कुवेतमा नेपाली प्रेमजोडीले गरे आत्महत्या

खुम रायमाझी,

कुवेत । कुवेतमा नेपाली महिला र पुरुषले एकैसाथ आत्महत्या गरेका छन् । आत्महत्या गर्ने युवक र युवतीबीच प्रेम सम्बन्ध रहेको पारिवारिक स्रोतले जनाएको छ ।

नुवाकोट घर भै हाल काठमाडौं काँडाघारी बस्दै आएका रंजित घिमिरेले गत शुक्रबार (२५ तारिख) का दिन आफू बस्ने कोठामै झुण्डिएर आत्महत्या गरेका हुन् भने त्यसको केही समयपछि सोलुखुम्बु पिङ्ला–११ घर भएकी पेसी शेर्पाले पनि आत्महत्या गरेकी छिन् ।

घिमिरेले कुवेतको स्थानीय समय अनुसार साँझ ७ बजेपछि आत्महत्या गरेको परिवारका सदस्यले बताएका छन् । शेर्पा कुवेतमा घरेलु कामदारको रुपमा फाहिल भन्ने स्थानमा कार्यरत थिइन् भने घिमिरे कुवेतको प्रतिष्ठित कम्पनी ‘अलसाया वायरहाउस अब्दुल्ला’ भन्ने स्थानमा कार्यरत थिए ।

आत्महत्या गरेको दिन प्रेमी–प्रेमिका भनिएका रंजित र पेसी शेर्पाबीच टेलीफोनमै झगडा भएको थियो । त्यसपछि उनले फर्वानियास्थित आफ्नै कोठामा डोरीले पासो लागेर आत्महत्या गरेका थिए । त्यसलगत्तै उनकी प्रेमिका पेसी शेर्पाले पनि स्पोन्सर (घर मालिक) कै घरमा पासो लगाएर आत्महत्या गरेकी हुन् ।

घटना बारे कुवेतस्थित नेपाली राजदूतावासमा सोही दिन जानकारी आएको दूतावासका द्दित्तीय सचिव श्रीकृष्ण सिलवालले जानकारी दिनु भएको छ। सिलवालका अनुसार मृतक पेसी शेर्पाको शव नेपाल पठाइसकिएको छ भने रंजित घिमिरेको शव पठाउन कम्पनीसँग समन्वय भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार