गजल : जिन्दगानी बोकेर

सुरेशकुमार पाण्डे

पिठ्युँमा भारी र काखमा नानी बोकेर,
बिताए आमाहरुले जिन्दगानी बोकेर ।

बिहान ढिकि झाँतो र घाँस दाउरा गर्दै,
पाल्छन नगरि कुनै आनाकानी बोकेर ।

नाङ्गा खुट्टा पसिनामै आफु भिजेर पनि,
सम्हाले आफ्नै प्राण जस्तै ठानी बोकेर ।

बाबाले दिन नसकेको स्नेह दिने गर्छन्,
बच्चाहरुकै लागि बिताए जवानी बोकेर ।

भन्नै सकिदैन आमाको त्यो त्यागि शब्द,
गए धर्तिबाट बलिदानकै कहानी बोकेर ।

कसरि पुरा गर्छौ त्यो अभिभारा बच्चाले,
कयौँ जुनि बिताए त्यो मेहरवानी बोकेर ।

आजको दिनमा मात्रै होईन सदैलाई बन,
छोरा छोरी नहिँडनु यस्तो नादानी बोकेर ।

२३ अप्रेल २०२०

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार