कोरोना भाइरसबाट गम्भीर बनौं : चित्र बहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले खुला सीमाबाट भारतमा काम गर्ने नेपाली सोझै बस्ती प्रवेश गरे नेपालका गाउँ–गाउँ कोरोना भाइरसबाट संक्रमित हुने चेतावनी दिनुभएको छ ।

सोमबार एक वक्तव्य प्रकासित गरी अध्यक्ष केसीले नेपालमा कोरोना भित्रिएको तर फैलिइनसेको अवस्थामा अझै गम्भीर बनेर यसको नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

विकसित देशहरुलाई समेत हम्मे हम्मे परेको अवस्थामा नेपालमा कोरोना फैलिएमा त्यसले अकल्पनीय अवस्था निम्त्याउन सक्ने भन्दै लकडाउनको पूर्ण पालना गर्न, संक्रमित र आशंका गरिएका व्यक्तिहरुको उपचारमा ध्यान दिन तथा क्वारेन्टिनको उचित व्यवस्था गर्न पनि आग्रह गर्नुभएको छ ।

यस्तै, केसीले दैनिक गुजारा चलाउन नसक्ने अवस्थाका व्यक्तिहरुको खानपिनको व्यवस्था मिलाउन पनि सरकारसँग माग गर्नुभएको छ । उहाँले संकटको बेला अनियमिमता गर्नेमाथि कडा कारबाही गर्न पनि माग गर्नुभएको छ ।

यस्तो छ, वक्तव्य
कोरोना भाइसर संक्रमणको भयका कारणले देश लकडाउन .(बन्द अवस्था) मा छ । सरकारले यो लकडाउन आगामी चैत्र २५ गतेसम्म बढाएको छ । कोरोना भाइसरको अहिलेसम्म औषधि पत्ता नलागेको र स्वास्थ्यसम्बन्धी अस्पताल, डाक्टर औषधि एवं स्वास्थ्यसम्बन्धी प्रविधिमा हामी सक्षम नभएको स्थितिमा कोरोना भाइरसको महामारीलाई रोक्न लकडाउन नै उपयुक्त तरिका हो । यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्दछ । यसबाट जनतालाई धेरै नै समस्या परेको छ । तैपनि तत्काल यो बाहेक अर्को प्रभावकारी उपाय हामीसँग छैन ।

कोरोना भाइरस विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको छ । चीन, इटली हुँदै यो अमेरिकामा व्यापक फैलिएको छ । विकसित देशहरु समेत यसरी यो महामारको चपेटामा परेको स्थितिमा हाम्रो जस्तो अविकसित देशमा यो फैलियो भने कति भयानक स्थिति हुनेछ ? त्यसबारे हामीले अनुमान गर्न सक्दछौँ । नेपालमा विदेशबाट आएकाहरुबाट कोरोना भाइरस भित्रिइसकेको छ । तर, फैलिइसकेको छैन । विदेशमा र विशेषगरी भारतमा ठूलो संख्यामा नेपालीहरु रोजगारीको लागि गएका छन् । नेपाल–भारतका सीमा खुला छन् ।

यदि तिनीहरु सोझै गाउँ–बस्तीमा प्रवेश गर्ने हो भने हाम्रो गाउँबस्ती पुरै संक्रमित हुन सक्दछन् । त्यसो हुन नदिन उनीहरुलाई क्वारेन्टाइनमा बस्ने उचित व्यवस्था मिलाउन पर्छ । हाम्रो लागि अहिले रोकथाम नै सही उपाय हो । त्यसको लागि सरकार, स्वास्थ्यसँग सम्बन्धित निकाय, सुरक्षा निकाय र जनता समेतको एकता र प्रभावकारी परिचालनको आवश्यकता छ ।

सरकारले केही राहत उपलब्ध गराउने कार्यक्रमको घोषणा गरेको छ । चीनले औषधि र त्यससम्बन्धी सामग्रीहरु सहयोगस्वरुप पठाएको छ । ती दुवै कुराको हामीले स्वागत गर्दछौँ । तर, सरकारले उपलब्ध गराउने राहत विशेषगरी गरीब वर्गमा नपुग्न सक्छ । त्यसमा सम्बन्धित सबैको ध्यान जानु पर्छ । कोरोनाको उपचार तथा रोकथाम सम्बन्धी सामग्रीहरु खरिदमा भ्रष्टाचार भएको भन्ने समाचारहरु आएका छन् ।

यदि त्यसप्रकारको भ्रष्टाचार भएको हो भने त्यो अत्यन्त अमानवीय र अक्षम्य कुरा हो । त्यसबारे सरकारले तत्काल छानवीनगरी कारबाही गर्नु पर्छ । दैनिक उपभोग्य वस्तुहरुमा कालाबजारी भएको र पछिल्लो समयमा चोरीका घटनाहरु भएका समाचारहरु पनि आएका छन् । आपत र संकटको बेलामा नै त्यसप्रकारका तत्वहरु सक्रिय हुन्छन् । तिनको रोकथामका लागि पनि सरकारले विशेष ध्यान पुराउन जरुरी छ ।

निजी अस्पतालहरुले संक्रमित भएको आशंकामा नै बिरामीको उपचार नगर्ने वा त्यससम्बन्धी कार्यमा जनताको सेवाबाट पन्छिने गम्भीर कुरा हो । डाक्टर, नर्स वा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरु आफ्नो कर्तव्यबाट पलायन हुने कुरा सही होइन । उनीहरुलाई सुरक्षित वातावरण र आवश्यक सामग्री सहित आफ्नो कार्यमा उच्च मनोवलका साथ खट्ने व्यवस्था मिलाउन पर्दछ ।

अहिले हाम्रो ध्यान कोरोना रोकथाममा नै छ । यो रोकथामबाटै समाधान नहुन सक्छ । उपचारको लागि आधारभूत कुराको व्यवस्था मिलाउन सरकारले ध्यान दिनु पर्दछ । कोरोनाको संक्रमण विश्वव्यापी समस्या हो । यसको लागि सरकार, सार्क, संयुक्त राष्ट्र संघ लगायतले स्थापना गरेका कोषहरु समेतको सहयोग लिई प्रभावकारी कदम चाल्न पर्छ । यो महामारीको असर स्वास्थ्य क्षेत्रमा मात्र होइन, आर्थिक, सामाजिक क्षेत्रमा समेत पर्ने छ । त्यसबाट उत्पन्न स्थितिको समाधानको लागि पनि अहिलेदेखि ध्यान पुराउनु पर्दछ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार