दिनुलाई ।

“होइन, यो मुहि मलाई हो ?” भन्दै लोटा तिर हेर्छ ।

केटाले दिनुको कुरा सुनेर आफ्नो बाबा तिर हेर्दै– “पिउँनु हुन्छ र अंकल ? हजुरले” भनेर सोध्छ । उसको त्यो प्रश्नले दिनुको मुटुमा चसक्क बिज्छ । दिनुलाई पुरानो त्यो दिन सम्झना आउँछ । शन्ते र आफुले खोसा खोस गर्दै एउटै थालीमा खाएको ।

“किन नखाने ? ल्याउ” भन्छ । केटाले हर्षित हुँदै उनलाई लोटा दिएर दौड्दै घर जान्छ अनि घरबाट अर्को लोटा मही ल्याएर एकैछिनमा आईपुग्छ ।

शन्तेको आँखाबाट आँशुका बलिनी पर्छन । उ जुरुक्कै उठेर दिनुको छातिमा चप्टिन्छ । “दिनु मेरो साथी तिमि कहिल्यै बदलिएनौं, मैले सोँचेको थिएँ समयसँग तिमिमा पनि बद्लाव आयो होला, तर मेरो सोंच गलत थियो । आजको रुढिवादी समाजमा पनि तिमि जस्ता महान मान्छेहरु छन ।” भन्दै उसले आँशुको बलेनी रोक्न सक्दैन । एकछिन पछि त्यहीं आरनमा दुबै मित्रले एउटै थालमा रोटी खान्छन् ।

अनि बिस्तार पूर्वक आफुमा बितेको र आफुले राजिनामा दिएको कारण बेलिबिस्तार गर्छ । जातीय अपमान सहन नसकेर उसले नोकरीबाट राजिनामा दिएर उसले आफ्नो पेशा अंगालेको भन्दै छोरा छोरीलाई पनि आफ्नै पेशामा परिपक्क हुन अह्राउँथ्यो ।

यो समाज कहिले सुध्रीएला ? कहिले यो रुढिवादी संस्कारले बिदा लेला ? आजको एक्किसौं शताब्दीमा पनि दलित माथिको बिभेदको आगो निभेको छैन ।

(यो कथा काल्पनिक हो । कसैको जीवन र नाम मेल खान गएमा मात्र संयोग हुनेछ ।)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार