कमैया अभियान लिपिबद्ध गरिँदै

काठमाडौँ । कथित मुक्त कमैयाको समस्यासित सम्बन्धित रहेर अखिल नेपाल जनजाति सम्मेलनले माघ ५देखि १२ गतेसम्म सञ्चालन गरेको “कञ्चनपुर–दाङ अभियान”लाई अब पुस्तकाकारमा लिपिबद्ध गरिने भएको छ । उक्त पुस्तकमा अभियानको क्रममा वक्ताहरूले राखेका विचारलाई समावेश गरिने भएको छ ।

सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीको हस्ताक्षरमा २०७६ फागुन ५ गते जारी प्रेस विज्ञप्तीमा सो जानकारी दिइएको हो । राष्ट्रियताको समस्या, भाइचारा सङ्गठनका कार्यक्रम, कमैयाबारे आगामी कार्यक्रम, आदिवासी जनजाति आयोग, भाषा आयोग, थारू आयोगलगायतका विषय समेटिएको सो विज्ञप्तीमा अगाडि भनिएको छ– “अखिल नेपाल जनजाति सम्मेलनको केन्द्रीय कार्यालयको बैठक उपलब्ध केन्द्रीय सदस्यहरूसहित २०७६ फागुन ४ गते समितिका अध्यक्ष निमबहादुर बुढाथोकीको अध्यक्षतामा काठमाडौँमा बस्यो । बैठकले गरेका निर्णयहरूको जानकारी गराउन यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।

बैठकमा अखिल नेपाल जनजाति सम्मेलनद्वारा गत माघ ५देखि १२ गतेसम्म “मुक्त कमैयाहरूको उचित व्यवस्थापन गर १” भन्ने मूल नारासहित सञ्चालित “कञ्चनपुर–दाङ अभियान” को रिपोर्टिङ भयो । जिल्ला सम्मेलन, जिल्ला भेला, प्रकाशनका कार्य र राष्ट्रियताको पक्षमा भएका सङ्घर्षहरूमा सहभागितासम्बन्धी विषयको पनि बैठकमा रिपोर्टिङ भयो । बैठकले आगामी चैत्र मसान्तभित्रमा दुईवटा प्रकाशन जनजाति दृष्टिकोण अङ्क ३ र “कञ्चनपुर–दाङ अभियान” का क्रममा भएका अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले राखेका विचारहरूलाई सङ्कलन गरेर एउटा पुस्तक प्रकाशित गर्ने निर्णय भएको छ । सीमा समस्या, राष्ट्रघाती नागरिकता विधेयक, एमसिसी परियोजनासम्बन्धी देशमा चलिरहेको सङ्घर्षमा जनजाति सम्मेलनको केन्द्रदेखि स्थानीय तहसम्ममा सङ्गठन परिचालित हुनुपर्ने, मुक्त कमैयाका समस्याहरूको विषयमा स्थानीयस्तरका राष्ट्रिय जनमोर्चासँग समन्वय गरी सङ्घर्षको उठान गर्न पहल गर्ने, आदिवासी जनजाति आयोग, भाषा आयोग र थारू आयोगको प्रभावकारिताका लागि दबाब दिनेसमेत बैठकले निर्णय गरेको छ ।
फागुन २३ र २४ गते दाङमा गर्ने भनिएको खेलाडीहरूको राष्ट्रिय भेला र ब्याडमिन्टन प्रतियोगिता अहिलेलाई स्थगित गरिएको छ । आगामी चैत्रमा बस्ने केन्द्रीय समितिको बैठकले त्यसबारेमा निर्णय लिने छ । बैठकले सङ्गठन, आर्थिक, प्रकाशनबारे अन्य महत्वपूर्ण निर्णयहरू गरेको छ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार