जबर्जस्ती मोटरबाटो नखन्नुस् भन्दा ७१ वर्षीय वृद्धमाथि कुटपिट

बागलुङ बजार । काठेखोला गाउँपालिका वडा नं. ४ तङ्ग्राममा आफूअनुकूल जबरजस्ती मोटरबाटो खन्नका लागि ७१ वर्षीय वृद्ध चन्द्रबहादुर थापामाथि निर्घात कुटपिट भएको छ ।

२०७७ चैत्र १६ गते दिउसो ७१ वर्षीय थापालाई धवलागिरी बहुमुखी क्याम्पस बागलुङका स्ववियु सभापति मनबहादुर थापा मनिष, चन्द प्राथमिक विद्यालय तङ्ग्रामका प्रधानाध्यापक गिरबहादुर पुन, नेपाल मगर सङ्घ गण्डकी प्रदेशका अध्यक्षसमेत रहेका नेपाली काङ्ग्रेस तङ्ग्रामका सचिव विष्णु आले, काठेखोला वडा नं. ४ का वडा सदस्य टीकाराम पुनलगायतले हातपात गरेका हुन् ।

धवलागिरी अञ्चल अस्पतालमा उपचार गराइरहनुभएका थापालाई घाँटी र टाउकोमा थप समस्या देखिएपछि अस्पतालले पोखरा रेफर गरेको उहाँको छोरा मनबहादुर थापाले हामीलाई बताउनुभएको छ ।

थापाले यसअघि नै आफ्नो जग्गामा मनोमानी प्रकारले मोटरबाटो नखन्न काठेखोला गाउँपालिकामा उजुरी दर्ता गराउनुभएको थियो । त्यसको सुनवाइ नै नगरी जबरजस्ती मोटरबाटो सुरु गर्दा यस्तो दुखद घटना घटेको स्थानीयले बताएका छन् ।

घाइते थापाका छोरा मनबहादुर थापाले युगदर्शनसित कुराकानी गर्दै यसअघि पनि सोही बाटोको विषयलाई लिएर उनकी कान्छी आमामाथि हातपात भएको जानकारी दिनुभयो ।

गाउँको बाटो सहमतिमा खनिनुपर्दछ भन्दा उल्टै आफूमाथि हातपात भएकोमा थापाले भन्नुभयो– ‘७१ वर्षीय वृद्ध बुबामाथि हातपात गर्नेहरूमाथि कानुनी कारबाही हुनुपर्दछ ।’

सोही घटनामा खानेपानीको पाइप जोगाउन आग्रह गर्न पुगेका बाहुनथान खानेपानी उपभोक्ता समिति तङ्ग्रामका उपाध्यक्ष ५० वर्षीय लालबहादुर पुनको दाहिने आँखामा चोट लागी घाइते हुनुभएकोले अस्पतालमा उपचार गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार