जसपाबाट को-को भए मन्त्री ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ । मन्त्रीहरुको सपथ साँझ ६ बजे राखिएको छ ।

जसपा स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको हो । शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्री बन्नेछन् ।

महतो उपप्रधान तथा शहरी विकास मन्त्री हुनेछन् भने भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । झाले खानेपानी र कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्दा श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय परेको छ ।

यस्तै चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकबाल मिया वन तथा वातावरण् मन्त्रालयको जिम्मेवारी दिइने जसपाका एक नेताले बताए ।

जसपाले दुई राज्यमन्त्री पनि टुंगो लगाएको छ । चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री हुनेछन् ।

क–कसको मन्त्रालय खोसियो ?

प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेताहरुबीच शुक्रबार भएको छलफलमा ८ मन्त्रालय टुंगिएको हो । जसअनुसार जसपाले शहरी विकास, उर्जा, खानेपानी, भूमि व्यवस्था, श्रम, युवा तथा खेलकुद, महिला बालबालिका र वन मन्त्रालय पाएको छ ।

जसपाले पाएको ८ मध्ये ५ मन्त्रालय हाल प्रधानमन्त्रीसँग छ । तर महिला बालबालिकामन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमिव्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फे छिन् ।

नयाँ सहमतिसँगै तीन मन्त्री मन्त्रालयविहीन भएका छन् । तर रक्षा, गृह र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्रीसँग छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार