जयपुरमा १२७ औं माओ जयन्ती मनाइयो

जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर उत्तर एवं दक्षिणको संयुक्त आयोजनामा १२७ औं माओ जयन्ती मनाईएको छ । टंक बहादुर थापाको सञ्चालन, ओम थापाको अध्यक्षता, शहीदहरुको सम्झनामा १ मिनेट मौनधारण पछि रिम रानाले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य नारायण शर्माले प्रमुख अतिथिको आसनबाट मन्तव्य दिनुभएको थियो । शर्माले कामरेड माओत्सेतुंगले नौलोजनवादी क्रान्तिको सिद्धांतको प्रतिपादन गरेको बताउँदै नौलो जनवाद कम्युनिष्ट सिद्धान्तमा एउटा नयाँ अध्याय थपिएको बताउनु भयो ।

त्यस्तै मूल प्रवाह मध्य पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष बेल बहादुर रजालीले कार्यक्रमलाई सम्बोधन गर्दै अर्धसामन्ती र अर्ध औपनिवेशिक चीनमा दुई चरणमा क्रान्ति गर्नु परेको बताउँदै तत्कालीन चीन र नेपालको अवस्था मिल्दो जुल्दो भएकाले माओले प्रतिपादन गरेको नौलोजनवादी क्रान्ति पुरा नगरीकन नेपालमा समाजवादी व्यवस्थामा जान नसकिने बताउनु भयो । माओको मृत्यु पश्चात चीनको कम्युनिस्ट आन्दोलन दक्षिणपन्थी संशोधनवादीहरुको हातमा गएको बताउँदै वर्तमानमा चीनको नेतृत्व गर्नेहरु सच्चा कम्युनिष्ट नभएको बताउनु भयो । रजालीले कम्युनिष्ट आन्दोलन लामो समयसँग चल्ने भएकाले यसलाई विभिन्न खाले अवसरवादी आक्रमण र भडकावबाट जोगाउन सचेत रहनु पर्ने बताउनु भयो ।

कार्यक्रमलाई मूल प्रवाह मध्य पश्चिमोत्तर क्षेत्रीय सचिव नारायण ज्ञावली, जनजाति क्षेत्रीय विभागबाट बल बहादुर खासु, रक्तिम क्षेत्रीय विभागबाट नारायण पौडेल, मूल प्रवाह जयपुर उत्तरबाट रामप्रकाश शर्मा, राष्ट्रिय जनमोर्चा तनहुँकी सदस्य मीरा थापा, जौहरी बाजार एरिया समितिबाट गोर बहादुर थापाले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार