जनका अगाडि

गिरीप्रसाद बुढा

नेताहरु महलमा सुख भोग्न थाले
स्वार्थी धनी बनिदिने रित त्यो बसाले
सिद्धान्त भाषण सबै छ समाजवादी
ठूलै चुनौति छ अझै जनका अगाडि ।

आयो भने शरिरमा जब रोग काल
सन्चो हुने गरिबको न छ अस्पताल
नौजाल यो जगतमा सकिंदैन बुन्न
पैसावादी नभएमा उपचार हुन्न ।

बच्चा पढाउन सके हुन सक्छ तेज
शिक्षा दिन गरिबको न छ त्यो कलेज
सत्ता छ शोषण हुने नव पूँजीवादी
खोक्रो छ वर्ग हित त्यो जनको अगाडि ।

के बाँच्नु खै केवल यो मरिजानलाई
आधार खै गरिबको, गरि खानलाई
छोडेर देश जनले, कति जानु खाडी
पीडा झनै बढि रह्यो जनका अगाडि ।

यो नक्कली किसिमको छ समाजवाद
त्यै बुर्जुवा युग छ है, जुट फुट्न छाड
खोली दुबे नयन यो, बुझ क्रान्ति साँचो
यै क्रान्तिमा ज्यान दिने जनको छ खाँचो ।

छन्द : बसन्ततिलका

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार