देशको तात्कालिक समस्या र समाधानबारे २० दलको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

प्रकाश थापा मगर

काठमाडौँ । देशको तात्कालिक समस्या र त्यसको समाधानबारे नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी) सहितका २० राजनीतिक दल तथा सङ्घसंस्थाको आयोजनामा भर्चुअल अन्तर्क्रिया सम्पन्न भएको छ । ‘देशमा उत्पन्न समस्या र निकासको समस्या’ विषयक सो कार्यक्रम २०७७ असोज १७ गते सम्पन्न भएको हो ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले सरकारले सीमा अतिक्रमणका विरुद्धको पहलकदमीलाई कागजमै सीमित राखेको आरोप लगाउनुभयो । ‘सीमा अतिक्रमण विरुद्धको पहलकदमीलाई सरकारले कागजमै सीमित गरेको छ’ प्रवक्ता पुरीले अगाडि भन्नुभयो– ‘यसबाट कतै ओली सरकारको राष्ट्रवाद देखावटी प्रकारको त होइन भन्ने आशङ्का उत्पन्न भएको छ ।’ उहाँले ओली सरकारले जेजति राष्ट्रियताको पक्षमा अडान लिएको छ, त्यसका पछाडि जनताको खबरदारी नै कारक तत्त्व रहेको दावी पनि गर्नुभयो ।

देशमा स्वास्थ्यसम्बन्धी बेथिति, भ्रष्टाचार, दण्डहीनता, बेरोजगारीजस्ता समस्या यथावतै रहेको बताउँदै उहाँले त्यसका विरुद्ध जनआन्दोलन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । ‘कम्युनिस्ट, वामपन्थी तथा परिवर्तनशील शक्तिहरूले खालि भविष्यतर्फ हेरेर बस्ने होइन’ उहाँले अगाडि भन्नुभयो– ‘हामीले वर्तमानमा पनि ध्यान दिनुपर्दछ ।’ उहाँले तात्कालिक समस्यालाई लिएर राजनीतिक पार्टी तथा सङ्घ–सङ्गठनले लगातार जनआन्दोलन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

नेकपा (क्रान्तिकारी–माओवादी) का रामसिंह श्रीसले देशमा कम्युनिस्ट नामको सरकार भएता पनि यतिखेर राष्ट्रियता, जनतन्त्र र जनजीविका—तीन वटै क्षेत्रमा जटिल समस्या विद्यमान रहेको बताउनुभयो । अहिले सत्तामा रहेको दल कम्युनिस्ट पार्टी होइन भन्ने चेतना जनताको माझमा प्रसार गर्दै आगामी दिनमा सशक्त जनआन्दोलन उठाउनुपर्ने आवश्यकतामा समेत उहाँले जोड दिनुभयो ।

नेकपा (माले) का महासचिव सी.पी. मैनालीले माओवादी जनयुद्धको असफलताबारे मूल्याङ्कन नभएको बताउँदै त्यही कारणले वर्तमान सत्तारूढ पार्टी वर्गघात, राष्ट्रघात गर्दै अघि बढिरहेको बताउनुभयो । उहाँले अहिलेको लोकतन्त्र धनतन्त्रजस्तो भएको पनि दावी गर्नुभयो ।

देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सी.पी. गजुरेलको सञ्चालनमा अघि बढेको सो अन्तर्क्रियामा राष्ट्रिय जनमोर्चाका प्रतिनिधि भैरवराज रेग्मीले अहिले सत्ता सञ्चालन गरिरहेको पार्टी कम्युनिस्ट पार्टी नभए पनि वर्तमान राज्यव्यवस्था निरङ्कुश राजतन्त्रको तुलनामा प्रगतिशील भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो कम्युनिस्टको होइन, दक्षिणपन्थी अवसरवादी सरकार हो; तर यो काङ्ग्रेस र राजतन्त्रीय सरकारजस्तो होइन ।’

नेकपाका लोकनारायण सुवेदीले सरकारले माइतीघर मण्डलामा प्रदर्शन गर्न नदिएर भ्रष्टाचार, बेथिति, कुशासन, कमिसनखोरीको विरोधलाई तह लगाउन खोजेको त होइन भन्दै आशङ्का व्यक्त गर्नुभयो भने नेकपा (संयुक्त) का केदार शर्माले देश अस्तव्यवस्त अवस्था रहेको बताउँदै कम्युनिस्ट नामको सरकारको समयमा यस्तो हुँदा समग्र कम्युनिस्ट शक्तिप्रति नै वितृष्णा बढ्न सक्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय जागरण मञ्चका गुणराज लोहनी, जनसमाजवादी पार्टीका सुभाषराज काफ्ले, राष्ट्रिय जागरण परिषद्का सूर्य रेग्मी, एमसिसी खारेज अभियानका नारायण शर्मा, पुष्पलाल अध्ययन समाजका लोककृष्ण भट्टराई, नेकपा (माक्र्सवादी) पुष्पलालका अच्युतराज ज्ञवाली, नेकपा (माक्र्सवादी) का रामहरि पौडेल, माक्र्सवादी एकता अभियानका डा. शम्भु कट्टेल, नेपाल सर्वहारा कम्युनिस्ट पार्टीकी भावना विद्रोही, राष्ट्रवादी केन्द्र नेपालका चन्द्रबहादुर थापा, नेकपा (माओवादी–केन्द्र) का कर्णजीत बुढाथोकी र नेकपा बोल्सेभिकका रविन्द्र श्रेष्ठले समेत आआफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार