दुर्गा शर्माको अध्यक्षतामा गठित अन्तर्राष्ट्रिय नेपाली एकता समाज फूटपरस्त गतिविधिको पराकाष्ठा हो : दुर्गा बहादुर केसी

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले अनुशासनविहीन तथा फुटपरस्त तत्त्वहरूले २०७८ असोज ११ गते भर्चुअल माध्यमबाट गरेको भनिएको कथित भेलालाई अवैध बताएको छ ।

आजै समाजका अध्यक्ष दुर्गाबहादुर केसीको हस्ताक्षरमा जारी प्रेसवक्तव्यमा सो जानकारी दिइएको हो ।अन्तर्राष्ट्रिय नेपाली एकता समाजको जानकारी, निर्णय र स्वीकृतिबिना नै उक्त भेला गरिएको भन्दै सो भेलालाई अवैध बताइएको छ ।

दुर्गाबहादुर केसी अध्यक्ष र लुमाकान्त पुन महासचिव रहेको अन्तर्राष्ट्रिय नेपाली एकता समाज नै आधिकारिक भएको जानकारी दिइएको छ ।

प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ : 

“यही मिति २०७८ असोज ११ गतेका दिन केही अनुशासनविहीन तथा फुटपरस्त तत्त्वहरूले भर्चुअल माध्यमबाट अन्तर्राष्ट्रिय नेपाली एकता समाजको नामबाट कथित छैटौँ भेला सम्पन्न गरेको बताएका छन् । उनीहरूले त्यो भेलालाई आधिकारिक बताउँदै त्यसद्वारा दुर्गा शर्मा नेतृत्वको ३५ सदस्यीय कथित केन्द्रीय समिति गठन गरेको समेत बताएका छन् ।

वास्तवमा यो क्रियाकलाप अन्तर्राष्ट्रिय नेपाली एकता समाजको इतिहासलाई धमिल्याउने अनुशासनविहीन तथा फुटपरस्त तत्त्वहरूको गतिविधि मात्रै हो ।

हामी स्पष्ट गर्न चाहन्छौँ, त्यो भेला अन्तर्राष्ट्रिय नेपाली एकता समाजको जानकारी, निर्णय र स्वीकृतिबिना भएकाले पूरै अवैधानिक छ । त्यसै गरी उनीहरूले गठन गरेको भनिएको समिति पनि अवैधानिक छ ।

अन्तर्राष्ट्रिय नेपाली एकता समाजको अध्यक्ष दुर्गाबहादुर केसी (भारत), महासचिव लुमाकान्त पुन (कतार) र कोषाध्यक्ष शक्तमान बुढाथोकी मगर (हङकङ) हुनुहुन्छ । त्यो नै अन्तर्राष्ट्रिय नेपाली एकता समाजको आधिकारिक केन्द्रीय समिति हो ।

विश्वका विभिन्न देशहरूमा रहेका एकता समाज र त्यससँग सम्बन्धित साधारण सदस्यहरूसमेतलाई दुर्गा शर्माद्वारा सञ्चालित हुने कुनै अन्तर्राष्ट्रिय नेपाली एकता समाजको नरहेकाले भ्रममा नपर्न समेत यसै प्रेसवक्तव्यद्वारा अनुरोध गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार