काठमाडौं र पोखरामा कोरोना मार्न कीटनाशक औषधि छर्कन सुरु

काठमाडौं । कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्नाका लागि काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिकाले कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्कन सुरु गरेका छन् । काठमाडौं महानगरपालिकाले बुधबार र पोखराले बिहीबारदेखि कीटनाशक औषधि छर्कन सुरु गरेका हुन् ।

काठमाडौंका बढी भिडभाड हुने वीर अस्पताल, भित्रि सहरका असन, इन्द्रचोक, टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, कालीमाटी तरकारी बजारलगायत स्थानमा बुधबारदेखि कीटनाशक औषधि छर्क थालिएको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।

पहिलो चरणमा ४ हजार लिटर क्षमताका तीनवटा ट्यांकटरमार्फत कीटनाशक औषधी छर्कन थालिएको हो । काठमाडौं महानगपालिका कार्यालयका अनुसार सार्वजनिक स्थानमा कीटनाशक औषधि छर्किनाका साथै सडक पानीले पखाल्ने, ब्रुमरले सडक सफा गर्ने जस्ता कामलाई निरन्तरता दिइएको छ ।

यस्तै, पोखरा महानगरपालिकाले नगर क्षेत्रका भीडभाड हुने स्थानमा आजबाट किटनाशक औषधि छर्कन सुरु गरेको छ । महानगरको न्युरोडस्थित कार्यालयबाट बिहीबार किटनाशक औषधि छर्न सुरु गरिएको हो ।

बिहीबार दिउँसो गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले डिसइन्फेक्सन स्प्रे सुरु गरेका हुन् । कोरोना भाइरसको संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन किटनाशक औषधि छर्न सुरु गरिएको महानगरका प्रमुख जिसीले बताए ।

महानगरमा पहिलो चरणमा १ सय लिटर किटनाशक औषधि ल्याई छर्ने काम सुरु गरिएको र आवश्यकता अनुसार खरिद गरी मुख्यमुख्य स्थानमा किटनाशक औषधि छर्ने योजना बनाएको छ।

यसअघि पोखरा महानगरपालिकाले कोरोनाको रोकथाम र न्यूनीकरण गर्न ३३ वटै वडा कार्यालयमा समन्वय समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार