कालोबजारी र भ्रष्टाचार गर्ने अपराधी हुन्ः मसाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले अहिले देशमा महामारी र संकटको अवस्था उत्पन्न भएको मौका छोपी अत्यावश्यक वस्तुमा कालोबजारी र भ्रष्टाचार गर्नेहरुले मुलुकमाथि अक्षम्य अपराध गरेको बताएको छ ।

चीनबाट आएका सामानमा कमिसनको खेल भएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै नेकपा (मसाल) ले त्यस विषयमा छानबिनको माग गरेको छ । महामन्त्री मोहन विक्रम सिंहले आइतबार जारी गर्नुभएको प्रेस वक्तव्यमा देश संकटमा परेका बेला सरकारकै तहबाट परम आवश्यक वस्तुमा भ्रष्टाचार र कमिसनको खेल हुनु अमानवीय र अक्षम्य अपराध भएको बताउनु भएको छ ।

सरकारले लामो समयदेखि चल्दै आएको खरिद प्रक्रिया मिचेर हालै एक अर्ब २४ करोड ६८ लाख रुपैयाँको स्वास्थ्य सामग्री चीनबाट खरिद गर्न एउटा कम्पनीलाई सीधै ठेक्का दिएको थियो । जसमा करोडौंको भ्रष्टाचार भएको सामाचार आएका छन् ।

यस्तो छ, नेकपा (मसाल) को वक्तव्य
‘चीनबाट आएका सामानहरूमा भ्रष्टाचार वा कमिसनको खेल भएको भन्ने समाचार मध्यमहरूले बाहिर ल्याएका समाचारहरूप्रति नेकपा (मसाल)को गम्भीर ध्यान अकर्षित भएको छ । उक्त विषयमा स्थिति स्पष्ट गर्न वा आवश्यकतानुसार छानवीन गर्न हामीले सरकारसित अनुरोध गर्दछौँ ।

अहिले देश महामारी र गम्भीर प्रकारको सङ्कटको मुखमा उभिएको बेलामा सरकारको कुनै पनि तहबाट जीवनका लागि परम आवश्यक स्वास्थ्यसम्बन्धी सामाग्रीमा भ्रष्टाचार र कमिशनको खेल हुन्छ भने त्यो गम्भीर प्रकारको अमानवीय र अक्षम्य कार्य हुनेछ । त्यसकारण त्यसप्रकारको कुनै पनि कारवाही हुन नदिन उच्च सतर्कता अपनाउन हामीले सरकारसित माग गर्दछौँ ।

अहिले देशमा कोरोना भाइरसका कारणले पैदा भएको असहज स्थितिबाट नाजायज फाइदा उठाएर उद्योग, व्यापारीहरूले कालोबजारी गर्न थालेका समाचार पनि व्यापक रूपमा आइरहेका छन् । देशमा गम्भीर प्रकारको सङ्कटको स्थिति उत्पन्न भएको बेलामा केही नाफा कमाउनका लागि कृतिम अभावको स्थिति पैदा गर्नु वा कालो बजारी गर्नु पनि अक्षम्य प्रकारको अपराध हो । हामीले उद्योग वाणिज्यसित सम्बन्धित संस्थाहरू वा सरकारसित पनि त्यसप्रकारको कालोबजारीमाथि नियन्त्रण गर्नका लागि अनुरोध गर्दछौँ ।

देशका विभिन्न भागमा क्बारेन्टाइनमा राखिएका व्यक्तिहरूको स्वास्थ्य जाँच वा उपचारको राम्रो व्यवस्था नभएको तथा कतिपय स्थानहरूमा ताल्चा मात्र लगाएर राखिएको समाचार पनि प्राप्त भइरहेका छन् । त्यस प्रति विशेष ध्यान दिन हामीले सरकारसित अनुरोध गर्दछौँ ।

कतिपय ठाउँहरूमा जनताले स्वास्थ्य जाँच वा क्बारेन्टाइनमा बस्न अस्वीकार गरेको, जबर्जस्ती गर्ने गरेको वा त्यहाँबाट भाग्ने गरेका समाचारहरू पनि प्राप्त भइरहेका छन् । त्यसो गर्नु स्वयं आफू र आफ्नो परिवार तथा सम्पूर्ण समाज वा देशका लागि गम्भीर सङ्कट वा महामारी निम्त्याउनु नै हुनेछ । त्यसैले त्यसप्रकारको गैरजिम्मेवार तरिका नअपनाएर कोरोना भाइरसले पैदा गरेको स्थितिमा अनुशासित भएर बस्नका लागि हामीले सम्पूर्ण जनतासित अपील गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार