कोरोनाको त्राससँगै अत्यावश्यक वस्तुको अभावः सरकार–व्यावसायी छलफल

काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गठन गरेको उच्च स्तरीय समितिले मंगलबार सरोकारवालासँग छलफल गरेको छ । नेपालमा कोरोनाको संक्रमण अहिलेसम्म नदेखिएपनि अत्यावश्यक वस्तुहरुको सहज र नियमित आपूर्तिका विषयमा छलफल गर्न विभिन्न मन्त्रालय र सरोकारवालासँग छलफल गरेको हो ।

उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा अर्थमन्त्री युजराज खतिवडा, उद्योग वणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलगायतको सहभागिता रहेको थियो । यस्तै, बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल परिसंघका पदाधिकारीहरु समेत सहभागि थिए ।

बैठकमा औषधि एवं अत्यावश्यक वस्तुहरुको सहज र नियमित आपूर्ति व्यवस्थापनका विषयमा छलफल भएको छ । छलफलमा औषधि व्यवसायीहरुको पनि सहभागिता रहेको थियो । कोरोनाको संत्रास फैलिएसँगै बजारमा खाद्यान्न तथा औषधिको अभाव देखिन थालेको छ भने ग्यास पसलमा लामो लाइन लाग्न थालेको छ ।

सरकारले भने बजारमा अत्यावश्यक सामानको अभाव नभएको दाबी गर्दै आएको छ । सरकारले सामान लुकाएर कृत्रिम अभाव देखाए वा बढी मूल्य लिएर कालोबजारी गरेको भेटिए कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार