‘कथित सामाजिक अभियान्ताले गाउँपालिकाविरुद्ध भ्रम छरे’

प्युठान । प्युठानको झिमरुक गाउँपालिकाले आफूलाई सामाजिक अभियान्ता बताउने प्रमोद पोखरेलले गाउँपालिकाविरुद्ध भ्रम छरेको आरोप लगाएको छ ।

मंगलबार एक विज्ञप्ति प्रकाशित गरी गाउँपालिकाले कथित अभियान्ता पोखरेलको फेसबुक पेजमा ‘गाउँपालिकाले सिफारिस रोक्यो’ भन्ने समाचार प्रकाशित गरी भ्रम छरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गाउँपालिकाले बस सेवाका लागि सवारी पास उपलब्ध गराउन स्थानीय प्रशासनले नै सिफारिस दिन रोकेको स्पष्ट पार्दै सवारी पास नपाएकोमा गाउँपालिकाविरुद्ध भ्रम छरिएको बताएको छ । पोखरेलले गरेको टेलिफोन सम्पर्कका क्रममा गाउँपालिका अध्यक्ष तिलकबहादुर जिसीले बस सेवाका लागि सिफारिस गर्न प्रशासनले नै रोक लगाएको बरु अन्य कुनै निजी सवारी साधन भए सिफारिस गर्न सकिने बताएको पनि गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ ।

‘सो विषयलाई बंग्याइ गाउँपालिका अध्यक्षले पासको सिफारिस नगरेको भन्ने भ्रामक समाचार प्रचार प्रसार गरी आम जनतालाई भ्रमको सिर्जना गरेको र रोगको सहारा लिएर राजनीति गर्न सार्थ कथित सामाजिक अभियान्ताको नामबाट आफू चर्चामा आउन खोजेको हामीले महसुस गरेका छौं’ गाउँपालिकाका प्रवक्ता टिकाबहादुर जिसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्मरणीय छ, आफूलाई सामाजिक अभियान्ता बताउने कतिपय व्यक्तिहरुले चर्चाका लागि पीडितका नाममा विभिन्न क्षेत्रबाट रकम उठाइ फोटो खिचेर थोरै राहत बाँड्ने र धेरै प्रचार गर्ने गरेका समाचारहरु आइरहेका छन् । त्यस्तै मध्येका ज्वाला संग्रौलालगायत तीन जना अहिले प्रहरी हिराससतमा छन् । उनीहरुले प्रहरीलाई नै दुर्व्यवहार गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार