मूल प्रवाहद्वारा देशको सिमा शुरक्षाको माग

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज द्वारा नयाँ दिल्लीस्थित राजदूतावास मार्फत नेपालका प्रधानमन्त्रीलाई ज्ञापन पत्र हस्तान्तरण

धनवीर पुन
नयाँ दिल्ली
। मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नयाँ दिल्ली स्थित नेपाली दूतावास मार्फत नेपालका प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । समाजका केन्द्रीय सचिव ठाकुर खनालको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उक्त ज्ञापन बुझाएको हो । हालै भारत सरकारद्वारा जारी नयाँनक्सामा कालापानी र लिम्पीया धुरालाई भारतीय नक्शामा गाभेको प्रति विरोध प्रकट गर्दै सरकारको ध्यानाकर्षणका लागि बुझाइएको खनालले जानकारी दिनु भयो ।

“४ मार्च १८१६ मा ब्रिटिस इण्डीया र नेपाल बिच सम्पन्न सुगौलि संधी भएको थियो । त्यस पछि औपचारीक रूपमा उत्तर–पश्चिमी सिमामा कुनै परिवर्तन भएको छैन ।” ठाकुर खनालले भन्नु भयो– “भारत स्थित नेपाली राजदुतावास मार्फत सम्माननीय प्रधानमन्त्री ज्यु एवं नेपाल सरकार समक्ष हामी भारत स्थित नेपालीहरूको तर्फ देखि माग गर्दछौं कि, तत्काल भारत सरकारसँग उच्च स्तरिय कुटनैतिक पहल गरि सिमा सुरक्षाको लागि अन्तर्राष्ट्रियकरण गर्नमा नेपाल सरकार पछि हट्ने छैन भन्नेबारे हामी पूर्णतः विस्वस्त छौं ।” प्रतिनिधि मण्डलमा केन्द्रीय सदस्य मतिराज गौतम, सल्लाहकार धनवीर पुन मगर, क्षेत्रीय कोषाध्यक्ष तिलक पाण्डे हुनुहुन्थ्यो ।

प्रस्तुत छ ज्ञापन पत्रको पूर्णपाठ : “हामी नेपालीहरू देशको सामाजिक, आर्थिक, राजनैतिक अवस्थाले गर्दा उत्पन्न वेरोजगारीका कारणले रोजगारको लागि भारत लगायत विभिन्न देशहरूमा भौतारिन बाध्य छौं । रोजगारको समस्याको कारणले देश भन्दा टाढा भएता पनि देशभक्तीको भावना देशवासी भन्दा कम छैन् । त्यसैले नेपालमा चल्ने प्रत्यक आन्दोलनमा भारतबाट आफ्नो अमुल्य योगदान पु¥याई रहेका छौं । चाहे त्यो पञ्चायती व्यवस्था विरूद्धको २०४६ को जनआन्दोलन होस् या २०६२–६३ को महान जनआन्दोलन लगायत देशभित्र जनतन्त्र, जनजिवीका तथा राष्ट्रियताको लागि चल्ने आन्दोलनहरूमा भारत स्थित नेपालीहरूको महत्वपूर्ण भुमिका रहेको छ ।

हालै भारत सरकारले जम्मु–कश्मीरको विभाजन पछि जारी गरेको प्रशासनिक नक्सामा नेपालको भुमिलाई समेत सामेल गरिएको विषय प्रति रोषप्रकट गर्दछौं । नेपाल सरकारको परराष्ट्र मन्त्रालयको विज्ञप्ती अनुसार नेपाल सरकार त्यो विषयमा सचेत भएता पनि भारत सरकारको परराष्ट्र सचिवद्वारा खण्डन गरि जारी नक्सामा नेपालको कुनै पनि जग्गा सामेल नगरेको भन्ने टिप्पणीले समस्या जस्ताको त्यस्तै छ भन्ने प्रष्ट हुन्छ । हामी तत्काल उच्च स्तरिय कुटनैतिक पहल गरि नेपालको सिमा रक्षा सुनिश्चित गर्नका लागि माग गर्दछौं ।

हाम्रो देशको भौगोलिक अवस्था तीन तिर भारत र उत्तर तीर चीन छ । नेपाली सिमा लगातार भारतले अतिक्रमण गरि रहेकोछ । माने भन्ज्याङ, सुस्ता लगायत कैयौं स्थानमा सिमा अतिक्रमण भइरहेको छ । जसमा दार्चुला जिल्लाको व्यास गाउँपालिका वार्ड नं. १ को कालापानीमा ३७४ वर्ग किलोमिटर भुिम सन १९६२ देखि भारतिय सेनाले अनाधिकृत रूपमा कब्जा जमाएको छ, अहिले आफ्नो अनाधिकृत कब्जालाई वैधानिक रूप दिन त्यस क्षेत्रलाई समावेस गरि नयाँ नक्सामा जारी गरेको छ ।

सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणमा भारत–चीन व्यापार सम्झौता भएको थियो । त्यसमा नेपाली भुमि लिपु भंज्याड्ड (लिपु लेख)लाई सामेल गरियो । त्यसले नेपालको राष्ट्रियता माथी चोट पु¥याएको थियो । त्यसबारे नेपाल सरकारले समय मै कुटनैतिक पहल गरि उक्त सम्झौता खारेज गर्नको लागि अन्तर्राष्ट्रिय रूपमा पहल गरेको भए अहिले यो अवस्था आउने थिएन ।

४ मार्च १८१६ मा ब्रिटिस इण्डीया र नेपाल बिच सम्पन्न सुगौलि संधी भएको थियो । त्यस पछि औपचारीक रूपमा उत्तर–पश्चिमी सिमामा कुनै परिवर्तन भएको छैन । भारत सरकारले ब्रिटिस इण्डीयाको बिरासतलाई अगाडि बढाएको हो । त्यसैले ब्रिटिस इण्डीयाद्वारा बनाईएको नक्साले नै आधिकारिक र प्रमाणीत हुन्छ ।

अतः भारत स्थित नेपाली राजदुतावास मार्फत सम्माननीय प्रधानमन्त्री ज्यु एवं नेपाल सरकार समक्ष हामी भारत स्थित नेपालीहरूको तर्फ देखि माग गर्दछौं कि, तत्काल भारत सरकारसँग उच्च स्तरिय कुटनैतिक पहल गरि सिमा सुरक्षाको लागि अन्तर्राष्ट्रियकरण गर्नमा नेपाल सरकार पछि हट्ने छैन भन्नेबारे हामी पूर्णतः विस्वस्त छौं ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार