‘चुमानसिंह, चित्रबहादुर र नरबहादुरको मृत्युले पार्टीलाई अपूरणीय क्षति’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले आफ्ना तीन सदस्यको निधनप्रति गहिरो दुःख प्रकट गरेको छ । नेपालगञ्ज निवासी चुमानसिंह केसी (का. मानसिंह), नवलपुर जिल्ला गैंडाकोट नगरपालिका अमरापुरी निवासी चित्रबहादुर पुन(का. झिल्को) र तनहुँ जिल्ला व्यास निवासी नरबहादुर विक(का. बारुद) प्रति मसालले श्रद्धाञ्जली अर्पण गरेको छ ।

बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी चुमानसिंह केसीको ८१ वर्षको उमेरमा सोमबार (जेष्ठ १७) गते नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत रहेको क्रममा मृत्यु भएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता चित्रबहादुर पुनको ह्रदयघात भई ५७ वर्षको उमेरमा यही जेठ १६ गते मृत्यु भएको छ भने युवा नेता नरबहादुर विकको पनि सोही दिन पोखरास्थित फेवासिटी हस्पीटलमा उपचारको क्रममा मृत्यु भएको छ ।

महामन्त्री मोहनविक्रम सिंहले सोमबार शोक विज्ञप्ति प्रकाशित गरी उहाँहरुको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । महामन्त्री सिंहले मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

यस्तो छ, शोक वक्तव्य
बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी का. चुमानसिंह के.सी.(का मानसिंह)को ८१ वर्षको उमेरमा २०७८ जेष्ठ १७ गते नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत रहेको क्रममा मृत्यु भएको छ । उहाँ लामो समयदेखि दमको रोगबाट विरामी हनुहुन्थ्यो । उहाँको मृत्युप्रीत हामीले गम्भीर दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । का. चुमानसिंह के.सी. करिब ४२ वर्षदेखि हाम्रो पार्टीको सदस्य रहँदै आउनुभएको थियो । उहाँ २०६२/६३ सालको जनआन्दोलनको घाइते पनि हुनुहुन्थ्यो । अनुशासित, धैर्य, लगनशील र कर्तव्यनिष्ठ भएर उहाँले पार्टीमा आफ्नो जिम्मेवारी पूरा गर्दै आउनुभएको थियो । उहाँ पछिल्लो समयमा नेपालगञ्ज उपमहानगरपालिका पार्टी समितिको सल्लाहकार हुनुहुन्थ्यो । उहाँको मृत्युबाट पार्टीले एक इमान्दार र अनुशासित पार्टी सदस्य गुमाएको छ । त्यसबाट पार्टीलाई गम्भीर क्षति भएको छ । का. के.सी. झैँ धैर्य, लगनशील, अनुशासित, कर्तव्यनिष्ठ भएर नै हरेक पार्टी सदस्यले कम्युनिस्ट पार्टीका लागि महत्वपूर्ण योगदान दिन सम्भव हुनेछ । हामीले का. के.सी.प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

नवलपुर जिल्ला गैंडाकोट नगरपालिका अमरापुरी निवासी का. चित्रबहादुर पुन(का. झिल्को)को ह्रदयघात भई ५७ वर्षको उमेरमा २०७८ जेष्ठ १६ गते मृत्यु भएको छ । उहाँको मृत्युप्रति हामीले गम्भीर दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । का. चित्रबहादुर पुन हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँले करिब ३२ वर्ष भारतस्थित प्रवासी नेपालीहरुको संगठन मूलप्रवाह अखिल भारत नेपाली एकता समाजमा रहेर काम गर्नुभएको थियो । उक्त संगठनको केन्द्रीय समितिको वैकल्पिक केन्द्रीय सदस्य समेत भएर उहाँले जिम्मेवारी निर्वाह गर्नुभएको थियो । भारतमा छँदा उहाँ मध्यदक्षिण भारत जिल्ला समितिको सदस्य भएर पार्टीको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । गत वर्ष मात्र उहाँ सरुवा भई नेपाल आउनुभएको थियो । उहाँ इमान्दार, अनुशासित र जुझारु पार्टी सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युले हाम्रो पार्टीको आन्दोलनलाई गम्भीर क्षति पुगेको छ । हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

तनहुँ जिल्ला व्यास–२ निवासी का. नरबहादुर वि.क.(का. बारुद)को २०७८ साल जेष्ठ १६ गते पोखरास्थित फेवासिटी हस्पीटलमा उपचारको क्रममा मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । का. नरबहादुर वि.क. हाम्रो पार्टीको सहायक संगठन अखिल नेपाल युवक संघको वैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उहाँले विभिन्न जनवर्गीय संगठनमा रहेर जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँ इमान्दार र जुझारु पार्टी सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट पार्टीलाई गम्भीर क्षति भएको छ । हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०७८ जेष्ठ १७ गते ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार