कार्ल मार्क्सका विचार अहिलेको सन्दर्भमा झनै सशक्त बन्दै छ : सिंह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले विश्व सर्वहारा वर्गका महान नेता कार्ल मार्क्सका विचार अहिलेको सन्दर्भमा झनै सशक्त बन्दै गएको बताउनुभएको छ ।

२०३ औं मार्क्स जयन्तीका अवसरमा नेकपा (मसाल) केन्द्रीय कार्यालयले मंगलबार आयोजना गरेको विशेष कार्यक्रममा महामन्त्री सिंहले कम्युनिष्ट आन्दोलनलाई दिशानिर्देशन गर्नमा कार्ल मार्क्सको विशेष योगदान रहेको बताउनुभयो ।

उहाँले अहिलेको विषम परिस्थितिका विभिन्न जटिलताहरुका सन्दर्भमा पनि मार्क्सवादको ऐतिहासिक महत्व रहेको उल्लेख गर्नुभयो ।

‘विभिन्न प्रकारका अन्तरविरोधका बीचबाट नयाँको विकास हुन्छ भन्ने द्वन्दात्मक भौतिकवादी दर्शनका आधारमा नै विश्व जगत परिचालित हुँदै आएको छ’ सिंहले भन्नुभयो, ‘ऐतिहासिक भौतिकवादी दृष्टिबाट हेर्दा पनि मानव समाजमा त्यसरी नै परिवर्तन हुँदै आएको छ र निरन्तररुपमा परिवर्तन हुँदै जानेछ । त्यसकारण अहिलेको परिस्थितिमा पनि मार्क्सवाद झनै सशक्त भएर आएको प्रष्ट छ ।’

मानव समाजमा न्याय, समानता र श्रमिक वर्गका हितमा मार्क्सले अगाडि सारेका विचारले एउटा सहस्राब्दीलाई नै प्रभावित पारेको उल्लेख गर्दै उहाँले मार्क्सको ज्ञान, विचार र चिन्तनलाई श्रमिक वर्ग र मानवजातिका हितमा सदुपयोग गर्न राज्य व्यवस्थामै परिवर्तन हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

यस्तै महामन्त्री सिंहले साम्राज्यवाद र पूँजीवादले अत्यधिक नाफाका लागि प्रकृतिको अनियन्त्रित दोहन गरिरहेको उल्लेख गर्दै त्यसले पृथ्वी र मानव जगतमा नयाँ नयाँ संकटहरु सृजना गरेको बताउनुभयो । मार्क्सले आजभन्दा करिब दुई सय वर्ष अघि नै प्रकृतिमाथि साम्राज्यवादले कसरी चरम शोषण गर्छ भन्ने कुराको ब्याख्या गरेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

श्रमिक वर्गको राज्य व्यवस्था स्थापनाको लागि जनता नै जागरुक हुनुपर्ने भन्दै उहाँले ब्यापक जनआन्दोलन र जनसंघर्षका माध्यमबाट शोषणमूलक व्यवस्थामा परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीको अध्यक्षता तथा नेकपा (मसाल) बागमतीका प्रवक्ता समीर सिंहको सञ्चालनमा भएको कार्यक्रममा मूलप्रवा अखिल भारत नेपाली एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसी, नेता आनन्द शर्मा,अखिल नेपाल महिला संघका अध्यक्ष मिना पुन,अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरे, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का महासचिव लोकराज भुसाल, रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार मधु क्षेत्री, सक्तमान बुढाथोकि (हंगकग), लुमाकान्त पुन(कतार), हिमाल थापा(बेल्जियम), तेजन्द्र क्षेत्री (जापान), जय विक(दुबई), तोयनाथ कडेल(यूरोप) र अखिल नेपाल उद्योग व्यापार संघका नेता बीबी अधिकारी  लगायत नेताहरुले शुभकामना दिनुभएको प्रवक्ता समिर सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार