कथा : बुढो जुलुस

  • हेम विजी

मंसिर महिनाको आधा आधी । हल्का कालो बादलले ढाकेर आकाश धुमिल थियो । मलिन घामको प्रकाश बादल चिर्दै बल्लबल्ल धर्ति तिर ओर्लिएको जस्तै लाग्थ्यो । “मालिक आउ– देश चलाउ ।” “हाम्रो मालिक हाम्रो देश– प्रण भन्दा प्यारो छ ।” मध्य दिनका सडकमा चिच्चाएका यि आवाजहरु नितुको कानसम्म आईपुग्यो ।

शनिबारको दिन थियो । भोली पल्ट एउटा कथा लेखेर स्कुलमा गुरुलाई सुनाउनु पर्ने थियो, नितुलाई । नेपाली बिषयको त्यहि नै होमवर्क थियो, नितुको । भरखरै कथा कोर्न बसेकी नितुको मौनता सडकमा चिच्चाएको आवाजले भत्काई दियो । झ्यालमा झुण्डिएको निलो पर्दा अलिकता खोलेर नितुले सडक तिर आँखा दौडाईन् । मान्छेहरु एक सय र आधा सय जति थिए होलान् । नौ बर्षकी नितुले त्यो सडकको चिच्चावट बुझ्न नसकेर दङ्ग पर्दै भान्सा कोठा तिर दौडिदै गई । नितुले पहिलो पटक सडकमा मान्छेहरुको लामवद्ध आवाज र होहल्ला सुनेकी थिई । “आमा हेर्नु न सडकमा मान्छेहरु किन चिच्चाउँदै छन् ? के भनिरहेका छन् तिनीहरु ?”

खाना बनाउन व्यस्त थिईन् नितुकी आमा, निशानी । खोई किन हो आज बिहानको खाना पनि अलि ढिलो पाक्दै थियो नितुको घरमा । तर छोरीको उत्सुकतासंगै आमा निशानी पनि भान्सा कोठाबाट नितु पढ्ने कोठामा तिर आईन् र उही झ्यालको निलो पर्दा उघारेर सडक तिर आँखा घुमाईन् । नारा उस्तै थिए । मान्छे उनै थिए ! जुन नितुले देखेकी थिईन् । समय र सडक अलिकता अघि बढेको थियो । नितुकी आमा निशानी राजनैतिक आस्था र विचारमा आवद्ध नारी भएकोले सडकका नाराहरु, मान्छे र माग बुझ्न कुनै गाह्रो बिषय थिएन । निशानी अग्रगामी दलकी कार्यकर्ता र परिवर्तनशील महिला संघकी सदस्य पनि थिईन् । “छोरी तिमी आफ्नो होमवर्क गर । म खाना पकाउँछु । ढिला भईसक्यो खाना खाने समय । सडक तिर ध्यान नदेउ ।” आमाको यो कुराले छोरी नितुको चित्त बुझेन क्यारे ! बाल्यकालको मन चञ्चल र जिज्ञासु हुन्छ नै । देखेको कुरा बुझ्न र जान्न चाहेने बाल स्वभावले होला छोरी नितुले धेरै पटक सोधी रहिन्– “आमा ति मान्छेहरु किन सडकमा हिडिरहेका छन् ? किन चिच्याउदै, उफ्रिदै ?” आमा निशानीले आखिर छोरीको बाल जिज्ञासा मेटाउँदै भनिन् “ति मान्छेहरु बुढो जुलुस गर्दै छन् छोरी !” “बुढो जुलुस” यो सुनेर छोरी नितुको झनै जिज्ञासा बढ्यो र फेरी आमासँग सोधिन्– “बुढो जुलुस भनेको के हो आमा ?” “यसको लामो कहानी छ छोरी !” आमाले भनिन् । “म सुन्छु आमा ! आज मेरो छुट्टीको दिन ! जति लामो होस् कहानी ।” छोरीले निकै जिद्दी गरे पछि आमा निशानीले भान्सा कोठाबाट गोलभेडा, प्याज, आलु र अरु पनि तरकारी लिएर नितु बसेकै कोठामा फेरी आईन् र तरकारी काट्दै छोरीलाई बुढो जुलुसको कहानी बताउन शुरु गरिन् ।

आज भन्दा करिब शताब्दी चार दशक देखिको कुरो हो । हाम्रो यो सानो नेपाल देशको ठूलो शहरको विशाल महलमा बाह्रौं–तेह्रौ पुस्तादेखि एउटा एकल पुस्ता बस्दै आएको थियो । त्यो विशाल महलमा बस्ने एकल पुस्ताका मालिक देशकै शासक थिए । ति शासक गरिब देशका सर्व सपन्नशाली र सर्व शक्तिमान थिए । ति शासक त्यहि विशाल महलमा बसेर देशको शासन चलाउथे । उनलाई अवतारी मालिक पनि भन्थ्ये र तिनै अवतारी मालिकलाई उनका आसेपासे, धुपौरे र दासदासीहरुले भगवान बिष्णु अवतार भनेर ढोग्ने पुज्ने पनि गथ्र्ये । ति मालिक सेना, प्रहरी साथ सर्व शक्तिमान बनेर देशको सत्तामा विराजमान थिए । ति अवतारी मालिक यतिसम्म निरंकुश थिए कि देशका नागरिकले उनको आज्ञा र आदेश विना ठूलो सास फेर्न पनि पाउँदैनथे । नागरिक अधिकार, स्वतन्त्र र समानता भन्ने कुरा त किताबमा पनि पढ्न पाईदैनथ्यो । ति अवतारी मालिक जे बोले त्यो देशको कानुन बन्थ्यो । उनको आदेश र हुकुम संविधान जस्तै हुन्थ्यो । उनले जहाँ पाईला टेक्थ्ये त्यो उनको जमिन हुन्थ्यो । नागरिकले अधिकारको लागि बोल्न, दल–पार्टी खोल्न पूर्ण प्रतिबन्ध थियो । स्वतन्त्र त थियो बोल्न तर तिनै महल र अवतारी मालिकका आसेपासे र धुपौरेहरुलाई मात्र । अरु जनता अधिकार र स्वतन्त्रताको लागि बोले जेल जानु पर्ने शासन–सत्ता थियो । त्यति बेला जनता नभएर देशका नागरिकहरु मालिकका रैति र प्रजा गनिन्थ्ये । देशमा जनताप्रति निर्मम अन्याय, अत्याचार र शोषण बाहेक अरु केहि थिएन ।

“आमा ति निरंकुश शासक विरुद्ध कोही मान्छे बोलेनन् त ?” छोरी नितुले आफ्नो जिज्ञासा थपिन् । “सुन छोरी म भन्दैछु !” काटी सकेको आलुलाई एउटा थालीमा राखेर आमा निशानीले प्याज काट्दै फेरी भन्न थालिन् ! आफ्नो ज्यानको प्रवाह नगरि छ दशकदेखि जनताले निरंकुश शासन, मालिक र क्रुर प्रतिमागी व्यवस्था विरुद्ध संघर्ष गरिरहे । जेलनेल भोग्दै स्वतन्त्र र प्रजातन्त्रको आन्दोलनमा हजारौं मान्छेहरुले आफ्नो प्राणको आहुती दिए । यो छ दशकको अवधीमा नेपाली जनता र निरंकुस मालिक बिच लामो लडाई चल्यो । कहिले खुला र कहिले भूमिगत । ईतिहासमा धेरै पटक जनताले प्रजातन्त्र प्राप्त गरे । लोकतन्त्र हासिल गरे । निरंकुश शासकलाई आन्दोलनको आँधीले पछार्दै जाँदा स्वयं ति अवतारी मालिक जनआन्दोनसँग झुक्दै पनि गए । जनताले खुला राजनैति अधिकार, निर्वाचन र जननिर्वाचित बनेर उनका आशेपासे मतियारहरु केहि समय सरकारमा पुगेर देशको शासन पनि चलाए । तर विडम्वना यस्तो भयो कि– जति पटक नेपाली जनताले प्रजातन्त्र प्राप्त गरे, ति प्रतिगामी शासकले बुट र बन्दुक देखाएर दबाए । जति पटक नेपाली जनतले लोकतन्त्र हासिल गरे, ति दमनकारी “बिष्णु अवतार”ले लोकतन्त्र नै कुल्चदै गए । जनआन्दोलनको आक्रोस बढ्दै जाँदा ति जनअधिकार लुटेको मालिकले आफु जनताले लेखेको कानुनमा बस्छु भने तर कहिल्यै बसेनन् । यसरी ईतिहासमा धेरै पटक ति निरंकुश मालिकले प्रजातन्त्र आफुले चाहेको बेलामा निले । यसरी प्रजातन्त्र निल्नुको एउटा कारण यो पनि थियो कि पूर्ण प्रजातन्त्र नेपाली नागरिकले प्राप्त गरिसकेका थिएनन् ।

“आमा अहिले पनि देशमा लोकतन्त्र छैन त ?” छोरी नितुको प्रश्नमा आमा निशानीले कहानीलाई यसरी थप्दै र छोरीलाई सुनाउँदै गईन् । त्यति बेला तिमी जन्मेकी नै थिईनौ छोरी । आज भन्दा ठिक डेड दशक अघिको कुरो हो । ति प्रतिगामी निरंकुश शासकले जनताले रगत बगाएर लिएको प्रजातन्त्र र जननिर्वाजित सरकार एकै साथ कुल्चे पछि नेपाली जनताले ति निरंकुश शासक विरुद्ध जीवन मरणको लडाई शुरु गरे । ईतिहासमा मात्र पढिने र भेटिने तर मालिकको प्रत्यक्ष शासन कही पनि नरहने गरि आन्दोलनको तुफान चलाए । निरंकुश शासन विरुद्ध नेपाली जनताले अन्तिम युद्धको घोषणा गरि लडे । त्यो जनआन्दोलनलाई माईलो जनआन्दोलन पनि भनिन्छ । आन्दोलन यति उत्सर्गमा पुग्यो, बिस दिन पुग्न एक दिन मात्र बाँकी थियो । आखिर ति सर्वशक्तिमान भन्ने मालिक जनतासँग हार खान पुगे । सेना, प्रहरी, बुट, बन्दुकको साहारा लिएर आन्दोलन भङ्ग गर्न खोजे तर सकेनन् । कारण यो थियो, लाखौं जनता स्वतन्त्र र लोकतन्त्रको लागि सडकमा एकतावद्ध भएर लडे । जनताको यहि बलिदानी लडाईले करिब चौबिस दशकको निरंकुश सत्ताका मालिक ईतिहासको पानामा मात्र समिति हुनु पुगे । नेपाली जनताले लोकतन्त्रको लडाईमा विजय हासिल गरे ।

“ति मालिक कहाँ छन् त आमा अहिले ?” छोरी नितुले निकै चासो लिदै फेरी आमालाई सोधिन् । छोरी नितुको चासोलाई ध्यान दिदै आमा निशानीले मालिकको कहानीलाई अझै बढाउँदै भन्दै गईन् । ति मालिक कहीं गएका छैनन् ! दाह्रा र नङ्ग्रा झिकेका बाघ झैं भई यही देशमा छन् । यहि शहरमा छन् । प्रजातान्त्रिक लोकतान्त्रिक सरकारले दिएको घर र भत्ता खाएर बसेका छन् । नेपाली शासन सत्तामा कुनै अधिकार र आदेश केहि चल्दैन । विश्व ईतिहासमा धेरै देशका निरंकुश शासकहरुको हविगत यस्तै हुँदै आएको छ । आमा निशानीले भन्दै थिईन्– जुन दिनदेखि हाम्रो देशमा ति अवतारी मालिक सत्ताको बगडोरबाट तल खसे त्यस दिनदेखि ति मालिकका आसेपासे, धुपौरे र भरौटेहरुलाई निद्रा लाग्न छोड्यो । ति निरंकुश मालिकलाई फेरि पुरानै महल र पुरानै शासनमा फर्काउन आज फेरी सडकमा चिच्चाउँदै रुवाबासी गर्दैछन् । ति आज सडकमा उफ्रिएका एक सय र आधा सय जति मान्छे तिनै बिष्णु अवतारका भक्तजन हुन् । बुढो मालिक, बुढो महल, बुढो निरंकुशता र बुढो प्रतिगामी विचार बोकेका मान्छेहरुले गरेको जुलुस भएकोले यसलाई “बुढो जुलुस“ भनेको हो । त्यहि बुढो जुलुसको चित्कार हो– “मालिक आउ देश चलाउ ।” ति निरंकुश सत्ताका केहि अवषेशहरु अझै पनि बाँकी केहि छन् र बेला बेला आज जसरी कराउँछन् ।

“आमा ति बुढा मालिक फेरी बुढो महल र बुढो निरंकुश शासनमा फर्किन्छन् त ?” छोरी नितुले फेरी प्रश्न सोधिन । “संभव छैन छोरी” आमा निशानीले भनिन्– प्रजातन्त्रिक– लोकतान्त्रिक शासक र सत्तामा अलिकता खलबल आयो भने यि प्रतिगामीहरुले मुन्टो उठाउने प्रयात्न गर्छन् । तर मरिसकेको लास फेरी चिहानघाटबाट ब्यूँतेर आउँदैन ।

“कहानी यति हो छोरी ! बुढो जुलुसको कहानी सकियो ! तिमी होमवर्क गर ! म भान्सा तिर जान्छु ।” यति भनेर आमा निशानी ति काटेका आलु, गोलभेडा र प्याज लिएर भान्सा कोठा तिर जाँदै थिईन् । त्यति बेलासम्म बाहिर सडकमा जुलुस पनि थिएन । नारा र मान्छेहरु हराई सकेका थिए । आकाशमा सफा घाम लागेको थियो । पहिलाको मलिन घाम सफा र ताजा बनिसकेको थियो । “आमा मैले होमवर्क लेख्ने कथाको शिर्षक पाएँ, अब कथा यहि शिर्षकमा लेख्छु । “भान्सा कोठा तिर पुग्नै लागेकी आमा निशानीलाई बिचैमा रोक्दै छोरी नितुले आफ्नो कथा शिर्षक आमालाई देखाईन् । आमा दङ्ग परिन् र एक पटक छोरीलाई हेर्दै मुस्कुराईन् । “छोरी यो शिर्षकमा कथा लेखेर बेलुका अफिसबाट बाबा आउँदा बाबालाई पनि यो कथा देखाउनु पर्छ नि” छोरीलाई यति भन्दै निशानी भान्सा कोठा भित्र पसिन । छोरी नितु कथा कोर्न थालिन् । नितुले कापीको पानामा माथि ठूला अक्षरमा कथाको शिर्षक लेखेकी थिईन् “बुढो जुलुस”……

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार