जनताको बस्तीतिर बाढी हुल्दियो

डा. गोविन्दप्रसाद आचार्य ##
प्रकृतिका नियमको विरोध कहाँ हुन्छ र
दलालले बाढीपहिरो थेग्न सक्छ र
प्रकृतिलाइ दोष छैन बाढीपहिरो उठायो
दोषजति दलाललाई देश डुबायो

प्रकृतिमा नचाहिँदो अत्याचार गर्या छ
प्रकृतिलाइ हसुलेर भुँडी भर्या छ
हसुर्नलाइ दलालको शासनले छुट दियो
जनताको बस्तीतिर बाढी हुल्दियो

नदी हिँड्ने बाटोकिनार दलालले बेचेका
यस्तै राकस पसेर त नेपाल सकेका
हामी देख्छौँ जता पनि प्रकृतिको वितण्डा
नदी हिँड्ने बाटो छेक्ने दलालको वितण्डा

आफ्नै बाटो हिँडेको छ के बिरायो नदीले
जे बिराउनु बिराएको दलाल सत्ताले
जता पनि बाटो छेक्छ नदी कता जाने हो
दलालको नियत नै बस्ती खाने हो

बनाएको उसैदिन पुल किन भत्किन्छन्
यौटा पाइला पर्न नपाई बाटा भासिन्छन्
यो देशमा मात्र हो कि अन्त पनि यस्तै हो
थुक्क कानुन कहाँ मरिस् नालायकै हो

जनता मर्दा दुख लाग्छ भक्कानिन्छ मुटुले
पिर पर्छ गरिब बस्ती मारे दलालले
विकासका योजनालाई आउँछ बाढी बगाउँछ
मरन्च्याँसे कानुनले कसलाई के गर्छ

दलालले देश बनाउने दिमागलाई भत्काए
दिमागलाई भत्काएर बस्ती डुबाए
मानवको बिचल्लीमा दलाललाई हाँसो छ
मानवबस्ती गुमाइभन्दा कमाइ चासो छ

देश धुलो पर्नेलाई कानुन किन छुँदैन
प्रष्ट भयो भ्रष्टबाट देश बन्दैन
एक चोटले नभएमा अर्को चोट हान्ने हो
निरासाले बन्दैन देश हान्दै जाने हो

नदी पहाड लुट्न छुट दलालले पाएका
लोकतन्त्र र क्रान्तिकारी मिली खाएका
कोही भन्छन् प्रकृतिको बाढीलाइ बौलायो
यो देशको बाढीपहिरो दलाल मौलायो

जानेका छन् दलालले नदी थुन्नुहुँदैन
नदी हिँड्ने बाटोकिनार बस्नु हुँदैन
जसरी होस् जे नै गरी कमाउनुपरेको
कमाएर नेतालाई पाल्नुपरेको

नेतालाई नपालेमा कामधन्दा सकिन्छन्
कमाउन नदी थुन्छन् बस्ती डुबाउँछन्
प्रकृतिलाइ अति दोहन नेताले र दलालले
देख्ने छैनन् यो सुन्दरता आउँदा पिढीले

योजनाका हाकिम मन्त्री, इन्जिनियर, ठेक्दार
हुती भए यी दलाललाई समा सरकार
मन्त्री बन्न जो आए नि योजनामा कमिसन
त्यसैले त साना भलमा सबै बग्या छन्

यहीँबाट सोझ्याउने हो क्रान्तकारी बाटोलाई
विद्रोह र वर्गयुद्घ हाम्रो बाटोलाई
विकासका योजनालाई साना भलले बगाउने
भाषणमा सरकारले देश बनाउने

जनताले विकासलाइ भेल बाढीमा फाल्दैन
ठहर भयो भ्रष्टबाट पक्का बन्दैन
जनताका बस्तीतिर बाढी पहिरो हुल्दिने
बाढी हुल्ले दलाललाई सत्ता पाल्दिने

प्रकृति र जनतालाई रिसदोष नगर्ने
भएभरका गल्ती गर्न सत्ता सिकाउने
केटाकेटी खेलका घर पक्का पाको बलियो
सानो भलमा बग्यो देश साह्रै थलियो

नदीभित्र बङ्गुर पसे ढुङ्गा माटो कोपर्न
बाध्य पारे नदीलाई बाटो बिराउन
विकासको पैसा गयो दलालको खल्तीमा
जनताको नाश भयो सत्ता गल्तीमा

जनताको नाश भयो दलालले कमाउँछन्
यस्ता पाजी सत्ता कहाँ देश बनाउँछन्
कमाएर विदेश लागे यो वितन्डा मच्चाउने
लगाएको गरेका हुन् कसले समाउने

कमिसन नपाएमा फाल्ने पाल्ने के के हो
कमिसनले जनबस्ती बगाएकै हो
बाँढी हैन जनबस्ती दलालको वितण्डा
कैले जालान्जस्तो भयो देशका यी गन्दा

शासनको मन्त्र भयो कमाउ र कमिसन
कति खप्ने जनताले बाँडीको डुबान
जनताको हातमा देश नभएको साँचो हो
बाँढीपहिरो डुबानको नायक शासन हो

कमिसनको सञ्जालले बाढीपहिरो चलायो
विकासका योजनालाई ध्वस्त बनायो
ध्वस्त पार्न ठेक्का लिने गरिब बस्ती पुरेर
बन्दैन देश नकच्चरा नेता हेरेर

कानुन पनि कमिसनको सञ्जालले बनाउने
जनता मार्ने दलाल र नेता रमाउने
बन्दाको दिन लान्छ किन बाटो पुल बाढीले
बाढी हैन भत्काएको कमिसनले

विकास आउला भनेको त कमिसनले फाल्दियो
जनताको बस्तीतिर बाढी हुल्दियो
बारम्बार गरिब बस्ती पुरिने र बगाउने
कतिन्जेल यो पीडाको शोक सहने

हरामीका हैरानीमा कतिन्जेल पर्ने हो
यी हरामी रहेसम्म देश डुब्ने हो

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार