जुमबाटै सुनुवाई, अदालतद्वारा मृत्युदण्डको फैसला

कोरोना भाइरस महामारीका कारण अहिले विश्वका धेरै देशहरूमा लकडाउन छ । एसियाली मुलुक सिंगापुरसमेत कोरोना भाइरसको दोस्रो लहरका कारण गम्भीर रूपमा प्रभावित भएको छ । जसका कारण सिंगापुरमा आगामी जुन १ सम्मका लागि लकडाउन जारी रहँदा अदालतलगायतका सरकारी निकायहरू बन्द छन् । यद्यपि, प्रविधिको उच्चतम प्रयोग गर्ने मुलुक सिंगापुरमा अत्यावश्यकीय सरकारी कामहरू भिडियो कन्फ्रेन्सिङ एप जुमलगायतका अनलाइन माध्यमबाट भइरहेका छन् ।

सिंगापुरमा अहिले अदालतका प्रत्यक्ष सुनुवाइहरू बन्द छन् । तर अति नै आवश्यक कतिपय सुनुवाइहरू अदालतहरूले भिडियो कन्फ्रेन्सिङमार्फत गर्ने गरेका छन् । यहीँ क्रममा सिंगापुरको एक अदालतले भिडियो कन्फ्रेन्सिङ सर्भिस जुममार्फत सुनुवाइ गर्दै एकजना व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

सायद भिडियो कन्फ्रेन्सिङ सुनुवाइमार्फत अदालतले कुनै अभियुक्तलाई मृत्युदण्डको फैसला सुनाएको यो विश्वकै पहिलो घटना हुनसक्दछ ।

गत शुक्रबार अदालतले जुममार्फत सुनाएको फैसलामा ३७ वर्षीय पुनिथान गेनासन नामका व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाइएको हो । ती व्यक्तिविरुद्धको लागूऔषध अपराधको मुद्दा सन् २०११ देखि अदालतमा विचाराधीन थियो ।

मानव अधिकारवादी संस्थाहरूले भने विश्व नै महामारीको पीडामा रहेको बेला मृत्युदण्डको सजाय सुनाउनु घृणित कार्य भएको आरोप लगाएका छन् ।

सिंगापुरको सर्वोच्च अदालतका प्रवक्ताका अनुसार, सुनुवाइमा संलग्न सबै व्यक्तिहरूको सुरक्षालाई मध्यनजर गर्दै ती अभियुक्तविरुद्धको मुद्दाको सुनुवाइ भिडियो कन्फ्रेन्सिङमार्फत गरिएको हो ।

स्मरणरहोस् लागूऔषध अपराधमा सिंगापुरले शून्य सहनशीलता अवलम्बन गर्दै आएको छ । सन् २०१३ मा त्यहाँ लागूऔषध अपराधमा १३ जनालाई मृत्युदण्ड दिइएको थियो । सिंगापुरमा मृत्युदण्ड पाउने ४ वटा अपराधहरूमा लागू औषध कारोबार पनि एक पर्दछ ।
बीबीसी

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार