कोभिड– १९ बाट सृजित भयावह अवस्था र अमेरिकाको ६ कमजोरीहरु

  • महेन्द्र बस्याल

अहिले संसारमा सबै भन्दा धेरै कोभिड–१९ बाट संक्रमित र मृतक मानिसहरु अमेरिकामा रहेका छन् । ताजा जानाकारी अनुसार संक्रमित ५ लाख ६१ हजार भन्दा बढी छन् भने मृत्यु हुनेहरु २२ हजार १ सय भन्दा बढी पुगिसकेका छन् । यसप्रकारले अमेरिकामा किन कोभिड–१९ को संक्रमण तिब्र गतिमा फैलिरहेको छ ? किन अमेरिकाले समयमै रोकथामका उपायहरु अपनाउन सकेन वा अवसरहरु हुँदाहुँदै पनि वेवास्ता गर्यो ? यी यावत कुराहरुले आज विश्वभरका मानिसहरुलाई उद्वेलित बनाइरहेको छ । आज हामीले कोरोना भाइरस रोकथाममा अमेरिका कहाँनेर चुक्यो ? के कस्ता प्रकारका कमजोरीका कारण अहिले अमेरिकामा कोरोना भाइरस उच्च रफ्तारमा फैलीदो छ ? आदि विषयमा चर्चा गर्ने छौं ।

ट्रंप प्रशासनले कोरोना भाइरसको महामारीसँग लड्नका लागि अधिक शैया भएका हस्पिटल, क्वारंटीनमा राख्ने ब्यवस्था, ब्यापक चेकजाँचको ब्यवस्था, ब्यापक आपतकालिन मेडीकल आपूर्ति लगायतका बिषयमा कुनै तयारी गर्न ध्यान पुराउन सकेन । उल्टै ओवामा सरकारले तयार गरेका कतिपय संरचना समेत ध्वस्त पार्ने काम गर्यो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप आफु चीनसँग धेरै नै बेखुसी रहेको कुरा मिडिया अथावा टुइट मार्फत आक्रोस ब्यक्त गर्ने गरेका थिए । किन भने चीन प्रशासनले आफ्नो देशमा फैलिएको कोरोना भाइरसको ठिकसँग जानकारी दिएको थिएन । अमेरिकनहरूको यो मत छ कि– “यदि चीनले शुरुमै सबै राष्ट्रलाई सावधानी अपनाउन जानकारी दिएको भए यति धेरै विश्व ब्यापी महामारीको रूपमा फैलिने थिएन” यदि चीनले कोरोना भाइरसको बारेमा पहिलै बताएको भए ता पनि ट्रंपले सिरियस्ली लिने थियो भन्ने कुनै ग्यारेन्टी थिएन । धेरै जसो अमेरिकनहरुको यो बुजाइ छ कि राष्ट्रपति ट्रंप प्रशासनले आफ्ना गल्तिहरू ढाकछोप गर्नका लागि चीन माथी दोषारोपण गर्न कोशिस गरिरहेको छ, तर यसको मतलव चीन ठिक छ भन्ने हैन । आज जब अमेरिका कोरोना भाइरसको सबै भन्दा ठूलो केन्द्र बिन्दु बन्न पुग्यो तब थाहा लाग्यो कि संसारको सबै भन्दा बिकशित, सक्षम तथा महाशक्ति राष्ट्र पनि किन पछि परिरहेको छ । यसको मतलब हो कि, अमेरिकाले समय अनुसार कोरोना भाइरस संक्रमण रोकथामको लागि सहि कदम चाल्न सकेन ।

ट्रंप प्रशासनको प्रथम गल्ति : 

सन् २०१८ मा राष्ट्रिय सुरक्षा परिषदको ग्लोबल हेल्थ सेक्युरिटी टिमको बिघटन गर्नु गल्ति भएको छ । यसले कोरोनाको बारेमा ब्यापक अध्ययन गर्नुका साथै समयमै रोकथामको लागि पूर्व तयारी गर्न सहयोग गर्ने थियो । अमेरिकन खुफिया एजेंसीले केही समय पहिला जानकारी पनि दिएका थिए कि भविष्यमा फ्लुबाट ठूले धनजनको क्षति हुन सक्ने छ । पूर्व जानकारी दिंदादिंदै पनि नत ट्रंप प्रशासनले होशियारी अपनाउन सक्यो, नत ग्लोवल हेल्थ सेक्युरीटीको पुनर्गठन गर्नमा नै ध्यान दियो ।

ट्रंप प्रशासनको द्वितीय गल्ति :

जनवरी २०२० मा चीनबाट अन्य देशमा कोरोना भाइरस फैलिन थालेको कुरा जानकारीमा आइरहेको थियो तर ट्रंप प्रशासनले उक्त परिस्थितिलाई गंभीरतापूर्वक लिन सकेन । बरु उल्टै कोरोना भाइरसको अवस्था पूर्णरूपमा कन्ट्रोल भएको झूठो जानकारी दियो । ट्रंपले २४ जनवरीमा ट्वीट गर्दै भनेका थिए– “चीन कोरोना भाइरसलाई कावुमा राख्नको लागि निकै मेहनत गरेको छ । अमेरिका चीनको कोशिसको तथा पारदर्शिताको प्रशंसा गर्दछ” भनेर बढो महान बन्ने कोशिस गरेका थिए, किन भने त्यति वेलासम्म उनको देशले पिडा भोगेको थिएन । सिंगापुर, ताइवान र हङकङ जस्ता देशले चीनमा भाइरस फैलिएको थाहा पाउँदा वित्तिकै होशियारी पूर्वक रोकथामको लागि तयारी गरे तर अमेरिकाले कोरोना भाइरस बारे नत कुनै योजना बनायो न कुनै जनचेतना । अमेरिकामा मानिसहरूलाई कोरोना भाइरसका कारण उत्पन्न जटिलताको बारेमा जानकारी नै थिएन । उनीहरू सडक, महल, समुन्द्रिक तट, रेल तथा हवाइ यात्रा, कार्यालय, होटल, स्कूल–कलेज, सिनेमा तथा सभागारमा मानिसहरू जस्न मनाइरहेका थिए । यस्तो प्रशासनिक अनबिज्ञतालाई देखेर अमेरिकाको प्रसिद्ध अनलाइन खबर एमएसएनबीसीले लेखेको थियो– “ट्रम्प प्रशासनले कोरोना भाइरससँग जुध्न प्रयाप्त समयलाई सदुपयोग गर्न सकेन जसका कारण ठूलो मूल्य चुकाउनु परेको छ ।”

केही दिन अगाडि लण्डनमा अवस्थित इम्पीरियल कलेजले आफ्नो एक रिपोर्ट प्रकाशित गरि चेतावनी दिंदै लेखेको थियो– “यदि प्रशासनले घातक कोरोना भाइरसको बारेमा गंभिरता पूर्वक नलिने हो भने ब्रिटेनमा करिव ५ लाख र अमेरिकामा करिव २२ लाख जति मानिसहरूले जीवन गुमाउनु पर्ने छ । यदि तुरुन्तै सावधानी अपनाउने हो भने कमसेकम आधा जति मृत्यु संख्या घटाउन सकिने छ ।” उक्त रिपोर्ट पछि मात्र अमेरिकी ट्रंप प्रशासनको होस् उड्यो र कोरोना भाइरसका बारे रोकथामका उपायहरू अपनाउने तयारीको तत्प्रता देखाउन थाल्यो ।

ट्रंप प्रशासनको तृतीय गल्ती : 

अमेरिकाले चीनबाट आउने जाने मानिसहरूलाई रोक फरवरीको पहिलो हप्तादेखि लगाएको थियो, त्यो पनि सिमित रूपमा । तर त्यती बेला धेरै ढिला भैसकेको थियो । अमेरिकाको स्वास्थ्य बिशेषज्ञ राँन क्लेनका अनुसार जनवरीदेखि फरवरीको पहिलो हप्तासम्म चीनबाट करिव ३ लाख ५० हजार मानिसहरू अमेरिका प्रवेश गरिसकेका थिए । २४ जनवरीको चीनबाट आएका २ जनालाई कोरोना संक्रमण भएको पुष्टी पनि भैसकेको थियो ।

ट्रंप प्रशासनको चौथो गल्ति :

कोरोना भाइरसका संदिग्ध ब्यक्तिहरूलाई ब्यापक रूपमा चेकजाँच नगराउनु चौथो गल्ति थियो । अहिले ताइवान, हंङकङ, दक्षिण कोरिया, जापान र सिंगापुरले कोरोना भाइरसको प्रभावलाई बढ्न दिएनन् । यसका तीन कारण छन् ः यस भाइरसका प्रारम्भिक संक्रमण देखिंदा बित्तिकै सशक्त रूपमा प्रतिक्रिया जनाउनु, धेरै भन्दा धेरै मानिसमा चेकजांच गर्नु र लकडाउन अथवा सामाजिक दूरी कायम गर्नु । अमेरिकाले यी सबै महत्वपूर्ण काम गर्न धेरै ढिला गर्यो । २६ फरवरीको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले भनेका थिए– “हाम्रो सरकारले जे जति गरेको छ, जसले गर्दा अमेरिकी जनता कम जोखिममा छन् । हामीसँग अहिले १५ जना कोरोनाका विरामी छन्, त्यो पनि केही दिनमा शून्यमा आउने छ” भनि हचुवाका भरमा बोलिरहेका थिए ।

ट्रंप प्रशासनको पाँचौं गल्ति : 

प्रशासनले देशमा महामारीसँग लड्नका लागि अधिक क्षमता भएका हस्पिटल, क्वारीन्टाइनको लागि उचित ब्यवस्था, ब्यापक रूपमा चेकजाँचको ब्यबस्था, ब्यापक आपतकालिन मेडीकल आपूर्ती जस्ता महत्वपूर्ण बिषयमा गम्भिरता पूर्वक तयारी गर्न सकेन । अमेरिकनहरूको भनाइ अनुसार ओवामा सरकारले तयार गरेका सबै संरचना वर्तमान सरकारले ध्वस्त पारेको थियो । अब यो ठूलो संरचाना निर्माण गर्न पनि त्यती सजिलो छैन, अर्कोतिर आवश्यक सुविधा बिना बिरामीको उपचार पनि सम्भव हुँदैन ।

ट्रंप प्रशासनको छैठौं गल्ति :

कोरोना भाइरसको जाँच गर्ने किट्स जर्मनीमा बनेको थियो । विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त उक्त किट्स अमेरिकाले नकिन्ने निर्णय गर्यो । अन्य देशले उक्त किट्स किनेर चेकजाँच शुरू गरे तर अमेरिकी साम्राज्यवादको आफ्नै घमण्डका कारण उस कै देशमा कोरोना जाँच प्रक्रिया ढिला हुन पुग्यो, अमेरिकामा सहि ढंगबाट कोरोना जाँच हुन सकेन । विश्व स्तरमा त्यो किट्सको ठूलो डिमाण्ड भयो ।

आश्चर्यको कुरा त यो छ कि, संसारको महाशक्ति राष्ट्र अमेरिका आज भिषण महामारीको वैश्विक केन्द्र बिन्दु हुन पुग्यो । यसले लाखौं अमेरिकी जनताका जीवन खतरामा त परेको छ नै भावी चुनावमा डोनाल्ड ट्रंपको कुर्ची रहन्छ वा रहँदैन भन्ने पनि अनिश्चित बनेको छ ।

कोभिड– १९ द्वारा भयावह अवस्थामा पुगेको अमेरिकी साम्राज्यवादको असली रुप कस्तो थियो भन्ने बारेमा सामन्था विनोग्राड सीएनएनकी राष्ट्रिय सुरक्षा विश्लेषकले लेखेकी छन– “अहिले भाइरसको रोकथाम, संक्रमितको उपचार र आवश्यक स्वास्थ्य उपकरणको जोहो मै अमेरिका संघर्षरत छ, भाइरस नियन्त्रण भइसकेको दाबी गर्ने चीन स्वास्थ उपकरण तथा अन्य सामाग्री उत्पादनमा केन्द्रीत छ । केही महिनाको लकडाउन पछि, चीनले आफ्नो आर्थिक रिक्तता पूर्ति गर्दै बाउन्स ब्याक गर्न सक्छ, हामी भाइरस रोक्न कै लागि उफ्रिरहेका हुनेछौं । उनीहरुसँग रणनीति छ, हामीसँग छैन । उनीहरुको विदेश नीतिको प्रभाव आज जस्तो छ, त्यस्तो आधुनिक इतिहासमा यसअघि थिएन । यो उनीहरुले देखाइसकेका पनि छन् । अमेरिकी तथा चिनियाँ अधिकारी बीचको शब्दको युद्ध पछिल्ला केही दिनदेखि मत्थर भएको छ । विदेशमन्त्री पोम्पेओले संकटबारे चिनियाँलाई दोष लगाउनु गलत थिएन । तर पोम्पेओ र राष्ट्रपतिले यस भाइरसलाई ‘चिनियाँ भाइरस’ वा ‘उहान भाइरस’ भन्नु धेरै अर्थमा गलत हो । जनवरीमा भाइरस नियन्त्रणका लागि चीनले गरेका प्रयासको तारिफ गर्ने ट्रम्पले अहिले यस्तो अभिव्यक्ती दिंदा एशियन–अमेरिकी माथिको रंगभेदी आक्रमणमा अनावश्यक घ्यू मात्र थपिएको छैन, बरु बाँकी विश्वलाई समेत मिश्रित सन्देश मिलेको छ । यसलाई मात खुवाउने गरी जी ७ राष्ट्रको संयुक्त विज्ञप्ति जारी गर्ने सिलसिलामा अमेरिकाले ‘उहान भाइरस’ नाम राख्नु पर्ने जिद्दी गर्यो, तर अन्य देशहरू सहमत भएनन् । जसले गर्दा विज्ञप्ती नै निस्किएन । यसरी, एकताको वास्तविक खाँचो पर्दा हामीले आफ्नो समूह वा मित्रतालाई अंगभंग बनायौं ।”

यसले के देखाउँछ भने अमेरिकी साम्राज्यवादको दम्भ र घमण्ड भित्रको खोक्रोपन झन पछि झन उदाङ्गो हुँदै गएको छ । उनी अगाडि लेख्छिन्– “अब अमेरिकी जनताको जीवन स्वास्थ उपकरण पठाउन चिनियाँ कम्युनिष्ट पार्टीले दिने स्वीकृतीमा निर्भर छ, त्यसैले शब्दको युद्ध मत्थर भइसक्यो । थाहा छैन, चीनले यसको बदलामा ट्रम्प प्रशासनसँग के लिनसक्छ । तर, यो चाहिं छर्लङ्गै छ ट्रम्प प्रशासनको गम्भीर चाहना अमेरिकी जनताको ज्यान जोगाउनु हो भन्ने चीनले बुझेको छ र आफ्नो लक्ष्य हासिल गर्नका लागि अमेरिकाले कम्युनिष्ट पार्टीलाई खुसी बनाइराख्नु पर्ने आवश्यकता छ ।” यसले के देखाउँछ भने चीन अब विश्वको शक्तिशाली देश बन्न पुगेको छ र यो भाइरसले निम्त्याएको विषम परिस्थितिमा मृत्युसँग लडिरहेका अमेरिकी जनताका जीवन चीनको हातमा निहित बन्न पुगेको छ ।

एक मिडियाले त १० दिनमा निर्माण भएको चिनियाँ अस्पताललाई हिटलरको ‘अटोवान’ निर्माणसँग तुलना गर्यो र, जब चिनियाँ सरकारले संक्रमित व्यक्तिलाई परिवारबाट अलग्याउन क्वारेन्टाइन आवास प्रयोग सुरु गर्यो, पश्चिममा तीनलाई राज्यआतंकका रूपमा चित्रित गरिंदै थियो, तर अहिले प्रकोपको विनाशकारी मोडबाट बाहिरिएर चीनले आफ्नो अनुभवलाई उदाहरणीय रूपमा प्रस्तुत गर्न थालेको छ । उसले अहिले अमेरिका, इरान र इटलीलाई चिकित्सकीय सामग्री तथा अन्य सुझाब दिएर सहयोग दिन सुरु गरेको छ ।

(लेखकः मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार