गणतन्त्रको रक्षा तथा संघीयता खारेजीको माग गर्दै मंसिर २५ गते देशब्यापी विरोध सभा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले ‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौँ, संघीयता र भ्रष्टाचारको विरोध गरौँ’ भन्ने नाराका देशब्यापी विरोध कार्यक्रमको घोषणा गरेको छ ।

घोषित कार्यक्रम अनुसार यही मंसिर २५ गते देशब्यापी विरोधसभा, जुलुश, कोणसभालगायतका कार्यक्रम गरिनेछ भने मंसिर २६ देखि पुष १० गतेसम्म पालिकास्तरमा विभिन्न दबाबमुलक कार्यक्रमहरु आयोजना गरिनेछ ।

आइतबार महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य प्रकाशित गरी गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा तथा संघीयता भ्रष्टाचारका विरुद्धको कार्यक्रमले जनतामा जागरण ल्याउने विश्वास गर्दै सहयोगका लागि अपिल पनि गर्नुभएको छ ।

वक्तव्यमा भनिएको छः

१. ने.क.पा.(मसाल)को आजै बसेको बैठकले ‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौँ, संघीयता र भ्रष्टाचारको विरोध गरौँ’ भन्ने नाराका आधारमा यही मंसिर २५ गते देशव्यापी रुपमा प्रत्यक्ष रुपमा सभा, जुलुस वा कोण सभाहरु गर्ने निर्णय गरेको छ ।

२. त्यो कार्यक्रम अन्तर्गत मंसिर २६ गते देखि पौष १० गते सम्म विभिन्न जिल्ला वा पालिका स्तरमा पनि त्यही प्रकारका कार्यक्रमहरुको आयोजना गरिनेछ । प्रत्यक्ष रुपमा उक्त कार्यक्रमहरु संचालन गर्नुका साथै जुम माध्यमद्वारा पनि विभिन्न मोर्चा वा जनसंगठनहरुले विभिन्न स्तरमा सभा, अन्तरक्रिया कार्यक्रम आदिको आयोजना गर्ने प्रयत्न गर्नेछन् ।

३. हाम्रो उक्त कार्यक्रमको उद्देश्य “गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको पक्षमा तथा प्रतिगमनको खतरा वा संघीयता र भ्रष्टाचारका विरुद्ध व्यापक जनजागरण ल्याउनु नै हुनेछ । उक्त कार्यक्रमलाई व्यापक रुपले समर्थन गर्न हामीले सम्पूर्ण जनतासित अपील गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार