गोपाल गिरीको निधनप्रति राजमो अध्यक्ष केसीद्वारा दुःख व्यक्त

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य गोपाल गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष केसीले शोक वक्तव्य प्रकाशित गरी ‘इमान्दार, कर्मठ र जुझारु पार्टी सदस्यको निधनबाट पार्टीलाई ठूलो क्षति पुगेको’ बताउनुभएको छ ।

नेता गिरीको आइतबार साँझ राजधानीको ह्याम्स अस्पतालमा निधन भएको हो । केही समय अघि मुटुको एन्जिओग्रापी गरिएका उहाँ निमोनिया र दमबाट पीडित हुनुहुन्थ्यो । सोही अवस्थामा कोरोना संक्रमण पनि भएको थियो ।

उपचारका क्रममा कोरोना संक्रमणमुक्त भएपनि गिरीको ज्यान बचाउन नसकिएको राजमोले जनाएको छ । नवलपरासीको गैँडाकोट निवासी उहाँको शव अन्तिम संस्कारका लागि नारायणघाट लगिँदैछ ।

गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष केसीले भन्नुभएको छ, ‘नवलपरासीपूर्व, गैंडाकोट निवासी का. गोपाल गिरीको आज ०७७ पौष २६ गते कोभिड–१९ को उपचारको क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा ६३ वर्षको उमेरमा निधन भएको छ । हामीले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।

का. गिरी लामो समयदेखि राष्ट्रिय जनमोर्चामा निरन्तर काम गर्दै आउनुभएको एक इमान्दार, कर्मठ र जुझारु सदस्य हुनुहुन्थ्यो । राष्ट्रिय जनमोर्चा चितवनको जिल्ला समितिमा रहेर राजनीतिक तथा सांगठनिक जिम्मेवारी पूरा गर्नुभएका का। गिरी राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल बुद्धिजीवी संघको केन्द्रीय सचिवालय सदस्य तथा अखिल नेपाल राष्ट्रिय उद्योग–व्यापार संघको केन्द्रीय समितिमा समेत कार्यरत हुनुहुन्थ्यो । एउटा इमान्दार, कर्मठ र जुझारु पार्टी सदस्यको निधनबाट पार्टीलाई ठूलो क्षति पुगेको छ ।

अन्तमा का. गोपाल गिरीप्रति राष्ट्रिय जनमोर्चा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार