कोरोना भाइरसः घातक विषाणु आउन नदिन उत्तर कोरिया ‘सफल’ भएको किम जङ-अनको दाबी

उत्तर कोरियाली नेता किम जङ-अनले कोभिड-१९ विरुद्ध आफ्नो देशले प्राप्त गरेको ‘सफलता’ को प्रशंसा गरेको राज्य नियन्त्रित समाचारसंस्था केसीएनएले जनाएको छ।

पार्टीको पोलिटब्यूरो बैठकमा बोल्दै किमले उत्तर कोरियाले “घातक भाइरसको प्रवाहलाई रोक्न सकेको र स्थिर अवस्था कायम गरेको” बताएका हुन्।

कोरोनाभाइरस संसारभरि फैलिरहेको बेला छ महिनाअघि उत्तर कोरियाले आफ्नो सीमा बन्द गर्दै हजारौँ मानिसलाई क्वारन्टीनमा राखेको थियो।

उत्तर कोरियाले आफ्नो देशमा कोरोनाभाइरस सङ्क्रमण नभएको दाबी गरेको छ। तर विश्लेषकहरू यो असम्भव भएको मान्छन्।

किमले बिहीवार पोलिटब्यूरो बैठकमा “महामारीविरुद्धको छ महिना लामो राष्ट्रिय सङ्कटकालीन कामको विस्तृत विश्लेषण” गरेको बताइएको छ।

उनले “पार्टीको केन्द्रीय समितिको दूरदर्शी नेतृत्वले” कोरोनाभाइरसलाई नियन्त्रण गर्न सफल भएको बताएको उल्लेख गरिएको छ।

तर उनले छिमेकी देशहरूमा भाइरस अझै रहेको बताउँदै “महामारीविरुद्धको कार्यमा आराम नगरी सतर्कता” कायम गर्नुपर्नेमा जोड दिएका छन्।

“उनले दोहोर्‍याएर अहिलेको अवस्थामा त्रुटि भएमा महामारीले अकल्पनीय र अपूरणीय सङ्कट निम्त्याउने बताए,” केसीएनएले लेखेको छ।

बीबीसीको सोल संवाददाता लउरा बिकरले उत्तर कोरिया ज्यानुअरी ३० देखि बन्द रहेको अवस्थामा कोरोनाभाइरस फैलिएको वा नफैलिएको कसैलाई थाहा हुन नसकेको बताएकी छन्।

सङ्क्रमणका केही अपुष्ट विवरणहरू प्राप्त भएको भए पनि राजधानीको जीवनको बारेमा बाहिर आएका जानकारीहरूमा त्यहाँको जनजीवन सामान्य रहेको बिकरले बताइन्।

ज्यानुअरीको अन्त्यदेखि उत्तर कोरियाले सबै सीमा बन्द गर्दै राजधानीमा सयौँ विदेशीलाई क्वारन्टीनमा राखेको थियो।

दशौँ हजार उत्तर कोरियाली नागरिकलाई पनि एकान्तवासमा राख्दै त्यहाँ विद्यालयहरू बन्द गरिएको थियो।

उत्तर कोरियाले अहिले विद्यालयहरू खोलेको भए पनि सार्वजनिक भेलाहरूमा प्रतिबन्ध कायम राख्दै सार्वजनिक स्थलमा मास्क अनिवार्य गरेको बुधवार रोएटर्स समाचारसंस्थालाई विश्व स्वास्थ्य सङ्गठनका अधिकारीले बताएका थिए।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार त्यहाँ हालसम्म ९२२ जनालाई परीक्षण गरिएको तर कसैमा पनि सङ्क्रमण नदेखिएको बताएको छ।

चीनसँग लामो सीमा भएको उत्तर कोरियाले अहिलेसम्म एउटा पनि सङ्क्रमण नदेखिएको बताउँदै आएको छ।

तर एनके न्यूज नामक वेबसाइटका प्रबन्ध सम्पादक ओलिभर होथामले बीबीसीलाई केही महिनाअगाडि त्यो सत्य नभएको हुनसक्ने बताएका थिए।

विविसीबाट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार