चरणबद्ध झुटा समाचारप्रति नेकपा (मसाल) को आपत्ति

काठमाडौं । नेकपा (मसाल) ले चरणबद्ध रूपमा झुटा समाचार प्रकाशन भइरहेकोप्रति आपत्ति प्रकट गरेको छ । गत हप्ता कतिपय पत्रिका तथा अनलाइनहरूले राष्ट्रिय जनमोर्चा केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेललाई उपसभामुख वा मन्त्री बनाउन महामन्त्री मोहनविक्रम सिंह नै दौडधुप गरेको समाचार प्रकाशित भएपछि पार्टीले सो आपत्ति प्रकट गरेको हो ।

पार्टी प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०७६ पुस ५ गते जारी वक्तव्यमा सो आपत्ति प्रकट गरिएको छ । पटक पटकको स्पष्टीकरण तथा प्रेस काउन्सिल र काठमाडौँ जिल्ला अदालतमा समेत उजुरी गर्दासमेत पुनः त्यही सिलसिला अगाडि बढेकोमा पार्टीले प्रश्न गरेको छ– “त्यस प्रकारको झुटा समाचार लगातार किन प्रकाशित भइरहेका छन् ?” वक्तव्यमा भनिएको छ– “कुनै एकाध पत्रिकाले होइन, सिलसिलेवार रूपले नै त्यस प्रकारको समाचार प्रकाशित हुनुले कुनै षडयन्त्र, सःनियत र योजनाबद्ध प्रकारले नै त्यस प्रकारका समाचार प्रकाशित भइरहेको कुराको सजिलैसित अनुमान गर्न सकिन्छ ।”

त्यसखालको सिलसिलालाई पीतपत्रकारिताको सङ्ज्ञा दिँदै वक्तव्यमा अगाडि भनिएको छ– “हालै प्रकाशित केही समाचारप्रति नेकपा (मसाल) को ध्यान आकर्षित भएको छ । २०७६ पौष १ गतेको ताजाखबरले “मन्त्री माग्दै मोहनविक्रम खुमलटारमा”, पौष २ गतेको रिपोटर्स नेपाल नामक अनलाइन पत्रिकाले “दुर्गाका लागि मोहनविक्रम सिंहले मागे मन्त्री या उपसभामुख” तथा पौष ५ गतेको रिपब्लिका दैनिक नामक अनलाइन पत्रिकाले “कान्छी पत्नीलाई उपसभामुख वा मन्त्री बनाउन पतिको दौडधुप” शीर्षकले समाचार प्रकाशित भएका छन् । ती समाचार पूरै नै असत्य, निराधार, कपोल्कल्पित हुन् ।

वास्तवमा त्यस प्रकारका झुटा र निराधार समाचार सिलसिलेवार र चरणबद्ध प्रकारले नै प्रकाशित हुने गरेका छन् । पहिले कतिपय पत्रपत्रिका वा अनलाइनले उहाँले दुर्गालाई मन्त्री बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीसित अनुरोध गरेको समाचार प्रकाशित गरेका थिए । पछि युनाइटेड पोस्ट साप्ताहिकले भारतीय राजदूतसँग दुईघण्टा गोप्य वार्ता गरेर दुर्गा पौडेललाई मन्त्री बनाउन सहयोगका लागि अनुरोध गरेको समाचार प्रकाशित गरेको थियो । त्यसबारे आवश्यक कारबाहीको लागि नेकपा (मसाल) को प्रवक्ताका हैसियतले मैले प्रेस काउन्सिलमा लेखापढी गरेको थिएँ । पछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष र प्रवक्ता तथा सांसद का. दुर्गा पौडेलले पनि प्रेस काउन्सिलमा आवेदन दिनुका साथै काठमाडौँ जिल्ला अदालतमा पनि आवश्यक कारवाहीको माग गरेर उजुरी दिनुभएको थियो । कामरेड दुर्गा पौडेलले काठमाडौँ जिल्ला अदालतमा उजुरी दिएपछि त्यो पत्रिकाको कुनै ठेगाना पत्ता नलागेर अहिलेसम्म अदालतले त्यो पत्रिकाको नामको पुर्जी दाखिल गर्न सकेको छैन ।

उक्त सबै समाचार निराधार र कपोलकल्पित भएको कुरा प्रष्ट नै छ । वास्तवमा कामरेड मोहनविक्रम सिंहले का. दुर्गालाई मन्त्री वा उपसभामुख बनाउनको लागि अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष प्रचण्ड समेतसित कुनै भेटघाट, कुराकानी वा टेलिफोनसमेतमा कुनै कुरा नगरेको भए पनि त्यस प्रकारका चरित्रहत्याका समाचार लगातार प्रकाशित हुनु अत्यन्त तल्लोस्तरको पीतपत्रकारिता त हो नै । तर त्यस सन्दर्भमा त्योभन्दा गम्भीर प्रश्न यो हो ः त्यस प्रकारको झुटा समाचार लगातार किन प्रकाशित भइरहेका छन् ? कुनै एकाध पत्रिकाले होइन, सिलसिलेवार रूपले नै त्यस प्रकारका समाचार प्रकाशित हुनुले कुनै षडयन्त्र, सःनियत र योजनाबद्ध प्रकारले नै त्यस प्रकारका समाचार प्रकाशित भइरहेको कुराको सजिलैसित अनुमान गर्न सकिन्छ । त्यस सन्दर्भमा यो अनुमान गर्न पनि मुश्किल पर्दैन कि कुनै देशी वा विदेशी गिरोहले नै कामरेड मोहनविक्रम सिंह वा दुर्गा पौडेलको चरित्रहत्या गर्ने योजनासाथ नै त्यस प्रकारका समाचार प्रकाशित गर्ने गरेको छ । त्यस प्रकारको गतिविधि वास्तवमा नेपालको पत्रकार जगत्का लागि पनि कलङ्कको कुरा हो । त्यस कारण पत्रकार जगत्ले पनि त्यसबारे सत्यतथ्य के हो ? पत्ता लगाएर त्यस प्रकारका झुटा समाचार प्रकाशित गर्ने पत्रपत्रिकाका विरुद्ध ठोस कदम चाल्नुपर्ने आवश्यकता छ ।

• हालै प्रकाशित केही समाचारहरूप्रति नेकपा (मसाल)को ध्यान आकर्षित भएको छ ।… ती समाचारहरू पूरै नै असत्य, निराधार, कपोल्कल्पित हुन् ।
• कामरेड मोहनविक्रम सिंहले का. दुर्गालाई मन्त्री वा उपसभामुख बनाउनको लागि अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष प्रचण्ड समेतसित कुनै भेटघाट, कुराकानी वा टेलिफोनसमेतमा कुनै कुरा नगरेको ।
• देशी वा विदेशी गिरोहले नै कामरेड मोहनविक्रम सिंह वा दुर्गा पौडेलको चरित्र हत्या गर्ने योजनासाथ नै त्यस प्रकारका समाचारहरू प्रकाशित गर्ने गरेको छ ।
• त्यस प्रकारको गतिविधि वास्तवमा नेपालको पत्रकार जगतको लागि पनि कलङ्कको कुरा हो ।
• युनाइटेड पोष्टले जालझेल गरेर आफ्ना विरुद्धको कानुनी कारवाहीलाई अबरुद्ध गर्ने काम गरेको छ ।

यस सन्दर्भमा यो पनि गम्भीर कुरा हो कि कामरेड दुर्गा पौडेलले युनाइटेड पोस्टका विरुद्ध मानहानीको उजुरी गरेपछि पनि त्यो पत्रिकाको अहिलेसम्म ठेगाना पत्ता लगाउन अदालत असमर्थ भएको छ र त्यसरी युनाइटेड पोस्टले जालझेल गरेर आफ्ना विरुद्धको कानुनी कारवाहीलाई अवरुद्ध गर्ने काम गरेको छ । त्यसले प्रकाशित गरेको समाचार सत्य भएमा ऊ प्रमाणसहित अदालतमा आउनुपर्दथ्यो र आउनुपर्दछ अन्यथा यसरी कसैको चरित्रमा आघात पु¥याउने कार्यका लागि उसमाथि कडा कारवाही हुनुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ ।
का. दुर्गा पौडेललाई उपसभामुख बनाउने प्रकारका समाचार सञ्चार माध्यममा निकै आइरहेका छन् । त्यसबारेमा हामीले के कुरा स्पष्ट गर्न चाहन्छौँ भने हाम्रातर्फबाट त्यो कुरा कतै पनि उठाउने गरिएको छैन र कुनै पक्षद्वारा हामीकहाँ त्यस प्रकारको कुनै प्रस्ताव आएको पनि छैन । त्यसकारण हामीले त्यसबारे अहिलेसम्म कुनै विचार वा छलफल पनि गरेका छैनौँ । त्योबाहेक कामरेड मोहनविक्रम सिंहले त्यसबारे कसैसित कुरा गर्ने वा दौडधुप गर्ने ता धेरै टाढाको कुरा भयो । हाम्रो पार्टीको कहिल्यै त्यस प्रकारको कार्यशैली वा चरित्र रहेको छैन । त्यस प्रकारको कुनै विषयमा हाम्रो पार्टीमा कुनै विचार, छलफल वा निर्णय भएमा त्यस प्रकारका विषयलाई गोप्य नराखेर सार्वजनिक रूपले नै जानकारी गराउने हाम्रो परम्परा रहेको छ । त्यसकारण त्यसबारे विभिन्न पत्रपत्रिका वा अनलाइनले प्रकाशित गरेका समाचार पूरै झुटो भएको कुरामा हामीले पुनः जोड दिन चाहन्छौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार