काममा नफर्किएको भन्दै नेपाली श्रमिकमाथि कुटपिट

काठमाडौँ । बहराइनमा आन्दोनरत नेपालीसहित आप्रवासी श्रमिकहरु काममा नफर्किएको भन्दै कम्पनीको व्यवस्थापन पक्षले उनीहरुमाथि कुटपिट गरेको छ । नासिर सिड अलहाजरी कार्पोरेशनको व्यवस्थापन पक्षले कोठाभित्र बसिरहेका बेला आफूहरुमाथि आक्रमण भएको त्यहाँ कार्यरत नेपाली श्रमिकहरुले बताएका छन् ।

बहराइन सरकारको बाप्को प्रोजेक्ट (प्रमुख ग्यास—तेल प्रशोधन केन्द्र) निर्माणमा संलग्न श्रमिकहरु सुरक्षा माग गर्दै गत मंगलबारदेखि आन्दोलनमा थिए ।

‘बहराइन सरकारको श्रम, स्वास्थ्य, आन्तरिक मन्त्रालय, कम्पनी र दूतावासको प्रतिनिधिबीच छलफल भएको थियो । छलफलमा स्वदेश फिर्न चाहनेलाई पठाइदिने र काम गर्नेहरु ड्यूटीमा जाने सहमति भएको थियो’, एक श्रमिकले कान्तिपुरलाई भने, ‘शनिबार ड्यूटीमा जानेहरु गेटबाट बाहिर निस्के । नजानेहरु कोठामा नै बसेका थिए । ड्यूटीमा जानेहरु गेटबाट बाहिर निस्कनसाथ केही व्यक्तिहरु भित्र छिरेर हामीमाथि कुटपिट गर्न थाले ।’

कुटपिटमा घाइते भएका केही श्रमिकलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको छ । बहराइन सरकारले शुक्रबार नेपाली दूतावासलाई श्रमिकको चित्त बुझाउन नसके घर पठाइदिन सहजीकरण गर्ने जानकारी गराएको थियो । नेपालीसहितको विदेशी श्रमिकको चित्त बुझाउन नसकेमा फिर्ता पठाउन सहजीकरण गर्ने जनाएको छ ।

बाप्को प्रोजेक्टमा कार्यरत श्रमिकहरुले सुरक्षा, स्वस्थकर खाना दिनुपर्ने माग राख्दै ड्यूटी छाडेर नोगा क्याम्पमा बसेका छन् । जसमा झन्डै ७ सय नेपाली छन् । नेपालीबाहेक भारतीय कामदारहरु पनि छन् । श्रमिकमाथि कुटपिट भएको घटनापछि दूतावासले बहराइनको श्रम मन्त्रालयको गम्भीररुपमा ध्यानाकर्षण जनाएको छ । श्रम मन्त्रालयले श्रमिकका वैधानिक मागहरु पूरा गर्न पुनः विश्वास दिलाएको दूतावासले जनाएको छ ।

‘श्रम मन्त्रालयले हामीलाई श्रमिकका वैधानिक मागहरु पूरा गर्ने पुनः विश्वास दिलाएको छ’, बहराइनका लागि कार्यवाहक राजदूत अरुणा घिसिङले कान्तिपुरलाई भनिन्, ‘समस्यालाई समाधान गर्न पटक–पटक छलफलहरु भइरहेको छ ।’ श्रमिकहरुले भने आफूहरु स्वदेश नै फर्किन तयार भएको बताएका छन् । क्याम्पमा असुरक्षा बढेको भन्दै श्रमिकहरुले क्याम्पको कोठा छाडेर आफ्नो लगेजसहित दूतावास जान बाहिरिन थालेका थिए । दूतावासले समस्या समाधान गर्न प्रयास भइरहेको बताएपछि उनीहरु क्याम्पमै बसिरहेका छन् ।

काठमाडौंको एसओएस म्यानपावरले त्यस कम्पनीमा नेपाली श्रमिक पठाएको हो । त्यहाँ कार्यरत नेपाली श्रमिकहरुका अनुसार एसओएसले उनीहरुबाट एकलाखदेखि एकलाख ५० हजार रुपैयाँसम्म लिएको थियो । गत मंगलबार कामबाट फर्केर मेसमा खाना खानेक्रममा ढल्न पुगेका एक श्रमिकको समयमा नै उपचार नहुँदा ज्यान गएपछि श्रमिकहरु आक्रोशित भई आन्दोलन थालेका हुन् । प्रोजेक्टमा कार्यरत भारतीय र नेपाली श्रमिकहरुले कम्पनीको लापरबाहीबाट एक महिनामै २० जना श्रमिकहरुको मृत्यु भइसकेको दाबी गरेका छन् । बिहीबार पनि एक श्रमिकको मृत्यु भएको थियो ।

उनीहरुले ग्यास—तेल प्रशोधन केन्द्रको बीचमा क्याम्प राखिएकोले आफ्नो स्वास्थ्यमा गम्भीर असर परेको भन्दै तुरुन्तै क्याम्पलाई अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्ने माग राखेका छन् । घर फर्किन इच्छुक भएका अधिकांश नेपाली श्रमिक झन्डै दुई महिनाअघि मात्रै बहराइन पुगेका थिए । ‘मान्छे मरेको थाहै नै हुन्न । रातको समयमा ग्यास र तेलको चर्को गन्ध आउँछ । टाउको त्यत्तिकै दुख्छ । ग्यासको चुहावट भइरहन्छ । यसले धेरैजना बिरामी भइराख्छन्’, गोरखाका सन्जिव बरालले भने, ‘यहाँबाट क्याम्प हटाउन सबैको माग छ ।’

कम्पनीले श्रमिकलाई स्वस्थकर र पोषणयुक्त खाना पनि नदिने गरेको श्रमिकहरुको आरोप छ । ‘हामीलाई सुंगुरको चारोभन्दा पनि गए गुज्रेको खाना खुवाउँछ । ताजा खानेकुरा केही दिँदैन । खानामा चामलको बोरा, बोत्तलको टुक्राहरु फेला पर्छ’, उनले भने, ‘ड्यूटी पनि निकै लामो छ । बिहान ५ बजे क्याम्पबाट निस्कनुपर्छ । एकैपटक बेलुका ८ बजेमात्रै आइपुग्छौं । ओभरटाइमको पुरै रकम पनि दिने गरेको छैन ।’

कम्पनीमा अधिकांश नेपाली श्रमिक स्काफ फोल्डिङ र हेल्परको रुपमा कार्यरत छन् । कम्पनीले स्काफ फोल्डिङ काम गर्ने श्रमिकलाई एक सय २० र हेल्परलाई एक सय बहराइनी डिनार दिने भनेर माग पत्र प्रमाणीकरण गरे पनि त्यसअनुसार तलब नदिने गरेको श्रमिकहरुको भनाइ छ । उनीहरुले स्काफ फोल्डिङलाई एकसय १० र हेल्परलाई ७० दिनार मात्रै पाइरहेको बताए । ‘हामीलाई महिनाको ५० हजार रुपैयाँसम्म आउँछ भनिएको थियो । यहाँ २५ हजार रुपैयाँ पनि हुँदैन’, सिन्धुलीका प्रदीप थारुले भने, ‘हामीलाई जतिसक्दो उद्धार गर्न आग्रह गर्दछौं ।’

कान्तिपुरबाट साभार

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार