कृष्णप्रकाश श्रेष्ठको निधनप्रति नेकपा (मसाल) को श्रद्धाञ्जली

काठमाडौँ । नेकपा (मसाल) ले साहित्यकार कृष्णप्रकाश श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७७ चैत २१ गते शोकवक्तव्य जारी गर्दै पार्टीले श्रद्धाञ्जली तथा सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको हो ।

शोकवक्तव्यको पूर्ण पाठ यस्तो छ– “कृष्णप्रकाश श्रेष्ठको निधनप्रति गहिरो दुःख प्रकट गर्दै हामीले उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दछौँ । उहाँको रुसी साहित्यको नेपालमा अनुवादका लागि अद्वितीय योगदान रहेको छ । उहाँको अनुवादद्वारा नै हामीले नेपालीमा रुसी साहित्यबारे विस्तृत ज्ञान प्राप्त गरेका थियौँ ।

यो उहाँको अथक परिश्रम र साधनाको नै परिणाम हो कि नेपाली र रुसी साहित्यको बिचमा अत्यन्त नजिकको सम्बन्ध कायम हुन गयो । नेपाल र रुसका जनताका बिचमा मैत्रीसम्बन्ध बढाउन पनि उहाँको ठुलो योगदान रहेको छ । उहाँको त्यो योगदान सधैँ अविस्मरणीय रहने छ ।

उहाँ अध्ययनका लागि रुस जानुभएको थियो । त्यसपछि उहाँको पूरै जीवन त्यहीँ बित्यो । अरू पनि कैयौँ नेपाली विभिन्न पेसामा वा घरगृहस्थी गरेर जीवनभरि नै विदेशमा बस्ने गरेका छन् । त्यसपछि उनीहरूको स्वदेशसितको सम्बन्ध करिब–करिब टुटेर जाने गर्दछ । तर कृष्णप्रकाश श्रेष्ठको नेपालसितको सम्बन्ध कहिल्यै पनि टुटेन र उहाँले जीवनभरि नै नेपाली साहित्यको सेवा गरिरहनुभयो । त्यस अर्थमा विदेशमा बस्ने नेपालीमध्ये उहाँले विशेष र महत्त्वपूर्ण स्थान राख्नुहुन्छ ।

केही वर्ष पहिले म रुस जाँदा उहाँसित भेट र परिचय भएको थियो । उहा“ले मलाई मास्कोका विभिन्न स्थानको भ्रमण गराउनुका साथै कैयौँ नेपाली र कतिपय रुसी विद्वानसित पनि परिचय गराउनुभएको थियो । त्यो बेला म उहाँको घरमा पनि गएको थिएँ । त्यो बेला उहा“की श्रीमती इरिना धेरै नै सिकिस्त बिरामी हुनुहुन्थ्यो । उहाँको करिब ३ वर्ष पहिले नै मृत्यु भइसकेको रहेछ । यो कुरा पनि मलाई आजै मात्र थाहा भयो । त्यो थाहा पाएर पनि मलाई धेरै दुःख लागेको छ ।

अन्तमा, हामीले कृष्णप्रकाश श्रेष्ठमाथि पुनः श्रद्धाञ्जली प्रकट गर्दै उहाँका सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्न चाहन्छौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार