कृष्ण थापाको पुनर्वहाली र स्वघोषित क्रान्तिकारीहरु

  • शुक्र भण्डारी

गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका पूर्वसाधारण सदस्य प्रदेश सांसद कृष्ण थापाको सांसद पद पुनरवहाली हुँदा प्रतिगमनकारी र प्रतिगमनका मतियारहरू सामाजिक सञ्जालमा खुबै रमाएको, खुसी प्रकट गरेको वा राजमोविरूद्ध खुवै इख फेर्न खोजेको देखियो । कृष्ण थापालाई सर्वोच्चको पुनरवहालीको फैसलाले राष्ट्रिय जनमोर्चालाई कुनै फरक पार्दैन र त्यसलाई आश्चर्य वा अनोैठो मान्नु पर्ने कुनै कुरा पनि छैन । प्रतिगमनकारीहरू रमाउनु पनि कुनै अनोैठो कुरा भएन, उनीहरू त्यही योजनामा थिए र सर्बोच्चलाई आफ्नो प्रभावमा पारेर सिलसिलेवार रूपमा धेरै यस्ता काम गराउँदै आएका छन् त यो गरे के अनोैठो कुरा भयो ?

तर आश्चर्यको कुरा त के छ भने स्वघोषित कथित क्रान्तिकारीहरूले यसको किन समर्थन गरेका छन्, किन खुसी प्रकट गरेका छन, किन रमाइ रहेका छन्, यसबाट उनीहरूलाई के प्राप्त भएको छ, के लेनदेन प्राप्त भएको छ वा उनीहरूको कुनचाहिँ स्वार्थ पूरा भएको छ ? उपरोक्त प्रश्नहरूको जवाफ पनि भविष्यमा पक्कै पनि मिल्दै जाने नै छ ।

सांसद पद कुनै कार्यकारी पद होइन, यो पार्टीको घोषित नीति, निर्णय र निर्देशन अनुसार पार्टीको विचार वा दृष्टिकोण प्रकट गर्ने जिम्मेवारी हो । त्यसका लागि अनुकुल अबस्था नभएमा बरू बाहिरिने ठाउँ हो । सत्ताका लागि मरिहत्ते गर्नेहरूका लागि त ठिकै होला तर राष्ट्रिय जनमोर्चा जस्तो पार्टीका सदस्यका लागि सर्वोच्च गइ–गइ पद व्यूँताउनुपर्ने कुरालाई सहज र स्वभाविक मान्न सकिँदैन । यो कुराबाट राजमोले कृष्ण थापालाई पार्टीबाट निष्कासन गर्ने कुरा ठिक र जायज रहेछ भन्ने कुरा प्रमाणित भएको छ ।

राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई केन्द्रीय सदस्यसहित साधारण सदस्य समेतबाट निष्कासन गरिसकेको छ । ती पदहरू सर्वोच्चको फैसलाले व्यूँतिने कुरा पनि भएन । कुनै पनि राजनैतिक व्यक्तिका लागि सबै भन्दा ठूलो पद नै उ संलग्न पार्टीको साधारण सदस्यता हो । त्यो नै गुमिसकेको अबस्थामा अन्य जुनसुकै पदको कुनै अर्थ हुँदैन । झनै सांसद पद त पार्टीका दृष्टिमा एउटा प्राविधिक पद मात्रै हो । वडा अध्यक्ष वा पालिका अध्यक्ष यी कार्यकारी पद हुन् । यी पदमा रहनेहरूले पार्टी सदस्य नभए पनि काम गर्न सक्लान तर कृष्ण थापाले गण्डकी प्रदेश सभामा के गर्नु होला ? कस्को विचार, दृष्टिकोण, निर्णय, निर्देशनको पालना गरेर प्रस्तुत हुनु होला ? अब उहाँबाट हुन सक्ने काम हो, प्रतिगमनको मतियार पृथ्वीसुब्बा गुरूङको सत्ता जोगाइदिने र डुङडुङती गन्हाउने प्रतिगमनको कुम्लो बोकेर गाउँ गाउँ हिँड्ने ।

राष्ट्रिय जनमोर्चाले अनुशासन तथा निर्णय, निर्देशनको उल्लंघनको कारवाही गरेपछि उहाँले आफ्नो प्राकृतिक विचार प्रकट गर्नु भएको थियो त्यो थियोः गाउँमा जान्छु तरकारी खेती गर्छु, भैंसी पाल्छु तर अदालत जाँदिन । पछि उहाँ सांसद पद व्यूँताउन अदालत जानु भयो । उहाँको कथन र कार्यले किन मेल खाएन ? उहाँ कस्को योजना, निर्णय र निर्देशन बमोजिम अदालत जानु भयो ? केही त देखिएकै छन् र बाँकी पनि भविष्यमा देखिँदै जानेछन् ।

राष्ट्रिय जनमोर्चाले कांग्रेसलाई समर्थन गरेको अफवाह फैलाउने काम वडो जोडतोडका साथ भैरहेको छ । राष्ट्रिय जनमोर्चा प्रतिगमन विरोधी संयुक्त आन्दोलनमा छ । बिषयबस्तुसँग सहमत हुनेसँग संयुक्त आन्दोलन गरिन्छ र त्यो अहिलेको मात्र नोैलो कुरा पनि होइन । प्रतिगमनकारी पक्षलाई कमजोर बनाउने आन्दोलनको कार्यक्रम अनुसार नै गण्डकी प्रदेशमा एमाले सरकारलाई हटाउन खोजिएको हो । संयुक्त आन्दोलनमा भएका सबै शक्तिको त्यो साझा विषय हो यसलाई कांग्रेसलाई समर्थन गरेको भन्ने कुरै आँउदैन ।

जहाँसम्म चुनावमा एमाले संगको तालमेलबाट जितेको भन्ने प्रश्न उठाउने गरिएको छ, त्यो त एमालेको मतले राजमोले दुई सिट जित्दा, राजमोको मतले एमालेले ४ सिट जितेको छ । त्यही आधारमा के एमालेका ४ जना सांसद राजमोको नीति अनुसार चल्छन ? यो त केटाकेटी तर्क भयो । चुनावमा कार्यगत एकता भयो, चुनाव सकियो त्यो पनि सकियो । फेरि चुनावमा सहकार्य गर्ने शक्ति आधा भन्दा धेरै माधव नेपाल पक्ष र माओवादी केन्द्रसँग त अहिलेको प्रतिगमन विरोधि आन्दोलनमा त सँगै छोैँ त । यो कृष्ण थापा वा प्रतिगमनकारी वा कथित क्रान्तिकारीहरूको प्रतिगमनलाई सहयोग पुर्‍याउने रणनीति भन्दा अरू केही हुन सक्दैन । तर एउटा कुरा के निश्चित छ भने हरेक आरोह, अबरोहका बिचबाट प्रतिगमनका विरूद्धको आन्दोलन अगाडि बढ्छ र प्रतिगमनलाई परास्त गरि छाड्छ ।

(सामाजिक सञ्जालबाट । भण्डारी प्रगतिशील पत्रकार संघ,नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार