क्यान्सर विरुद्ध सर्भाइबर मिट–२०२० सम्पन्न

काठमाडौँ । क्यान्सर रोगको विरुद्ध सचेतना फैलाउने उद्देश्यले सर्भाइबर मिट–२०२० कार्यक्रम सम्पन्न भएको छ । क्यान्सर रोग विजेताको सामाजिक संस्था नेपाल क्यान्सर सर्भाइबर सोसाइटीको आयोजनामा २०७७ असोज २४ गते भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन कार्यक्रममा उपस्थित सबैले सामूहिक रूपमा राष्ट्रियगान गाएर गरिएको थियो । संस्थाकी अध्यक्ष प्रमिता खनालको स्वागत मन्तव्यबाट अघि बढेको उक्त कार्यक्रममा विशेषज्ञ डाक्टरहरूले सहभागीबाट उठेका जिज्ञासाको जवाफ दिनुभएको थियो ।

कार्यक्रममा डा. कपेन्द्र शाक्य अमात्यले क्यान्सरसित डराउने होइन, सर्तक हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले क्यान्सरको उपचारका लागि डाक्टरको मात्र नभएर परिवारको पनि त्यत्तिकै सहयोग र समर्थनको आवश्यकता रहेको स्पष्ट पार्नुभयो ।

डा. सूजिता हिराचनले क्यान्सर भन्दाबित्तिकै डराउने रोग नभएको बताउनुभयो । उहाँले क्यान्सरपीडितले आफूभित्रको हौसला कायम राखेर र सयममै यसको उपचार गरेर यस रोगको निदान सम्भव हुने बताउनुभयो ।

डा. प्रफुल्ल शाक्यले अहिलेको परिस्थितिमा क्यान्सर लागेका महिलाको स्तनलाई पनि सुरक्षित राखेर उपचार गर्न सकिने प्रविधि विकसित भइसकेको बताउनुभयो । उहाँले स्तन क्यान्सरपीडितसित हौसला राख्नका लागि अनुरोध गर्नुभयो ।

डा. अरुण शाहीले मानिसका कोषिकाहरू अनिन्यत्रित भएर विभाजित हुनु नै क्यान्सर रोग भएको जानकारी दिनुभयो । ब्रेस्ट (स्तन) का कोषहरू त्यसरी नै विभाजित हुनु नै ब्रेस्ट क्यान्सर भएको बताउँदै उहाँले यो क्षेत्रमा धेरै नै अध्ययन–अनुसन्धान भइसकेकाले रोग लाग्दासाथ डराउनुपर्ने आवश्यकता नरहेको दावी गर्नुभयो ।

कार्यक्रममा योगप्रेमी परिवार नेपालका खेतराज मैनालीले पनि मन्तव्य राख्नुभएको थियो ।

शोभा र रुबी क्षेत्रीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा बिनु केसीले सचेतनामूलक कविता र स्मीता घिमिरेले गीत गाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार