खुफिया एजेन्सीका मान्छे बालुवाटारमा पसेदेखि अवस्था जटिल : मनोज भट्ट

काठमाडौं । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले भारतीय खुफिया एजेन्सी रअ का मान्छेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा स्वागत गरेदेखि देशको राजनीतिक अवस्था जटिल भएको बताउनुभएको छ ।

विपक्षी पाँच दलले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भारतीय खुफियाको सल्लाहमा प्रधानमन्त्री चल्न थालेदेखि नै दुई तिहाईको सरकार र बलियो पार्टी ‘नेकपा’ लाई तहसनहस बनाएको भन्दै अब लोकतन्त्र र राष्ट्रियतामाथि सौदाबाजी गरिरहेको आरोप लगाउनुभयो ।

उहाँले गत वर्ष कात्तिक महिनामा भारतीय खुफिया एजेन्सी रअका प्रमुख नेपाल आएपछि देखि नै नेपालमा गम्भीर घटनाहरू भइरहेको दाबी गर्नुभयो । भारतीयहरूले नेपालमा ‘मिलेर सरकार’ चलाउन दिएका अभिव्यक्ति शंकास्पद भएको बताउनुभयो ।

‘गत साल कात्तिकमा भारतीय खुफियाका मान्छे आएपछि यहाँ गम्भीर घटना देखा परे। दुई तिहाइको सरकार खत्तम हुने, ठूलो दल टुक्रिने अवस्था आउनु समान्य घटना होइन’ भट्टले भन्नुभयो, ‘कतिपय भारतीयहरूले नै खुलम् खुला भनेकै छन्, यहाँ मिलेर सरकार चलाउने भनेर।’
प्रधानमन्त्री केपी ओली र राजावादीहरू अहिले एक ठाउँमा उभिएको बताएका उहाँले बताउनुभयो । प्रतिगामी शक्तिहरू एक ठाउँमा उभिएर संविधान विरोधी षड्यन्त्र गरिरहेको दाबी गर्दै भट्टले त्यस्तो षडयन्त्र पुरा हुन नदिने दृढता व्यक्त गर्नुभयो ।

महासचिव भट्टले यो षड्यन्त्रका विरुद्ध विपक्षी दलहरू एक ठाउँमा उभिनुको विकल्प नभएको भन्दै अब एक ठाउँमा उभिन थालिसकेको बताउनु भयो।

‘अहिले हामी प्रतिगमनमा फसिसक्यौं। त्यसैले अब सबै आन्दोनकारी शक्ति एक ठाउँमा उभिनुको विकल्प छैन। हामी उभिन थालेका छौं, प्रतिगमन ढल्छ नै’ भट्टले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती स्वीकार गरी राजीनामा दिए उनलाई स्वीकार्न सकिने बताउनुभयो ।

यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधानविरोधी, जनविरोधी काम गरेपनि ओली नै प्रधानमन्त्री रहिरहनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार