कल्पना पौडेल जिज्ञासुको ‘विद्रोहका तरंग’ बजारमा

नेपालगञ्ज । कल्पना पौडेल (जिज्ञासु) को ‘विद्रोहका तरंग’ कृति विमोचन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान काडमाडौं र भेरी साहित्य समाजको आयोजनामा नेपालगञ्जमा राष्ट्रिय वाङ्मय गोष्ठी तथा लुम्बिनी प्रादेशिक सांस्कृति महोत्सवको अवसरमा सो कृति विमोचन भएको हो । भेरी साहित्य समाज बाँकेकी सल्लाहकार कल्पना पौडेल जिज्ञासुको यो तेस्रो एकल कृति पठनीय र सङ्ग्रहणीय रहेको पाठकहरु बताउँछन् ।

लेखक पौडेल प्रगतिशिल लेखक संघ नेपालको केन्द्रिय परिषद् सदस्य समेत हुनुहुन्छ भने गजल श्री पुरस्कारबाट पनि सम्मानित भइसक्नु भएको छ । हाल उहाँ “कल्पना फाउन्डेसन” नामको संस्थाबाट विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहनुभएको छ । फाउण्डेशनले जेहेन्दार र विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गर्ने गरेको छ । उहाँका यसअघि भावनाका भेलहरु, जुन हराएको रात नामका दुईओटा गजल संग्रह र गितीसंग्रह पोखिएका खुशी प्रकाशित भइसकेका थिए ।

लेखक पौडेलको ‘विद्रोहका तरंग’ प्रणय भाव– वियोगको राप, भूतको निराशा–भविष्यको आशा, भोगाइको धार, कुसंस्कारप्रति प्रहार, विकृत राजनीतिप्रति धारेहात– मानवीय विचारमा आधारित रहि प्रकाशित गरिएको छ । कृतिमा देशको दुखाई र देशप्रतिको भक्तिभावलाई शब्दहरुमा सजाउन कोशिस गर्नुभएको छ । पौडेलले देश चलाउने नेतामाथी भने तिखो प्रहार गर्नुभएको छ ।

लेखक कल्पना पौडेलको २०३४ सालमा माता मनिकर्ण पौडेल र पिता टिकाराम पौडेलकी कान्छी सु–पुत्रीको रुपमा बाग्लुङ जिल्लाको छिस्तीमा जन्म नुभएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार